• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

देउवाले वृद्ध भत्ता बढाउदा अाेलीकाे कडा अापत्ति


माघ ११, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट कामचलाउ बनिसकेको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आर्थिक संकट पैदा गर्ने निर्णय गरिरहेको आरोप लगाएका छन्।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै ओलीले देउवा सरकार सत्ता हस्तान्तरण गर्नुपर्ने बेलामा देशलाई अप्ठ्यारो पार्ने निर्णय गर्नमा व्यस्त रहेको बताएका हुन्। उनले भने, ‘संविधानको गलत व्याख्या गरेर, जालझेलबाट अनेक खालका अनुपयुक्त सेटिङहरूबाट गलत मनसायका साथ अलोकतान्त्रिक तरिकाले मात्रै यति समयसम्म कायम रहेको कामचलाउ सरकारले के गर्न हुने, के गर्न नहुने भन्ने विश्वव्यापी मान्यता हुन्छ।’ विश्वव्यापी लोकतान्त्रिक मान्यतालाई सरकारले पालना नगरेको उल्टै जनताले नयाँ जनादेश दिएको अवस्थामा पनि अनेक जालझेल गरेर सत्ता हस्तान्तरण गर्न ढिलाइ गरिरहेको ओलीको आरोप थियो।

‘जनताले अश्वीकार गरेको र सत्ता हस्तान्तरण गर्नुपर्ने अवस्थामा पनि अनेक जालझेल, षड्यन्त्र र तिकडम गर्न’, ओलीले भने, ‘ती सफल नभए देशलाई नै कंगाल बनाउने, आर्थिक संकटमा देशलाई फसाउने, देशमा भएका आर्थिक अवस्थाका अनुकूल कुराहरूलाई समाप्त पार्ने र प्रतिकूलता बढाइदिने, सञ्चित रकम ध्वस्त पारिदिने काम गर्नुहुँदैन।’ उनले वर्तमान सरकार देशहितविपरीतका काम गर्नमा तल्लीन रहेको आरोप पनि लगाएका छन्।

उनले यतिबेला आएर सरकारले बजेट पेस गरेजसरी रकम निकासा गरिरहेको आरोप लगाएका छन्। ‘देशमा काफी सञ्चित रकम जम्मा भएको छ, पैसा राख्ने ठाउँ भएन अलिकति वितरण गरेर हल्का बनाउअौँ भन्ने हो कि के प्रयोजनले यतिबेला सरकारलाई उमेर घटाउनुपर्‍यो।’ सरकारले वृद्धभत्ता दिने उमेर सीमा घटाएको प्रति ओलीको कटाक्ष थियो।

ओलीले वर्तमान सरकारमा कुनै पनि उत्तरदायित्व देखा नपरेको र जनताप्रति संवेदनशीलता नदेखिएको बताए। उनले भने, ‘यो कुनै उत्तरदायित्वबोधका साथ अथवा लोककल्याणकारी धारणा वा जनताप्रति संवेदनशीलता केही पनि होइन, यो नितान्त देशलाई बोझ बोकाउने र अर्थतन्त्र अप्ठ्यारोमा भएका बेला झन् अप्ठ्यारोमा पार्ने कुरा हो।’ थाहा खबरबाट

प्रकाशित मिति : २०७४ माघ ११ गते बिहिवार