फागुन ३, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज देशवासीका नाममा सम्बोधन गरी राजीनामा दिने भएका छन्। देउवाले हिजो नै आज विहान ९ बजे को लागी मन्त्रिपरिषदको अन्तिम बैठक बोलाएका छन् ।
बैठकपछि देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने र राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने तयारी छ । संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।
निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गरेपछि हिजो नै राजीनामा दिने बताइए पनि प्रधानमन्त्री देउवाले विशेष सम्बोधनका साथ राजीनामा बुझाउने भएपछि आजका लागि सारिएको हो।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बिहीबार(आज) राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो ।
राष्ट्रपतिबाट ओलीलाई बिहीबार नै प्रधानमन्त्री नियुक्त गर्ने एमाले उच्च स्रोतको दाबी छ। एमाले र माओवदी केन्द्रको एकता संयोजन समितिले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि बिहीबार राष्ट्रपतिसमक्ष दाबी गर्ने र एकताका बाँकी काम टुंग्याउन बिहीबार पुनः बैठक बस्ने निर्णय गरेको थियो ।
एमाले र माओवादीबीच पाटर्थी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्ने सहमति भएको छ ।
उक्त सहमतिअनुसार अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बिहीबार बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी ओलीलाई प्रधानमन्त्री बनाउन आग्रह गर्ने तयारी भएको ओलीको सचिवालयले जनाएको छ।
संकेतिक फाेटाे फाइल