फागुन ३, काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।
निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो ।
नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ लिनेछन् । सपथ ग्रहण समारोेह शीतल निवासमा हुनेछ ।
प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ ।
एमालेले बखेडा झिक्यो
नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले प्रदेश ६ को मुख्यमन्त्रीमा दुई दलबीच सहमति भइसकेको विषयमा एमालेले अनावश्यक बखेडा झिकेको बताएका छन् ।
केन्द्रमा भएको सहमति लागू गर्न दबाब दिँदै नेता बस्नेले सहमतिको पालना नभए अन्यत्र प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । ‘केन्द्रमा भएको सहमति लागू हुनुपर्छ । एक ठाउँमा लागू नहुने भन्ने हुँदैन’ बस्नेतले भने, ‘त्यहाँ सहमति उल्लंघन भए देशभर प्रभावित हुन्छ ।’
केन्द्रको भागवण्डा अनुसार प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीको भागमा परे पनि एमाले प्रदेश कमिटीले प्रदेश ६ को मुख्यमन्त्री आलोपालोको सर्त राखेपछि सरकार गठनसमेत प्रभावित बनेको छ ।