माघ १७, काठमाण्डौ ।
नेकपा एमाले र माओवादीबिच हुने भनिएको पार्टी एकता प्रक्रिया अनिश्चित बनेको छ । पार्टी एकतापछि एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा दुई दलबिच सहमति जुट्न नसक्दा एकता अनिश्चित बनेको हो ।
पछिल्लो समय पदीय भागबण्डामा केन्द्रित बनेको दुई दलका नेताहरुबिचको छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन । एकीकृत पार्टीको अध्यक्ष पदले नै एमाले र माओवादीबिच हुने भनिएको एकता टुटाउने संकेत समेत देखिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘वान टू वान’ वार्तामा केही निर्णय नहुनु, एकता संयोजन समितिले एकताबारे ठोस निर्णय गर्न नसक्नु र दुबै दलका दास्रो तहका नेताले एकता भड्काउने तथा एकले अर्कालाई पेल्ने आसयको अभिव्यक्ति दिनु एमाले–माओवादी एकता नहुने संकेत हो ।
यतिबेला माओवादी केन्द्रका नेताहरुले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा स्विकार गरेपछि प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनुपर्ने बताइरहेका छन् । तर एमाले नेताहरुले सो मागको खण्डन हुनेगरि माओवादी अध्यक्ष प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन नसकिने बताएका छन् । दुई दलका नेताहरु एकले अर्काको अभिव्यक्तिमाथि ‘काउन्टर’ गर्ने हिसाबले सवाल–जावाफको प्रतिस्पर्धामा उत्रिएको दखिन्छ । जस्तो केही समयअघि एमाले नेता शेरधन राई र माओवादी नेता देवेन्द्र पौडेलको अभिव्यक्तिलाई यसको उदाहरण मान्न सकिन्छ । प्रचण्डलाई अध्यक्ष नबनाए माओवादी एकतामा नजाने र प्रचण्डलाई अध्यक्ष बनाउनु परे एकता नगर्ने भन्ने एमाले नेताका अभिव्क्तिले पनि एकताको संकेत देखिँदैन ।
दुवै पार्टीका शीर्ष र उपल्लो तहका नेताबाट बाहिर जे–जस्ता कुरा आए पनि एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष समेत आफैँ हुनुपर्ने अडानमा छन् । ओली सरकारको नेतृत्व छाड्दा अरु लोकप्रिय बन्ने र पार्टीको नेतृत्व छाड्दा आफु पार्टीभित्रै अल्पमतमा पर्ने त्रासमा रहेको एमालेका एक स्थायी कमिटी सदस्यले बताए । उनका अनुसार ओली बरु एमालेकै दास्रो तहका नेतालाई पार्टी नेतृत्व दिने तर प्रचण्डलाई पार्टी अध्यक्ष बन्न नदिने तयारीमा छन् । आलीको सोहीे तयारी बमोजिम नै एमाले नेताहरुले प्रचण्डलाई अध्यक्ष मान्न नसकिने अभिव्यक्ति दिएको उनले बताए । उनले खबरडबलीलाई बताए अनुसार प्रचण्डलाई पार्टी अध्यक्ष बनाउँदा एमालेभित्र ओली गुट कमजोर बन्ने ओलीको विश्लेषण छ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसलाई देशभरबाट हराउने उद्देश्यका साथ चुनावी तालमेल र पार्टी एकतासम्मको घोषणा गरेका दुबै दलका नेताहरुले वाम गठबन्धनको बहुमत आएमा ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्ने अभिव्यक्ति दिएका थिए । चुनावलगत्तै दुई पार्टीबीच सहजै एकता हुने तथा ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्ने सबैले अनुमान लगाएका थिए । तर, चुनावी परिणाम आए लगत्तै एमालेका नेताहरुले प्रचण्डलाई पार्टी अध्यक्ष मान्न नसकिने बताए । प्रचण्डलाई अध्यक्ष मान्न एमाले तयार नभएकाले नै एकता अनिश्चित बनेको माओवादी नेताहरु बताउँछन् ।
माओवादी केन्द्रभित्र एमालेले प्रधानमन्त्री र पार्टी अधयक्ष दुबैपद नछोड्ने भए पार्टी एकता गर्न नहुने बहस चलेको छ । दुबै पद छोडेर पार्टी एकता गर्दा एमालेमा विलय भए जसतो हुने भन्दै एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बने मात्र पार्टी एकतामा जाने तयारी भएको माओवादी केन्द्रका एक केन्द्रीय कार्यालय सदस्यले बताए उनका अनुसार पार्टीका अधिकांश नेताहरुले दुबै पद छोडेर एमालेसँग एकतामा जान नहुने दबाब प्रचण्डलाई दिइरहेका छन् ।
दुबै दलको समान हैसिय हुनेगरी पार्टी एकता गर्ने भन्दै वाम गठबन्धन बनेपनि चुनावी परिणामको घोषणासँगै एमालेका नेताहरुको महत्त्वाकांक्षा चरमचुलीमा पुगेको उनले बताए । ‘सरकार तथा पार्टी दुवैको नेतृत्व ओलीले नै सम्हाल्नुपर्ने भन्दै एमाले नेताहरु जसरी शृंखलाबद्ध ढंगले सार्वजनिक अभिव्यक्ति दिएका छन्, ती एमाले–माओवादी केन्द्रबीच एकता हुन नदिने तत्त्वहरु हुन,’ उनले खबरडबलीसँग भने, ‘उनीहरुले एकता चाहेका छैनन्, माओवादी एमालेमा विलय होस भन्ने चाहेका छन्, हामी विलय हैन पार्टी एकताको पक्षमा छौँ ।’
दुबै दलका नेताहरको पछिल्लो अभिव्यक्ति हेर्दा एमाले र माओवादीबिच पार्टी एकता हुने सम्भावना कम देखिन्छ । दुबै दल आ–आफ्नो अडानमा टसमस देखिँदैनन् । दुबै दलमा यही अडान कायम रहे पार्टी एकता नहुने देखिन्छ । ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने उखानलाई चरितार्थ गर्न लागेका दलले आ–आफ्नो अडान छाडेर दुबैलाई सम्मान मिल्नेगरी सहमति नगरे पार्टी एकता टुट्ने निश्चित छ ।
सुमित काफ्ले/ खबरडबलीबाट