• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८.२ रेक्टर स्केलले अमेरिका हल्लायो । सुनामीको चेतावनी


माघ ९, काठमाण्डाैँ । 

इन्डोनेसियाको राजधानी जाकार्तामा मङ्गलबार ६।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । मङ्गलबार बिहानको सो भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन । यहाँका नागरिक अहिले घरबाहिर र सडकमा बसिरहेका छन् ।
जाकार्ताका सरकारी कार्यालय भवनहरु पनि मङ्गलबार खाली रहेका बताइएको छ ।

यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन । भूकम्पबाट मानवीय तथा भौतिक सम्पत्ति क्षतिको भने कुनै समाचार प्राप्त नभएको जनाइएको छ । यस भूकम्पको केन्द्रविन्दु जाभा द्वीपको बानटेन प्रान्तबाट ८१ किलोमिटर दक्षिण पश्चिममा १० किलामिटर गहिराईमा रहेको इन्डोनेसियाली भू–गर्भ विभागले जानकारी दिएको छ ।

इन्डोनेसिया विश्वको अन्य भूगोलको तुलनामा भूकम्पको प्रकोपले बारम्बार सताउने देशमा पर्छ । बिहानको सो भूकम्पपछि ठूलो सङ्ख्यामा सेना र प्रहरी परिचालन गरिएको छ । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ठूलो क्षतिको अनुमान गरेका पनि प्राप्त समाचारहरुमा जनाइएको छ ।

त्यस्तै

उत्तर अमेरिकी राज्य अलास्कामा मङ्गलबार ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्विक विभाग (यूएसजिएस) ले भूकम्पका कारण सुनामी आउनसक्ने बताउँदै अमेरिकाको पश्चिमी सामुद्रिक क्षेत्र तथा हवाइ क्षेत्रका सुनामीको सम्भावित प्रभावबाट जोगिन नागरिकलाई विशेष साबधानी अपनाउन भनेको छ ।

अलास्काको कोडियक क्षेत्रबाट ३०० किलोमिटर दक्षिणपूर्वमा सामुद्रिक सतहबाट करिब १० किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको विभागले जनाएको छ । उत्तरपश्चिमी प्यासिफिक सुनामी सचेतना केन्द्रले पनि भूकम्पपछिको प्रारम्भिक अनुसन्धानपछि भूकम्प प्रभावित क्षेत्रमा ‘खतरनाक तथा विशाल सुनामीका छाल’ आउने बताएको छ ।

उक्त क्षेत्रका नागरिकलाई जमिनका अग्ला सतहमा गई शरण लिन निर्देशनसमेत गरिएको छ । यद्यपि भूकम्पका कारण भएका ठूला क्षतिको विवरण भने समाचार तयार पार्दासम्म प्राप्त भएका छैनन् । एजेन्सी

प्रकाशित मिति : २०७४ माघ ९ गते मङ्गलवार