एकता भाँड्ने प्रयास भयाे: प्रचण्ड


माघ २१, काठमाण्डाैँ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताएका छन्। अध्यक्ष प्रचण्डले भने,’एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन्। त्यस्ता कुनै पनि प्रयन्तलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन हामी प्रतिबद्ध छौं।’

अखिल(क्रान्तिकारी)को केन्द्रीय पदाधिकारीसँग आज आफ्नै निवास खुमलटारमा छलफल गर्दै उनले जनअपेक्षाविपरीत जाने छुट कोही कसैलाई पनि नभएकाले पार्टी एकता जुनसुकै हालतमा नै हुने विश्वास व्यक्त गरे।

एमाले नेतृत्वसँग सार्थक बहस र छलफल भइरहेको जानकारी दिँदै अध्यक्ष दाहालले सरकार गठन हुनुभन्दा पहिले नै पार्टी एकतालाई तार्किक निष्कर्षमा पुर्‍याउन पहल भइरहेको बताए। ‘सकेसम्म सरकार गठन हुनुभन्दा पहिले नै एकता गर्नुपर्छ भन्नेमा केपी ओली र म दुवै लागिपरेका छौं’उनले भने।

भेटमा सहभागी अखिल (क्रान्तिकारी)का उपाध्यक्ष वीरेन्द्र बस्नेतका अनुसार एकता घोषणा समारोहलाई भव्य बनाउने विषयमा समेत दुई पार्टीकाबीचमा छलफल भइरहेको प्रचण्ड भनाइ थियो।रासस

प्रकाशित मिति : २०७४ माघ २१ गते आइतवार