फागुन ७, सल्यान ।
नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको पूर्वसन्ध्यामा देशभर जस्तै सल्यानमा पनि मशाल जुलुस निकालेको छ । साेमबार साँझ ९ बजेतिर जिल्लाकाे बिभिन्न ठाउँमा एकैसाथ मशाल जुलुस निकालेको नेकपा सल्यानले जनाएको छ ।
एकै समय पारेर जिल्लाकाे ८ -९ ठाउँमा मशाल जुलुस निकालेको नेपाल कम्युनिष्ट पार्टी सल्यानका इन्चार्ज विश्वले जानकारी दिएका छन् । भोलि फागुन ८ गते आयोजना गरिएको नेपाल बन्दको प्रचारको केन्द्रकाे जस्तै सल्यानमा पनि मशाल जुलुस निकालिएको नेकपा सल्यानले जनाएको छ ।
साथै मंगलबार देशभरी जस्तै सल्यानमा पनि उद्योग, ब्यबसाय, शिक्षण संस्था, बजार, कलकारखाना बन्द गरेर नेपाल बन्दमा सहयोग गर्न नेकपाले सम्बन्धित सबै पक्षसंग आग्रह गरेको छ ।
बन्दमा प्रेस, एम्बुलेन्स, शब बहान, दुध बोक्ने गाडी र पानी बोक्ने गाडीजस्ता अत्यावश्यक सवारीसाधनलाई भने चल्न पाउने सो पार्टीले जनाएको छ । यस्तै नेकपाले जनसमुदायको साथमा प्रभावकारी भूमिका निभाएर बन्द सफल पार्न पार्टी नेता तथा कार्यकर्तालाई अपिल गरेको छ ।
आइतबार विराटनगर आयोजित युवाको राष्ट्रिय सम्मेलनमा सहभागी नेता कार्यकर्ताहरुलाई ओली सरकारले गिरफ्तार गरेको बिरोधमा नेकपाले फागुन ८ गते नेपाल बन्दको आयोजना गरेको हो ।
शान्तिपुर्णरुपमा सभा सम्मेलन गर्न पाउने कानुनि ब्यबस्था रहेको मुलुकमा पूर्व घोषित सम्मेलन अवरोध गर्ने नियतका साथ सरकारले पार्टीका नेता तथा कार्यकर्ता र समर्थकलाई दमन, धरपकड, गिरफ्तार गर्ने र झुठा मुद्दा लगाएर फसाउने सड्यन्त्र गरेको भन्दै गिरफ्तार नेता कार्यकर्ता रिहाइको माग गर्दै नेकपाले नेपाल बन्द आयोजना गरेको बताएकाे छ ।
आइतबार बिराटनगरका विभिन्न ठाउँबाट नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र पोलिटब्युरो सदस्य पदम राइसहित २ सय भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर युवाको सम्मेलन बिथोल्ने प्रयास गरेको थियो ।
प्रकाउ परेका २ सय मध्ये अधिकांश नेता कार्यकर्तालाई प्रहरीले आइतबार साझ नै रिहा गरेको छ, भने नेता सुदर्शनसहित ३ जनालाई अझै हिरासत राखिरहेको छ । तस्विरः सामाजिक संजाल फेसबुकबाट