• २०७८ साउन १८ गते सोमवार
  • Preeti To Unicode

पार्टी विलय भएमात्रै एकता हुन्छः एमाले सचिव भट्टराई


माघ १६, काठमाण्डाैँ ।

नेकपा एमालेका सचिव एवं पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमाले–माओवादी केन्द्रबीच एकले अर्काको अस्तित्व स्वीकार गर्दै दुई पार्टीको विलयसँगै पार्टी एकता हुने बताएका छन् ।
प्रेस चौतारी सुनसरीले मंगलबार धरानमा गरेको पत्रकार भेटघाटमा भट्टराईले सरकार निर्माणसँगै पार्टी एकता हुने बताए । उनले पार्टीको नीति, सिद्धान्त र संगठनको रुपरेखालाई एकरुपता दिएपछि निर्णायक एकता हुने जानकारी दिए । उनले पार्टी नेतृत्वको विषयमा भ्रम छरेर एकतालाई टुटाउन खोजेको भन्दै त्यस्तो दुस्साहस कसैले नगर्न चेतावनी दिए । ‘नेतृत्वको विषय उछालेर वाम गठबन्धनलाई अलग बनाउने दुष्प्रयास कसैले नगरे हुन्छ’ उनले भने, ‘पार्टी एकता हुनासाथ नेतृत्वको सवालको पनि हल हुन्छ ।’

संसदको चुनाव भएको भोलिपल्टै नयाँ सरकार गठन हुने विश्वव्यापी राजनीतिक प्रचलन रहेको भन्दै नेता भट्टराईले कांग्रेस नेतृत्वको सरकारले संसदको लोकतान्त्रिक विधि र मान्यताको खिल्ली उडाउँदै गलत अभ्यासको नजिर बसाएको बताए ।

प्रकाशित मिति : २०७४ माघ १६ गते मङ्गलवार