• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

प्रदेश नम्बर ६ का विमानस्थलहरु घाटामा गएको तथ्यांक


माघ २१

  • सुर्खेत । प्रदेश नम्बर ६ का विमानस्थलहरू घाटामा सञ्चालन भइरहेका छन् । यो प्रदेशमा हाल सञ्चालित ७ मध्ये ६ ओटा विमानस्थल घाटामा रहेको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थलको मात्रै कमाइ १ करोडभन्दा माथि छ ।
    हुम्लाको सिमीकोट विमानस्थलको कमाइ वार्षिक आम्दानी १ करोड ५४ हजार रुपैयाँ रहेको छ । त्यसबाहेक अन्य कुनै पनि विमानस्थलको आम्दानी १ करोड छुन सकेको छैन, जसले गर्दा ती विमानस्थल सञ्चालनमा समेत समस्या देखिएको छ ।
    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यहाँका ६ ओटा विमानस्थलको कमाइ कम हुँदा सञ्चालन खर्च चलाउनसमेत पुग्दैन । व्यस्त मानिने जुम्ला विमानस्थलको कमाइ ८ लाख ७६ हजार मात्रै रहेको छ । सुर्खेत विमानस्थलको ४८ लाख ९५ हजार, रुकुम सल्लेको १ लाख ४३ हजार, रुकुम चौरजहारीको १ लाख ११ लाख, डोल्पाको ४ लाख ८० हजार र रारा विमानस्थलले १७ लाख ३६ हजार कमाइ गरेका छन् ।
    नयाँ विमानस्थल थपिँदै
    हाल सञ्चालनमा रहेका विमानस्थलको कमाइ न्यून रहे पनि थप विमानस्थल निर्माण हुने क्रम भने जारी नै छ । कालीकोटको कोटबाडामा विमानस्थल सञ्चालनको तयारी छ । उक्त विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भई गतवर्ष नै परीक्षण उडानसमेत भइसकेको छ ।
    हाल कालिकोट विमानस्थलमा धमाधम काम भइरहेको छ । झण्डै ८० प्रतिशत निर्माण सकिएको कालिकोट विमानस्थल आयोजनाका अधिकारीहरू बताउँछन् । तत्कालीन जिल्ला पञ्चायतले २०४२ मा यसको निर्माण गर्ने भनेर बजेट छुट्टाए पनि निर्माण भने प्राधिकरणले जिम्मा लिएपछि मात्रै शुरू भएको थियो । कालिकोट विमानस्थल निर्माण आयोजनाका प्रमुख रत्नबहादुर श्रेष्ठका अनुसार ६ सय ९० मिटर लामो यो विमानस्थलमा ४ सय मिटरभन्दा बढीको काम सम्पन्न भइसकेको छ । लामो समय निर्माणको जिम्मा लिने ठेकेदारसमेत नपाएको यो आयोजना अहिले बल्ल निर्माण सम्पन्न गर्ने तयारीमा छ ।

प्रकाशित मिति : २०७४ माघ २१ गते आइतवार