माघ २४, सल्यान ।
ठेकेदारले काम गर्न नसकेर फर्किदा गाउँमा मोटरबाटो नआउने भयो भनेर चिन्तीत बनेको सल्यान सिमलकुनाका बासिन्दा हिजोआज दंग परेका छन् ।
कडा चट्टान र रकम अभावले कपुरकोट–दमारखोला हुँदै सिमलकुना जोड्ने मोटरबाटोको ट्रयाक समेत खुल्न नसक्दा उनीहरुले गाउँबाटै गाडी चढ्ने आशा लगभग मारिसकेका थिए । किनकि विचमा पर्ने ठूलो चट्टान कट्रि गर्न नसकेर एक वर्ष पहिले ठेकेदार कम्पनी भागीसकेको थियो भने अन्यत्रबाट गाउँमा मोटरबाटो लग्ने विकल्प नै थिएन । तर १५ मिटर उचाइको कडा चट्टान काटेर मोटरबाटोको ‘ट्रयाक’ गाउँपालिकाले खोलिदिएपछि सल्यानको सिमलकुनावासिलाइ गाडी चढ्न पाइन्छ भन्ने विश्वास बढेर आएको हो ।
भौगोलिक अवस्थाका कारण अत्यन्तै विकट मानिने साविकको सारपानी गर्पा गाविस वडा नम्बर ५ सिमलकुनाका बासिन्दाहरु कपुरकोट गाउँपालिकाले बजेट छुट्याएर स्काभेटरको प्रयोग मार्फत कडा चट्टान फोडेर कपुरकोट–दमारखोला हुँदै सिमलक्ुना जोड्ने मोटरबाटो निर्माण गरिदिएपछि खुसि भएका हुन् ।
स्थानीय केशवराज घर्तीले गाउँमा मोटरबाटो कुनैपनि हालतमा नआउने भयो भनेर चिन्तीत भएका सबै गाउँले यतिखेर खुसि भएको बताए । अझै गाउँसम्म पुग्न लार्इ तीन किलोमिटर बाटो खन्न बाँकी नै रहेपनि गाउँसम्मै मोटरबाटो आउँछ भन्नेमा स्थानीयहरु विश्वस्त रहेको कपुरकोट २ का वडा सदस्य तेजु थापाले जानकारि दिए ।
यसअघि सडक डिभिजन कार्यालयबाट टेन्डर आह्वान भएर एक ठेकेदार कम्पनीलाइ कपुरकोट–सिमलकुना जोड्ने मोटरबाटो निर्माणको जिम्मा दिइएको भए पनि चट्टान फोडन नसकेर ठेकेदार भागेको स्थानीयहरु बताउँछन् । ठेकेदार कम्पनीले गर्न नसकेको काम कपुरकोट गाउँपालिकाले २९ लाख रुपैयाँको लागतमा उपभोक्ता समिती मार्फत गरेको हो ।
४० मिटर लम्बाइ र १५ मिटर उचाइको कडा चट्टान कटिङ भएपछि सिमलकुनामा मोटरबाटो पुर्याउन सजिलो भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जानकारि दिए । फेरि थप बजेट विनियोजन गरेर अर्काे वर्ष गाउँसम्म नै बाटो पुर्याउने लक्ष्य रहेको सेनले बताए ।
यसैविच गाउँपालिकाको इन्जीनियरहरुको टोलिले उक्त सडकको अन्तीम मुल्यांकन सहित नापजाँच पनि सम्पन्न गरेको छ । कपुरकोट गाउँपालिकाका सव इन्जीनियर प्रेम सिंह विकले एक किलोमिटर भन्दा बढि कडा चट्टान भएको क्षेत्रमा चार मिटर चौडाइ भएको मोटरबाटो निर्माण भएको भन्दै यसलाइ ठूलो सफलता भन्न मिल्ने बताएका छन् ।
सिमलकुनाका वासिन्दालाइ हिजो आज तीन घण्टाको पैदल यात्रा गरेर कपुरकोट बजार सम्म आउनुपर्ने बाध्यता रहेको छ । बाटो नहुँदा उनीहरुलाइ विरामीलाइ स्वास्थ्य संस्थासम्म पुर्याउन तथा गाउँमा उत्पादिन वस्तु बजार पुर्याउन र बजारबाट सामान गाउँमा ल्याउन समस्या रहेको छ । मोटरबाटो निर्माण भएपछि सिमलकुना गाउँका ५३ घरध्रि भन्दा बढि लाभान्वीत हुनेछन् ।