• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

उपप्रधानमन्त्री थापा सरकारबाट विदाई भए, देउवाको राजीनामा माओवादीले राेक्याे


फागुन २, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गरिरहेको समयमा उनलाई उछिन्दै उपप्रधान तथा ऊर्जामन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा मन्त्रालयबाट बिदाई भएका छन् ।

उर्जा मन्त्रालयबाट बिदाई हुने क्रममा मन्त्रालयका सचिब अनुप उपाध्यायले थापालाई ढाका टोपी र खादा लगाई मायाको चिनो स्वरुप पशुपतिनाथको मन्दिर हस्तान्तरण गरेको थापाका सहयोगी राजाराम बर्तौलाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

थापाको बिदाईका क्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु को सहभागिता थियो भने बिदाईका क्रममा थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

तर प्रधानमन्त्री देउवाले आज आफु नेतृत्वको मन्त्रीपरिषदको अन्तिम बैठक राखेर प्रधानमन्त्रीबाट राजीनामा दिने तयारी गरेका बेला  माओवादी केन्द्रले समानुपाति सूचीका सांसदको नाम आयोगमा नपठाएकाले आयोग निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष बुझाउने नबुझाउने अन्योलमा छ । माओवादी केन्द्रको समानुपातिक सूचीमा त्रुटि रहेको भन्दै निर्वाचन आयोगले सच्याउन पत्राचार गरेको थियो । तर,सूची बुझाउने आज अन्तिम दिन हो ।

मन्त्रीपरिषदको बैठक लगत्तै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पेश गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । निर्वाचन आयोगले आजै राष्ट्रपति भण्डारीसमक्ष प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनको परिणाम पेश गर्ने तयारी गरेको थियो ।

माओवादी केन्द्रले आफ्नो दलको सूची तत्काल बुझाए आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझाउने छ । त्यसको लगत्तै प्रधानमन्त्री देउवा राजिनामा दिने योजनामा छन् । तर, आयोगले अन्तिम परिणाम बुझाउन नभ्याए देउवाको राजिनामा पनि रोकिने कांग्रेसका एक नेताले बताए ।

आयोगले अन्तिम परिणाम बुझाउनासाथ राष्ट्रपतिलाई नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने बाटो खुल्ने भएकाले देउवाले आजै मन्त्रीपरिषद बैठक राखेर राजीनामा दिने तयारी गरेका बुझिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २ गते बुधवार