माघ १८, दाङ ।
घोराही उपमहानगरपालिका १५, दाङका २७ बर्षीय विशाल बस्नेत श्रम राज्यमन्त्री डिल्ली चौधरीमार्फत डेनमाार्क पठाउने भन्दै ६ जनासँग ४१ लाख रुपैयाँ असुलेर फरार भएका छन् ।
आजको कान्तिपुर दैनिकमा यो खबर छ- सरकारी कोटामार्फत डेनमार्क पठाउने स्वीकृति पाएको कागज देखाई बस्नेतले पीडितसँग ७ लाख ५० हजार रुपैयाँसम्म उठाएर फरार भएका हुन्। ठगिएका युवक सबै बस्नेतकै छरछिमेक हुन्।
‘श्रम राज्यमन्त्री चौधरी हाम्रै जिल्लाका माननीय हुन्। बस्नेतले मन्त्रीस्तरीय निर्णयबाट २८ जनालाई डेनमार्क पठाउन लागेको भन्दै भरपर्दो सरकारी कागज देखाए।
मन्त्री चौधरीसँग आफ्नो निकै नजिकको सम्बन्ध रहेको र मन्त्रीमार्फत डेनमार्क पठाइने जिम्मा लिए,’ पीडित डोजराज कालाथोकीले भने,‘ठगिएपछि बुझ्दा यो विषय मन्त्रीलाई नै थाहा छैन रहेछ। उनीसँग मन्त्रीको कुनै सम्बन्ध नै रहेनछ।’
बस्नेतले घोराहीका २० वर्षीय सुमन वली, तुलसीपुरका २३ वर्षीय घनश्याम विष्ट, ३२ वर्षीय डोजराज कालाथोकी, २० वर्षीय अर्जुन बुढाथोकी, २३ वर्षीय अर्जुन बिक र २८ वर्षीय सूर्य विसीलाई ठगी गरेका छन् ।
तस्विरमाः ४१ लाख रुपैयाँ असुलेर फरार भएका विशाल बस्नेत
उनीहरुलाई गत पुस २६ गते डेनमार्क जाने उडान छ भन्दै काठमाडौं बोलाएका थिए। ‘हामी घरबाट बिदा भएर काठमाडौं आयौं। बस्नेतले नै गोंगबु बसपार्कनजिक रहेको बाग्लुङ परिचय गेस्ट हाउसमा लगेर राखे,’ पीडित वलीले भने,‘फिंगरमा समस्या आयो। माघ ५ गते पठाउँछु भन्यो।
त्यो दिन नपठाएर ७ गतेको टिकट देखाए। ७ गते विमानस्थल जाने भनेर कान्तिपुर मल अगाडि आएर बिहानदेखि बस्नेतलाई पर्खेर बसिरह्यौं। बिहान ११: ३० बजेसम्म आउँदैछु भन्दै थियो। त्यसपछि उ बेपत्ता भयो।’
बस्नेतले उनीहरुको लागि डेनमार्कको भिसा समेत राहदानीमा लगाइदिएका थिए। ‘भिसा र टिकट दुवै नक्कली रहेछ,’ उनले भने। वैदेशिक रोजगार विभागले व्यक्तिगत रुपमा ठगी गरेको भन्दै पक्राउ पुर्जी र बस्नेतको परिवारको नाममा रहेको जग्गा बेचबिखनमा रोक्काको पत्र जारी गरेको छ।
पीडितले पक्राउ पुर्जी प्रहरीलाई बुझाइसकेका छन् । ‘डेनमार्कको होटलमा महिनामा एक लाख रुपैयाँ तलब पाउने आशामा घरबाट बिदा भएका थियौं’अर्जुन बिकले भने,‘अहिले हातमा पक्राउ पुर्जी बोकेर घर फर्किनुपरेको छ।’
ठगिनेहरु सबै सामान्य आर्थिक अवस्थाका हुन्। ‘सय कडा ५ रुपैयाँ ब्याज दिने हिसाबमा ऋण लिइयो। ऋण कसरी तिर्ने भन्ने तनाबमा छु।
घर फर्किने आँट पनि आएको छैन’, बस्नेतकै घर नजिकका डोजराजले भने,‘हामीजस्ता गरिब परिवारलाई किन यसरी ठग्नु पर्यो।’