फागुन २, काठमाडौं ।
नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को लिग चरणको अन्तिम खेलमा नेपालले विजयका लागि क्यानडाबाट १९५ रनको चुनौती पाएको छ ।
खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित् ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको हो ।
क्यानडाका लागि ओपनिङ ब्याट्सम्यान श्रीमन्था विजारत्नेले अविजित रहँदै १०३ रन बनाए । अरु ब्याट्सम्यान भने खासै चल्न सकेनन् ।
नेपालका बसन्त रेग्मीले ३, सन्दीप लामिछाने २ तथा करण केसी र शरद भेषावकरले एक/एक विकेट लिए ।
६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा रहने टिमले अर्को महिना जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्न पाउने भएकाले यो खेलमा नेपाललाई जितको विकल्प छैन ।
नेपाल अन्तिम खेल खेल्नुअघि तेस्रो स्थानमा छ । शीर्ष स्थानको क्यानडा, दोस्रो स्थानको नामिबियासँगै नेपालको समान ६/६ अंक भएपनि रनरेटमा नेपाल पछि पर्दा तेस्रो स्थानमा धकेलिएको हो ।
नेपालले यसअघि नामिबिया, युएई र केन्यालाई हराएको थियो भने ओमानसँग हार व्यहोरेको थियो ।