माघ २५, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार रहेको बताएका छन् ।
वाम एकतालाई कुनै पनि हालतमा भड्किन दिन नहुने भन्दै प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्नुपर्ने स्थिति आए पनि त्यसमा तयार हुनुपर्ने नेता खनालको भनाइ छ ।
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद आफैंमा राख्न चाहेको गुनासो माओवादी पंक्तिबाट आइरहेका बेला एमालेका पूर्वअध्यक्षसमेत रहेका झलनाथले प्रचण्डलाई अध्यक्ष मान्न सकिने अभिव्यक्ति दिएका हुन् ।
दुई पार्टीवीचको एकता त भड्किन लागेको चर्चा छ नि भन्ने अनलाइनखबरको प्रश्नमा एमाले नेता खनालले भने- ‘एउटा बाटो खोज्नुपर्छ, हामीले सामुहिकरुमा बसेर सल्लाह गर्नुपर्छ, हामी पार्टी एकतालाई भड्किन दिँदैनौं ।’
एमाले नेता खनालले प्रचण्डलाई अध्यक्ष बनाएर भए पनि पार्टी एकतालाई भड्किन नदिइने बताए ।
हामीले एमाले नेता खनाललाई सोध्यौं- ‘प्रचण्डलाई अध्यक्ष मान्न केपी ओली तयार नदेखिएको र प्रचण्ड पनि सहअध्यक्षमा बस्न तयार नरहेको अवस्था आयो भने कसरी पार्टी एकता होला ? त्यो स्थितिमा प्रचण्डलाई अध्यक्ष दिन एमाले तयार हुन्छ ?’
अनलाइनखबरको प्रश्नको जवाफ एमाले नेता खनालले एक शब्दमा दिए- अन्त्यमा ।
विगतमा नेकपा माले र मार्क्सवादीवीच पार्टी एकता गर्दा सानो पार्टीका नेता मनमोहन अधिकारीलाई अध्यक्ष दिएर मदन भण्डारी महासचिवमा बसेको नजीर अनुसार पनि अघि बढ्न सकिनेमा खनाल विश्वस्त देखिए ।
‘जति फन्का घुमे पनि पुग्ने धुम्बाराही नै हो’
यसैवीच बुधबार राति खनालले एउटा निजी टेलीभिजनलाई लामो अन्तरवार्ता दिएका छन् । सो अन्तरवार्तामा उनले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफूलाई कुनै आपत्ति नरहेको बताएका छन् ।
विगतमा आफूले माओवादीसँग एकता र सहकार्य गर्नुपर्छ भन्दा आफूलाई ‘आधा माओवादी’ भन्नेहरु नै अहिले आफ्नो लाइनमा आइपुगेको खनालले बताएका छन्
अन्तरवार्तामा एमाले नेता खनालले भनेका छन्- ‘केपी ओली नै प्रधानमन्त्री हुनुपर्छ, तर यो मेरो व्यक्तिगत विचार हो, पार्टीमा निर्णय भएको छैन । र, व्यक्तिगतरुपमा यसो भन्न मिल्थ्यो कि मिल्दैनथ्यो, प्रचण्ड अध्यक्ष बन्दा मलाई त आपत्ति छैन । जब पार्टी एककृत भएर जान्छ भने यसमा आपत्ति मान्नुपर्ने स्थिति छैन ।’
विगतमा आफूले माओवादीसँग एकता र सहकार्य गर्नुपर्छ भन्दा आफूलाई ‘आधा माओवादी’ भन्नेहरु नै अहिले आफ्नो लाइनमा आइपुगेको खनालले बताएका छन् ।
‘त्यतिबेला आधा माओवादी भन्नेहरु अहिले त्यही ठाउँमा आइपुगेका छन्’ खनालले भने, ‘०६२/०६३ पछि माओवादी पनि सच्चिदै आएको छ त्यसैले एमाले माओवादीवीच एकता हुनैपर्छ ।
मलाई नै जस दिनुपर्छ भन्ने ठान्दिनँ तर दुई पार्टीवीच एकता हुनैपर्छ, ढीलो नै होस् तर जति फन्का घुमे पनि हामीले पुग्ने ठाउँ धुम्बाराही नै हो ।’ अनलाइनखबर