फागुन २, काठमाडौं ।
पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिए लगत्तै नेकपा एमाले सोही घरमा पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादीसँग पार्टी एकताको निर्णय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।
अाज निर्माण व्यवसायी शारदा अधिकारीको ललितपुरको मानभवनस्थित पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि स्थायी कमिटीमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो । बैठकमा सहभागी हुन नेताहरु मानभवनतिर लागेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी अधिकारीकै घरमा एमालेको बैठक बस्न लागेको हो । संयोजन समितिको बैठक पनि सोही ठाउँमा बस्ने भएकाले एमालेको बैठकका लागि नेताहरुलाई सोही ठाउँमा बोलाइएको स्रोतले जनाएको छ ।
ओलीले आफू र प्रचण्डबीच भएको सहमति पार्टीमा अनुमोदन गराउन लागेको अनुमान गरिएको छ ।
एमालेको बैठकअघि ओली र प्रचण्डबीच सोही घरमा बैठक भइरहेको छ ।