• २०७७ मङ्सिर १८ गते बिहिवार
  • Preeti To Unicode

अोलीको चाहनाः नयाँ पार्टी होइन, माओवादी एमालेमा विलय होस्


लेखकः सन्दीप शर्मा
फागुन ५, काठमाडौं ।

नेपालीमा एउटा उखान छ–‘कुकरको पुच्छर बाह्र वर्ष ढुङ्गामा राखेपनि जस्ताको त्यस्तै’ । अहिले नेपालको राजनीतिमा नेकपा एमालेको व्यवहारले यो उखानलाई पुनः स्मरण गराएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया शुरु भएको ६ महिना पुग्न लाग्दा एमालेले आफ्नो शक्ति सञ्चय गर्नका लागि मात्रै एकताको कार्ड उपयोग त गरेको थिएन ? भन्ने प्रश्न समेत यतिखेर उब्जिएको छ ।

एकतामा एमाले बुझाई
निर्वाचनअघि निकै हतारमा गरिएको एकताको निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्ने क्रममा निर्वाचनको परिणामपछि एमालेबाट खासै उत्साह देखाइएनन् । निर्वाचनमा एमाले पहिलो शक्ति भएपछि एमालेभित्र पुरानै दम्भ पलायो । एमालेका नेताहरुले माओवादी केन्द्रको सहअस्तित्व स्वीकार गर्न चाहेनन् । निर्वाचन अघि समान हैसियत, समान स्तर, विचारधाराको नयाँ किसिमले संश्लेषणको कुरा गरिएपनि यि कुरा निर्वाचन पछि एमाले नेताहरुले बिर्सिए । उनीहरुका लागि अब एकता आवश्यक रहेन ।

एमाले नेताहरुले बहुदलीय जनवादलाई पार्टीको विचार र सिद्धान्त मान्नै पर्ने अडान राखेका हुन । समानस्तरमा पार्टी एकता गर्ने हो भने विचार र कार्यदिशामा पनि समानता खोजिनुपर्छ । समानता खोजिनु भनेको एक पक्षको विचारलाई अर्को पक्षले बिना शर्त स्वीकार गर्नु होइन । यो भनेको पार्टी प्रवेश या विलय हो । एमाले अहिले यही चाहन्छ ।

जनताले एकतालाई अनुमोदन गरेको कारण एमालेलाई त्यसबाट सोझै पछाडि हटन सम्भव भने थिएन । त्यसैले एमालेले एकतामा बिभिन्न किसिमले अडचन र खोंचे थाप्ने काम भने अगाडि सार्यो । खासगरि केपी ओली बैंककबाट फर्किएपछि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि एमालेभित्रको यो एकताविरोधी मनोविज्ञानले झन बलियो रुप पाएको देखियो ।

यसपछि एमालेका नेताहरु, उनीहरुको औपचारिक बैठक र सबै तहमा एकता गर्नैपर्ने अवस्थामा माओवादीले आफूले जे भन्यो त्यसमा सही छाप गरे मात्रै हुने किसिमले व्यवहार प्रस्तुत भयो । एकता भन्दा ठूलो कुरा सत्ता हुन पुग्यो । र, यही किसिमको प्रवृत्तिले निकै पटकका छलफलपछि पनि एमाले कहिले नेतृत्व त कहिले जनताको बहुदलीय जनवादलाई त्याग्न नसकिने अर्थहीन अडान राख्न पुग्यो ।

एकता गर्ने निर्णयका पछाडि एउटा मात्रै पवित्र उद्देश्य थियो–नेपाली समाजको समृद्धि, नेपालमा समाजवाद स्थापनाको आधार । साँचो अर्थमा हेर्दा एउटा कम्युनिष्ट पार्टीले आफ्नो लक्ष्य प्राप्तितर्फ अघि बढ्ने कार्यनीतिक चरण थियो पार्टी एकता । तर एमालेका लागि भने यो स्पिरिटले अर्थ राखेन ।

साँचो अर्थमा समाजवादी क्रान्तितर्फ एमाले अघि बढन खोजेको भए उसले आफैभित्र समेत कार्यदिशाको बहस शुरु गर्नुपथ्र्यो । बहुदलीय जनवादको परिवेश, परिस्थिति र त्यसको दायराभन्दा निकै अगाडिको चरणमा नेपाली समाजको विकास भइसकेको उत्पादक शक्ति र उत्पादनसम्बन्धमा देखिएको फरक अवस्थाले नयाँ कार्यदिशा उनीहरुले रोज्नुपथ्र्यो । यो नै अहिले एकताको स्पिरिट पनि थियो । तर एमाले नेताहरुलाई सकेसम्म एकता नगर्ने र गरेपनि माओवादीको विलयको रणनीति नै प्यारो भएपछि एकतामा बिभिन्न अडचनहरु देखिँदै गए ।

माओवादीको विलय चाहन्छ एमाले

एकता संयोजन समितिको पछिल्लो निर्णय र सार्वजनिक भएका तथ्यहरु हेर्दा नेकपा एमालेले पार्टी एकता होइन, बरु माओवादीको एमालेमा विलय खोजेको छ । मुख्य यसमा एमाले अध्यक्ष केपी अोली शर्मा समूहले यस्तो चाहेको छ । एमाले बहुदलीय जनवादबाट ‘टस न मस’ हुनुको अर्थ माओवादीको शक्ति र विचारलाई उसले स्वीकार गर्न नसकोको प्रमाणित हुन्छ । एकता माओवादीलाई मात्रै चाहिएको र आफूलाई नचाहिएको एमालेले प्रमाणित गरेको छ ।

त्यही भएर एमाले नेताहरुले बहुदलीय जनवादलाई पार्टीको विचार र सिद्धान्त मान्नै पर्ने अडान राखेका हुन । समानस्तरमा पार्टी एकता गर्ने हो भने विचार र कार्यदिशामा पनि समानता खोजिनुपर्छ । समानता खोजिनु भनेको एक पक्षको विचारलाई अर्को पक्षले बिना शर्त स्वीकार गर्नु होइन । यो भनेको पार्टी प्रवेश या विलय हो । एमाले अहिले यही चाहन्छ ।

तर माओवादीको इतिहासले प्रमाणित गरको छ– माओवादीका लागि अन्य सबै कुरा भन्दा ठूलो कुरा विचार हो, कार्यदिशा हो । विचार नमिल्ने शर्तमा या नेपाली समाजलाई अग्रगमनतर्फ लैजाने कार्यदिशा नहनुे शर्तमा यथास्थितिमा नै रुमल्लिने कार्यदिशा समातेर पार्टी एकता गर्नुपर्ने कुरा कुनै पनि माओवादीले स्वीकार गर्न सक्ने कुरा होइन । यो पक्षलाई एमालेले बुझ्नु जरुरी छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार