• २०७८ बैशाख ८ गते बुधवार
  • Preeti To Unicode

माओवादी नेताले बनाए राजनीतिमा सक्रिय नभएकी श्रीमतिलाई राष्ट्रिय सभा उम्मेदवार


माघ ९, काठमाण्डाैँ । 

जनयुद्धमा लामो योगदान भएकाहरुलाई पछि पार्दै माओवादी केन्द्रका एकजना नेता राजनीतिमा सक्रिय नभएकी आफ्नी श्रीमतिलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउन सफल भएका छन्।

माओवादी नेता साबित्री कुमार काफ्लेले आफ्नी श्रीमति विना पोखरेललाई राष्ट्रिय सभा उम्मेदवार बनाउन सफल भएका हुन्।

२०६४ मा मोरङ–३ बाट संविधान सभामा निर्वाचित संविधान सभा सदस्य बनेका काफ्ले माओवादी केन्द्रको प्रदेश–१ संयोजक छन्। प्रदेश इञ्चार्ज गोपाल किराँती एमालेसँगको एकतापछि पार्टीबाट निस्क्रिय भएको फाइदा उठाउँदै काफ्ले आफ्नी श्रीमति पोखरेललाई राष्ट्रिय सभाको उम्मेदवार बनाउन सफल भएका हुन्।

स्रोतका अनुसार, काफ्ले जनयुद्धकालमा सक्रिय भएपनि श्रीमति पोखरेल निस्क्रिय थिइन्। माओवादी शान्ति प्रक्रियामा आएपछि समेत राजनीतिमा उनको कुनै सक्रियता थिएन। बरु राजनीतिप्रति वितृष्णा व्यक्त गर्थिन्। उनी पूर्णत घरव्यवहारमा सीमित थिइन्।

काफ्ले भने माओवादी विभाजनसँग मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीमा आवद्ध भएका थिए। रामबहादुर थापा ‘बादल’ सँगै गत बर्ष माओवादी केन्द्रमा फर्केपछि उनी प्रदेश–१ संयोजक बने। गत निर्वाचनमा पार्टीले उनलाई मोरङबाट उठाउन खोजेपनि पराजित हुने डरले चाहेनन्।

स्रोतका अनुसार, उनी आफै पुरुष कोटाबाट राष्ट्रिय सभामा जाने तयारीमा थिए। तर, एमालेसँगको बाँडफाँटमा प्रदेश–१ बाट माओवादी केन्द्रले महिलातर्फबाट एक सिटमात्र पाउने भयो। त्यसपछि बादलसँगको निकटताको फाइदा उठाउँदै श्रीमति पोखरेललाई राष्ट्रिय सभाको उम्मेदवार बनाउन उनी सफल भए। नेपालखबरबाट

प्रकाशित मिति : २०७४ माघ ९ गते मङ्गलवार