• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

सल्यानका युवाहरु बिदेशबाट फर्किएर सुन्तला खेतीमा रमाउँदै


माघ २६, सल्यान । 

किसानहरूले वर्षेनी सुन्तल खेतीलार्इ बढाउँदै लगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । उचित मूल्यमा सजिलैसंग सुन्तला विक्री हुने भएपछि यसतर्फ किसानहरू हौसिएका हुन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा गतवर्षको भन्दा ८ हेक्टर क्षेत्रफल बढिमा सुन्तला उत्पादन भएको छ ।

विगतका वर्षहरूमा १ हजार ५ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदै आइरहेकोमा यस वर्ष १ हजार २० हेक्टर क्षेत्रफलमा खेती भएको वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले जानकारी दिए । उनले भने, ‘वर्षेनी सुन्तलाको उत्पादन क्षेत्र बढिरहेको छ ।’

सुन्तला विक्रीबाट सल्यानमा करोडौँ रूपैयाँ भित्रीरहेको पनि कार्यालयले जनाएको छ ।

‘कम लगानी र मिहेनतमा किसानले सुन्तला खेतीबाट मनग्ये आम्दानी लिन सक्छन्,’ बरिष्ठ कृषि विकास अधिकृत शर्माले अघि भने, ‘यो वर्ष मात्रै सुन्तला विक्रिबाट सल्यानमा ३३ करोड ४ लाख ८० हजार रूपैयाँ भित्रीएको छ ।’ अघिल्ला वर्षको तुलनामा यसवर्ष सल्यानमा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ ।

‘यहाँ उत्पादन भएको सुन्तलाले राम्रो बजार पाएको छ । उत्पादन भएको सुन्तला दाङ, सुर्खेत, जाजरकोट, नेपालगन्ज, धनगडी, महेन्द्रनगर सम्म विक्री हुनेगरेको छ’, शर्माले भने ।

सुन्तला सुदृढिकरण अभियान, बगैचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौषमको अनुकुलता आदीका कारण यसवर्ष गतवर्षको भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि आएको हो ।

कार्यालयको तथ्यांक अनुुसार यस वर्ष ७ हजार ३ सय ४४ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।

गएको वर्ष सल्यानमा २९ करोड ८१ लाख ३२ हजार बराबरको सुन्तला उत्पादन भएको थियो । उत्पादित सुन्तला मध्ये करिव ७५ प्रतिशत सुन्तला जिल्ला बाहिर निकासी भएको उनले बताए ।

पछिल्लो समय युवाहरू विदेशबाट फर्किएर समेत सुन्तला खेतीमा रमाउने गरेका छन् ।

सुन्तला डोकोमा बोकेर बजार खोज्दै हिँड्नु पर्ने अवस्था हिजोआज नभएकोले पनि किसानहरूको आकर्षण यसमा देखिएको हो ।

सुन्तला किन्नका लागी व्यापारिहरू किसानको बगैचासम्म नै आउने गरेका छन् । आँगनमै हातहातै आम्दानी हात पर्ने भएकाले किसान व्यावसायिक खेतीमा लागेका हुन् ।

सुन्तला नेपालको मध्यपहाडी भेगमा उत्पादन हुने फल हो । समुद्री सतहको एक हजारदेखि १४ सय मिटरसम्ममा सुन्तला फल्छ ।

बिरुवा रोपेको पाँच वर्षदेखि फल लाग्न थाल्छ । एउटै बोटले दुई सय किलोसम्म उत्पादन दिने गरेको किसानहरू बताउँछन् ।

बोटमा गोठे मलको प्रयोग गरिने भएकाले पूर्ण अर्गानिक उत्पादन हुने गरेको छ । बोटमुनि बेसार, अदुवा र पिँडालु लगाउन सकिने भएकाले किसानहरूले थप फाइदा पनि लिइरहेका छन् ।

सुन्तलाबाट बढि फाइदा हुने भएपछि किसानहरूले पछिल्ला वर्षहरूमा मकै, गहुँजस्ता परम्परागत खेती गर्न छाडेका छन् ।

जिल्लाको वागचौर नगरपालिकाका विभिन्न गाउँ नै सुन्तलाको जंगलजस्तो देखिने गरेका छन् ।

यद्यपी, वैशाख र कात्तिकमा आएको असिना पानीले सुन्तलामा केही क्षति पु¥याएका कारण बिमा गर्न सबै किसानहरूलाई जिल्ला कृषि विकास कार्यालयले आग्रह गरेको छ ।

कहिले रोग त केहिले असिनाले सुन्तला खेती नष्ट हुँदा किसानलाई मार पर्ने भएकाले बीमा गर्नुपर्ने कार्यालयको सुझाव छ ।

प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रवार