• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

एमाले–माओवादी एकता लम्बिँदै, ओलीले सरकारमा राजपा र फोरमलार्इ मिलाउदै


फागुन ६, काठमाण्डाैँ ।

नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको खाका निर्माणमै ढिलाइ गर्दा पार्टी एकीकरणमा ढिलाइ भएको छ । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसके पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिने संकेत देखिएको छ ।

अाजकाे नागरिकमा खबर छ- पार्टी एकताबारे एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच निरन्तर रुपमा छलफल जारी रहेको छ । तर दुवै अध्यक्षले आफ्ना पार्टीका अन्य नेताहरुसँग एकीकरणका लागि भइरहेको गृहकार्यबारे केही बताएका छैनन् । त्यस्तै पार्टी एकीकरणको खाका तयार पार्नका लागि केन्द्रीय पार्टी एकता संयोजन समितिको बैठक बस्न बसेको छैन।

एकीकरणका सम्बन्धमा दुवै नेताबीच भएको तयारीबारे जानकारी नपाउँदा अन्य नेताहरु असन्तुष्ट बन्दै गएका छन् । ‘दुवै नेताहरुबीच सहमति भयो भन्ने विषय आउँछ तर के भयो भन्ने जानकारी सञ्चारमाध्यमबाट मात्र थाहा पाउनुपर्ने अवस्था छ,’ वाम गठबन्धनका एक नेताले भने, ‘सहमति भएको हो कि नभएको हो त्यस विषयमा हामी अन्योलमा छौं ।’

दुई पार्टीबीच गत बुधबार लिखित सहमति गर्ने भनिएको थियो । तर अन्तिम समयमा आएर सहमति हुन सकेन । त्यसको असर सरकार गठनको समयमा देखियो । पार्टी एकीकरणको ठोस खाका नआएको भन्दै माओवादी केन्द्र सरकारमा सहभागी भएन ।‘चुनावमा जनताले स्पष्ट जनादेश दिए पनि एकता प्रक्रियामा अलमल हुँदा राजनीतिक अस्थिरता उत्पन्न हुने हो कि भन्ने आशंका तल्लो तहसम्म देखिएको छ,’ ती नेताले भने, ‘अब यसलाई अलमल नगरी निष्कर्षमा पुर्याउनुपर्छ ।’

पछिल्लोपटक बुधबार बसेको केन्द्रीय पार्टी एकता संयोजन समिति बैठकमा एमाले नेताहरुले नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्तमा ‘जनताको बहुदलीय जनवाद’ हुनुपर्ने धारणा राखेका थिए । उक्त बैठकमा एमालेका नेता माधवकुमार नेपालले पार्टीका मार्ग निर्देशक सिद्धान्त बहुदलीय जनवाद नै हुनुपर्ने धारणा राखेका थिए । अध्यक्ष ओलीले पनि नेपालकै भनाइमा अडान लिएका थिए ।यसअघि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने र मिल्न बाँकी रहेको वैचारिक विषयलाई महाधिवेशनसम्म लैजाने सहमति भएको बताइएको थियो।

‘अहिलेको त्यति ठूलो सैद्धान्तिक विमति हुने ठाउँ छैन । तर आफ्नो विचार नछाडेको भन्दै पार्टीभित्र आन्तरिक रुपमा आफूलाई शक्तिशाली बनाउनका लागि यो विषय उठेको छ,’ एक नेताले भने ।
पछिल्लोपटक भएको केन्द्रीय पार्टी एकता संयोजन समितिको बैठकमा पार्टीको वैचारिक विषयमा सहमति जुट्न सकेन र सरकार गठनका विषयमा मात्रै सहमति भएको थियो ।एकता संयोजन समितिका सदस्य रहेका एमालेका वरिष्ठ नेता झलनाथ खनालले महाधिवेशनसम्म आएका सबैका विचारमाथि छलफल गर्दै लगेर हल निकाल्न सकिने बताए ।

‘पार्टी एकता घोषणाका लागि केही संगठनात्मक र वैचारिक विषयमा सहमति हुन बाँकी छ । वैचारिक विषयमा जति हुनुपर्ने हो त्यति छलफल भएको छैन,’ झलनाथ खनालले नागरिकसँग भने, ‘दुवै विषयलाई छलफलमा लगेर महाधिवेशनसम्म त्यसलाई हल गर्न सकिन्छ ।’माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादवले सैद्धान्तिक विषयमा सहमति जुट्न नसक्दा समस्या देखिएको बताए ।

यसैबीच आइतबार एकता संयोजन समितिको बैठक बस्ने भएको छ । दुवै पार्टीका अध्यक्षबीच ओली निवास बालकोटमा शनिबार करिब ४५ मिनेट भएको एकान्त वार्तामा आइतबार बैठक राख्ने सहमति भएको हो । दाहालले एमाले अध्यक्ष दाहालसँग भेटेलगत्तै अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग ललितपुरमा भेट गरेर छलफल गरेका थिए ।

ओलीले सरकारमा राजपा र फोरम घुसाउदै

मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ‘ग्रिन सिङ्नल’ देखाएका छन् । संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकारात्क देखिएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुुनुअघि राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरी आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार ओलीले ठाकुरसँग काठमाडौंको एक होटलमा र यादवसँग आफ्नै निजी निवास बालकोटमा कुराकानी गरेका थिए ।

वार्तामा ओलीले आफू संविधान संशोधन विरोधी नभएको भन्दै मधेसलाई समेटर अघि बढ्ने बताएका थिए । नेतात्रयबीच सरकार गठन हुनुअघि अर्को चरणमा कुराकानी गर्ने सहमति भएको थियो । तर माओवादीसँगको एकता प्रक्रियामा ओली व्यस्त भएकाले अर्को चरणको कुराकानी नभएको स्रोतको भनाइ छ । ‘अर्को चरणमा कुराकानी नभईकनै ओली प्रधानमन्त्री नियुक्त हुनुभयो । त्यसपछि कुराकानी भएको छैन’, राजपा एक शीर्ष नेताले भने । राजपा अध्यक्षमण्डल सदस्य महेन्द्र यादवले संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीले समयसीमा राखेर प्रतिबद्धता जनाए सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकिने बताउँछन् ।

‘संविधान संशोधनका लागि प्रधानमन्त्रीले टाइम बाउन्डरी राखे सरकारमा जाने विषयमा छलफलका लागि ढोका खुला हुन्छ,’ उनले भने ।राजपा सहमहामन्त्री सुरेन्द्र झाले ओली र ठाकुरबीच कुराकानी भएको स्वीकार्दै भने, ‘हाम्रो उद्देश्य संविधान संशोधन र मधेस मुद्दा सम्बोधन हो । यसमा ओलीजी प्रतिबद्ध भए सरकारमा जान्नौं भन्ने हाम्रो भनाइ होइन । तर पनि हाम्रो प्राथमिकता सरकारभन्दा मधेस मुद्दा सम्बोधन हो ।’

फोरम राजीतिक समिति सदस्य रेखा यादवले पनि एमाले अध्यक्ष ओली र आफ्नो पार्टी अध्यक्ष यादववीच कुराकानी भएको बताइन् । उनले भनिन्, ‘संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए हामी छलफल गर्न तयार छांै ।’ ओली र यादवबीचको कुराकानी सकरात्मक भएको दाबी गर्दै उनले थपिन्, ‘हामीले एमाले अध्यक्ष केपी ओलीलाई संविधान संशोधननका लागि अघि बढ्नुहोस् भनी सल्लाह दिएका छौं । उहाँले के गर्नु हुन्छ । त्यो हेर्न बाँकी नै छ । ’स्रोतका अनुसार, राजपाभित्र ओली सरकारलाई हेर्ने दृष्टिकोणबारे दुइ धार देखिएको छ । राजेन्द्र महतो, महेन्द्र यादव र अनील झा सरकारप्रति लचिलो हुनुपर्ने पक्षमा छन् ।

एमालेसँग चिसिएको सम्बन्ध सुधार नगरे संविधान संशोधन पनि नहुने र पाँच वर्षसम्म केन्द्रीय सरकारबाट बाहिर बस्नुपर्ने निष्कर्ष महतो, यादव र झाको छ । फोरम पनि संविधान संशोधन गर्न एमालेसँग मिलेर जानुपर्ने निष्कर्षमा पुगेका छन् । तर राजपा अध्यक्षमण्डल संयोजक ठाकुर, अध्यक्षमण्डलका सदस्यद्वय शरतसिंह भण्डारी र राजकिशोर यादव लोकतान्त्रिक गठबन्धन छाडेर एमालेसँग नजिक हुन नहुने पक्षमा रहेको स्रोत बताउँछ । भण्डारी र यादवको तुलनामा पछिल्लो समयमा ठाकुर एमालेप्रति अलि नरम देखिएको स्रोतको दाबी छ ।ओलीसँगको कुराकानीपछि ठाकुर र यादव जनकपुर गएका छन । यादव आइतबार काठमाडौं फर्कने छन् ।
राजपा र फोरमसँगको सम्बन्ध सुधारमा एमाले दोस्रो तहका केही नेता पनि सक्रिय रहेको स्रोतको भनाइ छ । खासगरी एमाले नेता रुघुवीर महासेठले यसमा चासो दिएका छन् ।

महासेठले प्रतिनिधिसभा चुनावलगत्तै राजपा र फोरम नेतासँग सम्बन्ध सुधारका लागि अनौपचारिक कुराकानी गर्दै आएका छन् । राजपा एक नेताले भने ओलीले पछिल्लो समयमा राजपा र फोरमसँगको संवादलाई कम महत्व दिएको गुनासे गरे । ती नेताले भने, ‘माओवादीसँग कुरा मिलेपछि एमाले अध्यक्ष ओलीले हामीसँगको संवादलाई कम महत्व दिनुभयो ।’यादव, ठाकुर र ओलीबीच पछिल्लोपटक भएको कुराकानीपछि एमालेका नेताहरूले पनि संविधान सशोधनप्रति नकारात्मक धारणा राखेका छैनन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते आइतवार