• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

गणेशमान सिंहले यसरी सबैसँग सरी मागे !


सरी ! जिन्दगी त यस्तै रहेछ

लेखक ः गणेशमान सिंह
माघ १४, सल्यान ।

केही मेरा आफन्तीहरुको गुनासो छ, मैले कसैको मतलब गरिन । वास्ता गरिन । सहयोग गरिन । उनीहरुको समस्यामा, आपतविपतमा, अप्ठ्यारो र संकटमा कुनै पहल, चासो, चिन्ता र अग्रसरता देखाइन भन्ने ठूलो आरोप छ । उनीहरुलाई लागेको छ, यो त हाम्रो मान्छे नै रहेन्छ, यस्तालाई के आफन्ती भन्नु । मैले केही नगरेको निहुँमा म उनको नजरमा उनीहरुको शत्रु, दुश्मन ठहरिएको छु । उनीहरुले सोच्छन्, म उनको सफलतामा, खुशीमा, सम्पन्नतामा डाह गर्ने मान्छे हुँ । कतैकतै उनीहरुले कुरा गर्छन रे….त्यो त खत्तम मान्छे हो, त्यसको भरै नपर्नु । त्यसले काम कम, गफ बढी गर्छ । आफैमा खुब ठूलो भाछ हेरौँला हामी पनि । हाम्रा पनि दिन आउलान ।

मेरा अर्काथरि आफन्त छन्, जो म सँगको भेटमा मलाई असाध्यै माया गरे जस्तो गर्छन । वास्ता गरे जस्तो गर्छन । भन्ने पनि गर्छन, हामीलाई तिम्रो चिन्ता लाग्छ । यस्तो गर, उस्तो गर भनि खुब अर्ति पनि दिन्छन् । मेरो प्रशंसा गर्न पनि चुक्दैनन् । भन्छन् यो उमेरमा तिम्रो ठिकै भाछ, नाम कमाएका छौ । अझै प्रगति गर, हरहमेशा हाम्रो साथ रहन्छ । अनि त्यसपछि उनले आफ्ना लाख, करोडका कारोबारको बारेमा एकघण्टा प्रवचन दिन्छन् । ति सम्पन्नशाली मेरा आफन्तीले अहिले सम्म मेरो कुनै पनि आग्रहमा, समस्यामा सहयोग गरेनन् तर मलाई कुनै गुनासो छैन् त्यो तिनको हातको कुरा हो, त्यसमा मैले कारण किन खोज्नु ? तर म छक्क त्यतिबेला पर्छु जतिबेला हरेक पटक उनले केही परे भन्नु म छदै छु नि भन्न छुटाउदैनन् । कयौँ पटक उनले अरुहरु सँग मेरो नाम लिदै, त्यो त मेरो फलानो हो, हलानो हो, उसले जे भने पनि मान्छ, उसलाई धेरै सहयोग गरेको छु भनि भनेको सुनेको छु । भोगेको छु ।

आफूले दुई नम्बरी धन्दा गरेका छन्, तर राम्रो गर्नु पर्छ, इमानदार बन्नुपर्छ, नैतिक हुनुपर्छ भनि मलाई खुब अर्ति दिन्छन् ।

उनै आफन्तीले अरुहरुको माझ मेरो बारेमा भन्छन् रे– बिचरा ! गोजीमा एकसुक्को हुन्न, खुब गर्ने भाछ राजनीति । त्यसले केही ख्याँस्दैन, त्यसले केही प्रगति गरे कान काटी फाल्छु । मलाई अनौठो लाग्छ, तिनको र मेरो त बाटो फरक छ, टाढा टाढा छ, न हामी बिचमा प्रतिस्पर्धा छ, न कुनै वाधा अवरोध न त कुनै कुरामा विवाद भाछ । धनपैसाको लेनदेन त झन हुने कुरै भएन तर उनले किन मलाई दुश्मन् ठान्छन् होला ?

राजनीतिमा छु, मेरा केही अग्रज र सहयोद्धा नेतागणहरुको गुनासो छ म सँग– म उहाँहरुलाई फोन पनि गर्दिन । कुराकानी पनि गर्दिन । भेटघाट गर्न पनि जान्न । भनेको समयमा केही गर्दे भनेको उहाँहरुका सानातिना काम पनि गर्दिन । उहाँहरुलाई लाग्छ, यसको मतलब म उहाँहरुलाई बिर्सिसकेको छु । गन्दिन पनि, टेर्दिन पनि, मानदिन्न पनि । उहाँको नजिकको पनि होइन् । मैले त केही काम पनि गर्दिन । मेरो त केही भर पनि छैन, म त राजनीति गर्न आको पनि होइन, यस्तो तालबाट पनि कही राजनीति हुन्छ ? उहाँहरुले कतैकतै भनेको सुन्छु, खुब ठूलो भाछ, जान्ने भाछ । हिजोको फिस्टेले के गर्दो रहेछ, हेरौला हामी पनि । राजनीतिमा के गर्न सकिन्छ र के हो राजनीति भन्ने कुरा त्यसलाई के था ?

मलाई लाग्दैन् कि, उहाँहरुको गुनासो जस्तो त्यस्तो कुनै भ्रम म मा छ । बरु लाग्छ, म सँग कमीकमजोरी, अपुग त पक्कै छन् । धेरै छन् ।

मेरा फेसबुके मित्रहरुको पनि म सँग आफ्नै प्रकारको गुनासो छ । उहाँहरुले मेरा हरेक अपडेटलाई लाइक, कमेन्ट, सेयर गर्नुहुन्छ तर म गर्दिन । उहाँहरुका स्टाटस्मा लाइक नगर्नु, कमेन्ट नगर्नु र उहाँहरु सँग म्यासेन्जरमा गफ नगर्नु मेरो सबैभन्दा ठूलो दोष छ । एकजना मित्रले त मलाई निकै गुनासो गरि लेख्नु भयो, तपाईले मेरा स्टाटस्मा लाइक, कमेन्ट किन गर्नु हुन्न ? प्लीज म तपाईका कमेन्ट हेर्न पाउँ । अर्का एकजना मित्रले भन्नुभयो, कमसेकम म्यासेन्जरमा हामीले सोधेका, गरेका कुराहरुको प्रतिक्रिया त दिनुहोस, कति ठूलो बन्नु भा ? हामी कहिल्यै चाहिन्नम् ? भर्खरै मात्र मलाई मन पर्ने, यस जिल्लाका पूर्व प्रजिअ ले त म्यासेन्जरमा रिसाएरै गुनासो गर्नु भो, म त तपाईको भलो चाहने शुभचिन्तक हुँ, तर तपाईले म सँग म्यासेजमा, फोनमा कुरा गर्ने जाँगर पनि चलाउनु भएन है ?

आज सम्मको मेरो आफ्नै अनुभवले भन्छ, कतिपटक हामीलाई जन्माएका बुवाआमाले भनेको समेत मानिदैन, मान्न सकिदैन । उहाँहरु हिडेको बाटोमा हिड्न मन लाग्दैन । एकबारको जुनीमा जन्मदातालाई नै खुशी पार्न सकिदैन । यो स्वर्णीम जिन्दगी दिने मान्छेको लागि केही गर्न सकिदैन् । सुख सन्तोष दिन सकिदैन । उहाँहरु भोकाएको बेला, उहाँहरुलाई सहारा चाहिएको बेला, उहाँहरु बिरामी परेर थला परेको बेला अहं केही गर्न सकिदैन । एउटै काखमा खेलीहुर्केका दाईभाई, दिदिबहिनीको लागि पनि केही गर्न सकिदैन । हमेशा उनीहरुले राख्ने आशामा पनि ध्यान दिन सकिदैन् । जीवनभर साथ दिने जीवनसाथीको समेत चित्त बुझाउन सकिदैन । एउटै लक्ष्य, उद्देश्य राखेर सँगसँगै हिड्ने सहयोद्धा समेतको विश्वास जित्न सकिदैन । आफूलाई आदर्श ठानेका, अग्रज ठानेका र सकारात्मक कुराको अपेक्षा राख्ने शुभचिन्तकको समेत चाहनालाई कदर गर्न सकिदैन । आफूलाई निस्वार्थ माया गर्नेहरुलाई पनि चिन्न सकिदैन । हरपल हरक्षण भलो चाहने अदृश्य हितैषीहरुको कामनालाई समेत ग्रहण गर्न सकिदैन ।

अनि भन्न मन लाग्छ, सरी ! जिन्दगी त यस्तै रहेछ ।

सानो छँदा, आकाशमा हेलिकप्टर उडेको खुबै हेरिन्थ्यो । कहिले सेता, कहिले राता त कहिले काला, खैरा रंगका हेलिकप्टर उड्थे त्यो ताका । देश युद्धमा जो थियो । गाउँघरमा ठूलामान्छेले भन्थे, यो रातो छ, लाश बोक्ने हेलिकप्टर हो । यो निलो छ, सेनाको हेलिकप्टर हो । यो पुलिसका घाइते बोक्ने हेलिकप्टर हो । यो सामान बोक्ने हेलिकप्टर हो । मैले मनमनै अठोट गर्थेँ, म पनि अब यस्तै हेलिकप्टर बनाउँछु । अनि त के चाहियो ? हतारमै सुकेको केतुकेको बुटो खोज्न जान्थेँ । जो हेलिकप्टरको आकार जस्तै हुृन्थ्यो, ठेला तिर ठूलो, टुप्पो सुक्दै आएको । अनि झट्पट् त्यो ठूटोलाई कलाईकुलाई ग¥यो, पुच्छर बनायो जसमा सुपलाको फिरफिरे जोड्यो, अनि माथि घुम्ने पंखा बनायो । टेक्नको लागि चारवटा खुट्टा बनाइसकेपछि मलाई त्यो आकाशमा उड्ने हेलिकप्टर जस्तै लाग्थ्यो । तर त्यो हेलिकप्टर आकाशको जसरी उड्थेन, बरु त्यसलाई त हातैले समातेर मुखैले भट्ट्ट्ट् ……गर्दै दौडिनु पथ्र्यो ।

आजभोलीका जस्ता हातहातमा फोन नहुने जमानाको कुरो, म मुँवाको पछि पछि लागेर रुकुमको पेवा भन्ने ठाउँमा फोन हेर्न गएँ । विदेश गएका दाईहरुले महिना बिराएर फोन गर्नुहुन्थ्यो । कहिले भाउजुहरुको पालो हुन्थ्यो त कहिले बुवामुवाँको । मलाई अनौठो लाग्थ्यो, कहाँ हो कहाँ साउदी अरबबाट दाईले कुरा गर्छन, उनको स्वर जस्ताको तस्तै सुनिन्छ । बाफरे….कस्तो होला त्यो भाँडो । हेलो भन्नेबित्तिकै, उताबाट पनि हेलो भनेको सुनिन्छ रे….अझ कति कतिले त विदेश भएको छोरालाई फोनबाट पठाउने भनि खिर, रोटी हालेर लगेको पनि सुनिन्थ्यो । हाम्रो गाउँकी एकजना बुढी आमाले त नमस्कार गर्दा खेरी फोनै बसालेरै नमस्कार गरिछन् । फोनका बारेमा यस्तै अनेक किस्सा सुनिन्थ्यो । मैले मनमनै अठोट गरेँ, म त फोन हेर्न मात्र कहाँ जाने हो र ! म त हेरेर त्यस्तै फोन, घरमै बनाउँछु । मुवाँ लगायत अरुहरु कुरा गर्न भित्र गए, मैले भने घरबाहिर राखिएका ठूला ठूला डिब्बा र मोटामोटा पाइपजस्ता तारहरु हेर्न थालेँ । मलाई के लाग्थ्यो भने, त्यहाँ पाइप गाडिएको होला, अनि त्यसैबाट कुरा गर्न सकिन्छ होला । जताततै खोजेँ पाइप कतै देखिन । निराश हुँदै थिएँ, अकस्मात भुईमा गाडिएको मोटो पाइप देखेँ । त्यो पाईप फोनको टावरमा जोडिएको थियो । र गाडिएको दिशा भने, भित्र फोन भएको कोठा तिर सोझिएको थियो । मैले पक्का गरेँ, फोन बनाउन त मज्जाले सकिन्छ ।

घरमा आईसकेपछि सबै साथीहरुलाई फोनको बारेमा भनियो । हाम्रो गाउँमा धेरै पहिला बनेका धाराहरुमा पानी आउदैन्थ्यो । बाटो बाटोमा पुरिएका पाइपहरु जोकोहीले पनि उतार्दै ल्याउथे । हामीसबैले सल्लाह ग¥यौँ, दिउँसो सबै सँगै ग्वाला जाने । एकदुई जनाले सबैका भेडाबाख्रा हेर्ने, अरुहरु सबैले जमिनमुनिको पाइप उत्राने । करीब एकहप्ता जत्तिमा हामीले लामै पाइप उम्काई सकेका थियौँ । हामीले अब गाउँमै फोन बनाउँदै थियौँ । जसबाट सबैलाई फाइदा हुने थियो । हामी एकआपसमा कुरा गथ्र्यौँ, केही गरि फोन बनीहाले त, गाउँभरिका बाट फोन गरेको पैसाले त मोज गरिन्छ । पैसापनि कमाइन्छ । हामीले गाउँको माथि शिरानमा रहेको साथी देखि, पाँच सात घर तल सम्म भएको साथीको घर सम्म पाइप जोड्यौँ । अनि घरघरका साथीहरुबाट कुराकानी गरेर फोन उद्घाटन गर्ने योजना बनायौँ । बिडम्बना पाइपमा एकअर्कामा बोलेको सुनेनौँ । नजिकको दुरीमा मात्र रैछ बोलेको सुनिने पाइपमा, लामो भए त केही सुनिदो रहेन्छ । हाम्रो फोनको परिक्षण सुप्पर फलप् भयो ।

राप्ती राजमार्ग निमार्ण हुँदै गर्दाको कुरा हो, हामीले सडक खन्ने काम पायौँ । स्कूल जाडो बिदा थियो । छ, सातमा पढ्ने हामीहरु बिदाको समयमा काम गरी पैसा कमाउन चाहन्थ्यौँ । त्यो बेला बाटो खन्ने काम नेपाली सेनाले गरेको थियो । बिच बिचमा स साना काम भने स्थानीय ठेकेदारले बनाउने जिम्मा लिन्थे । हामीहरु जस्ता स साना हरुका लागि ढुङ्गा ओसार्नेै देखि माटो फाल्ने बेल्चेको डोरी तान्ने र कतैकतै खन्ने काम मिल्थ्यो । हाम्रो दिनको ढ्यारी पैँतालीस रुपैँया थियो ।
कामगर्दाको शुरुवाती दिन देखि मैलेँ मनमा रङ्गी विरङ्गी सपना सजाउन थालेको थिएँ । महिना भरिको काम गरेको दिनका ४५ रुपैँयाका दरले पन्ध्र सय जत्ति हुनेवाला थियो । चार पाँच सय खाजा, अर्नि खर्च भएपनि एक हजार त करेक्ट बच्नेवाला थियो । म त्यै एकहजार पैसाबाट धनी हुने सपना देख्थेँ । त्यो बेलाका मेरा विभिन्न पेशा व्यवसायका योजना थिए ।

जुन यसप्रकार छन् – एक– म सँग हुने एक हजारले, चारवटा पोथी माउ किन्नेछु । जसले छ महिना÷वर्ष दिन भित्रै कम्तिमा पनि २०÷२५ वटा भाले मात्रै हुनेछन् । सबैको बिक्रीबाट मैले कम्तिमा पनि दश हजार कमाउने छु ।

दुई– जब म सँग दश हजार हुनेछ, त्यसले म कम्तिमा पनि चारवटा दगरा बाख्रा किन्नेछु । जसबाट छ महिना वर्ष दिन भित्रै चारपाँच वटा खशी बाख्रा हुनेछन् । यी सबैको बिक्रीबाट कम्तीमा पनि म सँग पचास हजार हुनेछ ।

तीन – जब म सँग पचास हजार हुनेछ, तब गाउँमा जताततै मेरै बयान चल्नेछ । फलाना सँग त यति पैसा छन् रे ! म सानो तिनो साहू बन्नेछु । मैले कल्पनामै देख्न थालेँ, प्रत्येक दिन विहान विहानै गाउँलेहरु हाम्रो घरको ढोकामा आईपुगेका छन् र समस्याको पोको पुन्तुरो फुकाउँदै भनीरहेका छन् मलाई पैैसा व्याजे हालिदिनु प¥यो । म समयमै चल्तीको हिसाबले व्याज बुझाउने छु । अनि म दिन्न दिन्न भन्दै स्वाङ पारिरहेको छु । मैले पैसा व्याज लगाउने भन्दा लगानी गर्ने नै सोचेको छु । जसमा पचास हजारले कम्तिमा दुईवटा थारा भैसीहरु ल्याउने र बाली लगाउने । एकजना घाँस काट्ने मान्छे पनि राख्ने । अनि ति भैसीहरुले एक, दुई वर्षमा लाखौँ आम्दानी दिनेछन् । अनि त म लखपति हुनेछु ।

त्यो बेला म मेरै सपना, योजनाहरुबारे सोची बस्थेँ । लाग्थ्यो, साँच्चै मेरा सपना पुरा हुन्छन् त ? म धनी हुन्छु त ? मलाई लाग्थ्यो, मेरा सपना र योजनाहरु कसो भो र पुरा नहोलान । किन कि, ती कुनैपनि काम अव्यावहारिक र असंभव थिएनन् । चल्ला पाल्नु, वाख्रा पाल्नु, भैसी पाल्न खोज्नु गाउँमा के नहुने कुरा थियो र ! के अनौठो काम थियो र !

मेरा यी योजना अरु कसैलाई सुनाइन् । सँगै काम गर्ने साथीहरुलाई समेत । किन कि, म एक्लै धनी हुन चाहन्थेँ ।

स्कुल बिदाका दिनहरु सकिए पछि, हामीले बाटो खन्ने दिन पनि सकिए । हामीले ठेकेदारबाट हिसाब माग्यौँ । ऊ बेइमान निस्कियो । उसले हामीलाई पैसाको साटो चामल दियो । मेरो पैसा कमाएर धनी हुने सपना ठाउँको ठाउँमै द इन्ड भएको थियो । मनमा भुइचालो आएको थियो । एकछिन त चक्कर जस्तो लागेको थियो । भन्न्न्न् रिंगटा उठेको जस्तो भएको थियो । तर हामीले केही गर्न सकेनौँ, उसको स्वार्थको सामू । हामी सबैसँग आक्रोशको ज्वाला थियो मनमा । अरु साथीहरुका पनि आफ्नै सपनाहरु थिए । कसैले नयाँ कपडा सिलाउने योजना बुनेका थिए त कसैले पर्स, घडी, बेल्ट किन्ने रहरमा थिए । कोही भने पैसा साँच्नेमा थिए । नजिकै मेला आउँदै थिए । जसमा पैसा भएपछि मन पराएकि केटीलाई के के हो के के किनीदिने भन्ने प्रेमीहरु पनि थिए । मेरो सपनाको त कुरै नगरम । मेरा सपनाहरु घरको चुलोमा भातको रुपमा पाक्दै थिए र परिवारका सबै सदस्यका पेटमा सदाको लागि जाँदै थिए ।

हामी सबैको काँध काँधमा छ सात नम्बरका चामलका कुम्ला बाहेक मनभरि त्यो धोको दिने ठेकेदारलाई ठूलो भएपछि खुट्टा भाँचिदिने, हात भाँचीदिने, दाँत झारिदिने, कानको जाली फुटाईदिने देखि गाला पड्काउने सम्मका सपना जपना थिए ।

समय समयका सपनाले यहाँ सम्म हिडाए । यो ठाउँ सम्म ल्याई पु¥याए । त्यो बेलाका अन्जान रहरहरुले अन्जानमै खुशी बनाए, अन्जानमै दुखी बनाए । कहिले आफैलाई ठूलो हो कि जस्तो लाग्ने, कहिले सानो जस्तो । कहिले आफूले देखेका, कल्पेका, बुनेका सपना, जपना र योजनाले बेपत्तै खुशी गराई छाड्ने । कहिले भने त्यसै त्यसै बेखुशी गराई जाने ।

कहिले हेलिकप्टर बनाउने सपना त कहिले फोन बनाएर गाउँले लाई सेवा दिने कल्पना । कहिले धनी बन्ने लक्ष्य त कहिले आफूलाई पढाउने शिक्षक जस्तै बन्ने चाहना । भविष्यमा के बन्नछस् भन्ने अनायसै सरले सोधेको प्रश्नमा डाक्टर भनी दिएको हरेक पटकको उत्तरले, आजभोली म नाजवाफ हुन्छु । कहाँ गए ति सपना ? कहाँ हराई गयो त्यो उत्साह ?

त्यो बाल्यकाल यी र यस्तै सपनाहरुले भरिपूर्ण छ । मलाई कहिल्यै पनि महशुस भएन कि, सपनाहरु देख्न हुँदैन, देख्न सकिदैन । कहिल्यै पनि आभाष भएन कि, यी र यस्ता सपनाहरु देख्ने, चाहनाहरु राख्ने मेरो हैसियत छैन, औकात छैन । होइन भनेर । यत्रै यस्तै सपनाको रेलगाडी गुडिरह्यो जिन्दगीको लिक लिक भएर । सपना ठूलो कि, जिन्दगी ठूलो ? कहिलेकाँही अर्थ न व्यर्थका प्रश्न सोधी टोपल्छु आफैलाई र अच्चम्म लाग्छ आजसम्म पनि यी र यस्तै सपनाले हिडाइरहेका छन् मलाई । डो¥याई रहेका छन् मलाई । दिनको दिन कुदाइरहेछन् ।

हामी मान्छेको जिन्दगीले सपना देख्नु पर्ने र उतै छोडी आउनु पर्ने, फेरी उस्तै उस्तै सपना देखिरहनु पनि पर्ने । सपनाहरुको मृत्यु भईरहेछ । फेरी सपनाको जन्म पनि भईरहेछ । रहरवश पनि, बाध्यतावश पनि ।
सरी ! जिन्दगी त यस्तै रहेछ ।

प्रकाशित मिति : २०७४ माघ १४ गते आइतवार