• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

सफा र स्वच्छ गाउँ सल्यानको रातामाटा (फाेटाेफिचर सहित)


शंकर के सी
फागुन ५ सल्यान ।

कुनै बेला साविकको सिनवाङ गाविस वडा नम्बर ६ सल्यानका वासिन्दालाइ चर्पीमा दिसापिसाव गर्ने बानी पर्न कठिन थियो । मिहेनतका साथ नियमित चर्पीमा जाने वानी बसालिसकेपछि सिनवाङ रातामाटाका समुदायहरु हिजोआज सरसफाइमा निकै संवेदनशील हुन थालेका छन् । रातामाटाकी सरिता वोहोराले विगत सम्झिदै भन्नुभयो ‘घर आँगन छेउछाउ फोहोरै फोहोर हुन्थ्यो, दिसापिसाब खुल्ला रुपमा गरिन्थ्यो । तर अव त सरसफाइको महत्व हामीले बुझिसक्यौँ ।’

खुला दिसामुक्त क्षेत्र घोषणापछिको पूर्ण सरसफाइका महत्वपूर्ण सूचकहरु पूरा गरेर गाउँलेले आफ्नो टोल, वडालाई धमाधम सफा गर्न थालेका छन् । व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाइका ७ वटा सूचकहरु पुरा गर्दै उनीहरु गाउँलाई नै पूर्ण सरसफाइयुक्त क्षेत्र घोषणा तर्फ उन्मुख भएका हुन् ।

सरसफाइकै अभावमा केही वर्ष अघि आफ्नो श्रीमान झाडा वान्ताले ग्रस्त हुँदा कोहलपुर सम्म उपचार गर्न लग्नुपरेको तितो यथार्थ सम्झिदै सरिताले घरआँगन सफा सुग्घर राखेमा र सफा खानेकुरा खाएमा रोगबाट बच्न सकिने बतार्इन् ।

चर्पीको नियमित प्रयोग र साबुन पानीको व्यवस्था, घरघरमा सडेर जाने र नसड्ने फोहोर व्यवस्थापनको लागि छुट्टाछुट्टै खाल्डोहरु बनाउने, गाई–भैंसीको मलमुत्रको उचित व्यवस्थापन, कुखुराको खोर छुट्टै व्यवस्था जस्ता कामले गाउँ नै सफा बन्दै गएको रातामाटाकै बाल कुमारी वोहोराले बतार्इन् । ‘घरका साना साना नानीहरुले पनि खाना खानु अघि मिचिमिची हात धुने वानी परिसकेका छन्, दिसापिसावका लागि पनि नानीहरु शौचालयमै जान्छन्’ उनले भनिन् ।

साविकको रीम र सिनवाङ गाविसमा सुआहारा कार्यक्रमले साझेदार संस्था दलित विकास समाजसँग मिलेर पूर्ण सरसफाइको कार्यक्रम सञ्चालन गरिरहेकाले पनि यस क्षेत्रका समुदायहरु पूर्ण सरसफाइतिर उन्मुख भएका हुन् । रातामाटाका हरेक घरमा शुद्ध पिउने पानीका लागि फिल्टरको प्रयोग भइरहेको छ ।

गाउँमा भइरहेका सरसफाइ कार्यक्रमबाट गाउँपालिका अध्यक्ष खुसी

घरघरको अनुगमनमा पुगेर फर्किए पछि कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले भान्सामा खानेकुरा, सिलौटा छोपेर राखेको, भाँडा धोएर घाममा सुकाएको, शौचालयको नियमित प्रयोग र सरसफाइ भएको देखेर खुसी लागेको बताए । ‘आफ्नो घरगाउँको सरसफाइ गर्ने आफ्नै दायित्व भएको बोध गराउँदै उनीहरुलाई सक्रिय गराउन सरसफाइ प्रज्वलकहरु खटाउनु भएकोमा सुआहारा र दलित विकास समाजलाइ धन्यवाद दिन्छु,’ सेनले भने ।

यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले आनीवानी परिवर्तनतिर लाग्नुपर्नेमा जोड दिए । वडाध्यक्ष हेरमलाल बुढाथोकीले साविकको सिनवाङ ६ र ८ मा चलिरहेको पूर्ण सरसफाइ अभियान अन्य टोलमा पनि शुरु भइसकेको बताए । ‘सरसफाइकै लागि यस आर्थिक बर्षमा हामीले दुई लाख रुपैयाँ खर्च गर्दैछौँ’ उनले भनिन् ।

संयुक्त अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष सेन, उपाध्यक्ष बुढा, सरसफाइ अधिकृत ढुंगाना सहित सुआहाराका वित्त तथा अप्रेशन अधिकृत कुशल आचार्य, गाउँ शिक्षा समितिका संयोजक विनोद अधिकारी, वडाध्यक्ष बुढाथोकी, पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी, दलित विकास समाज सल्यानका उपाध्यक्ष पूर्णिमा विक, वास प्रज्वलकहरु गेहेन्द्र केसी, कृष्ण गौतम लगायतको सहभागिता थियो ।

स्यानीखाल, रातामाटा र रामिडाँडालाई पूर्ण सरसफाइयुक्त टोल घोषणा गर्ने तयारी

स्यानीखाल, रातामाटा र रामिडाँडा टोललाई छिट्टै पूर्ण सरसफाइयुक्त टोल घोषणाको अन्तिम तयारी भइरहेको सुआहारा कार्यक्रमले जनाएको छ । सुआहाराका जिल्ला सरसफाइ अधिकृत किरण ढुंगानाले अनुगमनको काम पनि अन्तिम चरणमा पुगिसकेको बताए ।

‘सरसफाइ प्रज्वलकले तीन पटक, टोल स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले एक पटक र वडा स्तरीय समितिले एकपटक सरसफाइको अवस्थाका विषयमा अनुगमन गरिसकेको छ । विहीबार मात्रै संयुक्त अनुगमन सम्पन्न भयो’ ढुंगानाले भन्नुभयो ‘अनुगमनका क्रममा अधिकांशले सूचकहरु पुरा गरेको पाइयो ।’

सल्यानलाइ सन् २०२२ सम्म पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गर्ने लक्ष्य छ भने कपुरकोट गाउँपालिकालाइ सन् २०२१ सम्म घोषणा गरिसक्ने लक्ष्य छ । अहिलेसम्म सल्यानको शारदा नगरपालिका–३ मा रहेको सिरुवार टोललाई मात्रै पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार