लेकाली अनलाइन
माघ २३, सल्यान ।
सल्यानबाट प्रदेश सभामा निर्वाचित भएका नेकपा एमालेका वैकल्पीक केन्द्रिय सदस्य गुलावजंग शाह प्रदेश नम्बर ६ मा सभामुखकाे आकांक्षी देखिएका छन् ।
वामपन्थी गठबन्धनले मुख्यमन्त्री, सभामुख र उपसभामुखको पनि भागबन्डा गरिसकेपछि सल्यान प्रदेश सभा (क) बाट निर्वाचित भएका शाह सभामुखकाे आकांक्षीमा देखिएका हुन् । तर प्रदेश मुख्यमन्त्री र सभामुख बन्नका लागि एमाले र माओवादी केन्द्रभित्र भने आन्तरिक दौडधुप तीव्र भएको छ । केन्द्रीय नेतृत्व भने सर्वसम्मत गराउने प्रयासमा जुटेको छ ।
एमाले-माअाेवादीकाे भागबन्डा अनुसार एमालेले प्रदेश १ र ३ मा मुख्यमन्त्री र सभामुख दुवै पद पाउने छ भने प्रदेश ४ र ५ मा मुख्यमन्त्री र उपसभामुख लिनेछ । त्यसैगरी माओवादीले प्रदेश ६ र ७ मा मुख्यमन्त्री र उपसभामुख पाउने छ भने प्रदेश ४ र ५ मा सभामुख लिनेछ । एमालेले प्रदेश ४ र ५ मा उपसभामुख र माओवादीले प्रदेश १ र ३ मा उपसभामुख लिने सहमति छ । प्रदेश नम्बर ६ मा भने एमालेले सभामुख पाउने छ सहमती भएकाे छ ।
यहि सहमतीकाे अाधारमा एमालेका शाह लगाएत अन्य २ सांसदहरु पनि प्रदेश नम्बर ६ मा सभामुखकाे आकांक्षी देखिएका छन् । गुलावजंग शाह सँगै चन्द्रबहादुर शाही र राजबहादुर शाही सभामुखकाे आकांक्षीमा रहेका छन् ।
प्रदेश ६ मा मुख्यमन्त्रीमा भने आकांक्षीको व्यवस्थापन गर्न गाह्रो भएको छ । मुख्यमन्त्रीमा माओवादीका महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी छन् । केन्द्रीय मन्त्री भइरहेकै बेला शाही प्रदेशमा चुनाव लड्न गएका थिए । यस प्रदेशमा मुख्यमन्त्री र उपसभामुख माअाेवादी केन्द्रलार्इ परेकाे छ ।
फागुन पहिलो साताभित्र प्रादेशिक सरकार र प्रदेशसभा सभामुख चयन गरिसक्नुपर्ने छ । त्यसैले आकांक्षीहरू पार्टीभित्रका प्रादेशिक कमिटी, संसदीय दल मात्र नभई केन्द्रीय नेताहरूलाई समेत आफ्नो पक्षमा पार्न भेटघाट गरिरहेका छन् । भेट्न आउने नेताहरूलाई दुवै दलका केन्द्रीय नेतृत्वले पहिलो अभ्यास भएकाले सकेसम्म चुनावभन्दा सर्वसम्मति गर्न सुझाव दिइरहेका छन् ।
प्रादेशिक संरचनाको पहिलो अभ्यास भएकाले कसलाई अघि सार्दा प्रदेश सरकार र प्रदेशसभा सहज रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने आकलन केन्द्रीय नेताहरूले गरिरहेका छन् । तर प्रादेशिकस्तरको प्रतिस्पर्धा तीव्र भएकाले केन्द्रबाटै टुंग्याउन हम्मेहम्मे पर्ने अवस्था छ ।