• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

सुकिदह गाउँपालिका प्रमुखसँग दुई वटा नागरिकता भएको भन्दै उजुरी


माघ १७, रोल्पा ।

रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष बिरबहादुर खत्रीले २ वटा नागरिकता लिएको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

स्थानीय हरिबहादुर पुनले गाउँपालिका अध्यक्ष खत्रीले २ वटा फरक फरक नाममा नागरिकता लिएको दाबी गर्दै छानविनका लागि प्रशासनमा उजुरी दर्ता गराएका हुन् । अध्यक्ष खत्री विरुद्ध उजुरी परेकोले अब छानविन सुरु हुने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए ।

आफू आएदेखि जिल्लामा यस्तो प्रकारको उजुरी पहिलो पटक परेको समेत प्रजिअ भट्टराईले बताए । यसबारे छानविन थप फैसला अदालतले गर्ने जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

अध्यक्ष खत्री विरुद्ध परेको उजुरीमा पठु खत्रीका पाँच भाई छोराहरु भिउदे, धनीराम, बिर बहादुर, मोतिराम र डण्डपानी मध्ये बिर बहादुर (साईला) रहेको र उनको २०४० सालमा मृत्यु भएपछि भिउदे हालका बिर बहादुरले तत्कालिन पाखापानी गाउँ पञ्चायतमा नागरिकता बनाउन खटिएका टोलीलाई झुक्याएर मृत्यु भएका भाईको नामबाट नागरिकता लिएको उल्लेख गरिएको छ ।

अध्यक्ष खत्रीले भिउदे नामबाट २०४२ मंसिर १० गते ३८९२ नम्बरको नागरिकता र मृत्यु भएका भाई बिर बहादुरको नामबाट २०४६ बैशाख १५ गते १८६ नम्बरको नागरिकता लिएको पुनद्धारा पेश गरिएको उजुरीमा उल्लेख गरिएको छ ।

अध्यक्ष खत्री नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २०७४ माघ १७ गते बुधवार