• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

अन्तिम अभ्यास खेलमा नेपाल पराजित, युएई ६४ रनले विजयी


माघ १९, काठमाडौं ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा पराजित भएको छ । युएईको ए टिमसँग नेपाल ६४ रनले पराजित भएको हो ।

२१६ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३८.५ ओभरमा सबै विकेटको क्षतिमा १५१ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले ४१ रन बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । त्यस्तै, नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २६, ज्ञानेन्द्र मल्लले २४, अनिलकुमार शाह र रोहितकुमार पौडेलले समान २१–२१ तथा आरिफ शेखले १९ रन बनाए ।

नेपालका ओपनर दिलिप नाथ शुन्य रनमै आउट हुदा शरद भेषवाकर पनि १ रनमा आउट भएका थिए । यता युएईको ए टिमका लागि कार्थिक मयापानले ४ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई ए टिमले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २१५ रन बनाएको थियो । युएईको ए टिमका लागि चिराग सुरीले ८५ रन बनाए । त्यस्तै, अलि मिर्जाले ४२ र यतिरुर रहमानले ३३ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ र ललित भण्डारीले २ विकेट लिएका थिए ।

यसअघि भएको पहिलो र दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको थियो । दोस्रो अभ्यास खेलमा नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले १५४ रन बनाएका थिए ।

नेपाली क्रिकेट टिम आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको छ । युएईमा डिभिजन टु को तयारी गरिरहेको नेपाली टिम त्यतैबाट नामिविया जाने छ ।

डिभिजन टु फेब्रुअरी ८ देखि १५ सम्म नामिबियामा हुँदैछ । प्रतियोगितामा नेपालसहित नामिबिया, युएई, केन्या, क्यानाडा र ओमन रहेका छन् ।

प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रवार