• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

संघीय सांसदको २० फागुनमा , राजपा नेता यादवलाई शपथ गराउने –


फागुन १०, काठमाडौ । 

संघीय सांसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को शपथग्रहण २१ फागुनमा हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २१ फागुनमा संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् । बैठकको अघिल्लो दिन शपथग्रहण समारोह तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

शपथग्रहण कार्यक्रम नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा हुनेछ । संविधानअनुसार दुईवटै सभाको सुरुको अध्यक्षता सम्बन्धित सभाका ज्येष्ठ सदस्यले गर्नेछन् । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि सोही दिन अन्य सदस्यको शपथ ज्येष्ठबाट हुनेछ ।

आयोगको सूचीअनुसार २७५ सदस्य रहेको प्रतिनिधिसभामा राजपाबाट निर्वाचित सर्लाही–२ का सांसद महेन्द्र राय यादव सबैभन्दा जेठा हुन् । नागरिकताअनुसार उनी ८० वर्षका भए ।

राष्ट्रिय सभाका जेठा शिवाकोटी÷भट्ट
यादवका अनुसार नागरिकतामा भएका त्रुटिका कारण मात्रै उनको उमेर बढी देखिएको हो । उनको वास्तविक उमेर ६६ वर्ष हो । नागरिकतामा त्रुटि भए पनि उनको उमेर त्यही सदर भएकाले उनले आफू सभाको अध्यक्षता गर्न तयार रहेको बताएका छन् ।

‘उमेरका हिसाबले म नै सबैभन्दा जेठो ठहरिएँ, यो ऐतिहासिक अवसर वहन गर्नेछु,’ उनले राजधानीसँग भने । जेठो सदस्यले अन्य सदस्यलाई शपथग्रहणसँगै सभामुख÷अध्यक्ष चयन नभएसम्म सम्बन्धित सभाको अध्यक्षतासमेत गर्नेछन् । यादवपछिका ज्येष्ठ सदस्य राजपाकै अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुर छन् । महोत्तरी–३ बाट निर्वाचित ठाकुर ७५ वर्षका भए । त्यसपछिका तेस्रा ज्येष्ठ सदस्य डडेलधुरा–१ बाट निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । उनको उमेर ७२ वर्ष पुगेको छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा एमालेका ६९ वर्षीय हरिचरण शिवाकोटी र त्यही उमेरकी कांग्रेसकी तारादेवी भट्ट सबभन्दा ज्येष्ठ देखिएका छन् । दुईमध्ये कसले शपथ गराउने भन्ने टुंगो लागिसकेको छैन ।

तेस्रो नाम कांग्रेसकै ६८ वर्षीय राधेश्याम अधिकारीको हो । सांसदलाई शपथ गराउनुअघि दुवै ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । राष्ट्रपतिसँग उनीहरूले २० फागुनमै शपथ लिने कार्यक्रम संसद् सचिवालयले तय गरेको छ ।

संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले शपथ कार्यक्रममा सहभागी हुन सार्वजनिक सूचना आह्वान गरिसकिएको जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन ऐन र राष्ट्रिय सभा निर्वाचन अध्यादेशको अनुसूचीमा शपथको बेहोरासहित ढाँचाको बेहोरा उल्लेख छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूलाई एकैदिन फरकफरक समयमा शपथग्रहण गराउने सचिवालयको तयारी छ । प्रतिनिधिसभाका सदस्यहरूलाई दिउँसो ४ बजे र राष्ट्रिय सभाका सदस्यहरूलाई साँझ ५ बजे शपथग्रहणको समय तोकिएको छ ।

शपथग्रहणका लागि तोकिएको समयभन्दा एक घण्टा अगाडि संसद् भवनमा उपस्थित हुन सांसदहरूलाई सचिवालयले आग्रह गरेको छ । शपथग्रहण गर्न आउँदा राष्ट्रिय वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाकमाआउन पनि सांसदहरूलाई अनुरोध गरिएको सचिवालयका प्रवक्ता गौतमले जानकारी दिए ।

साथै, निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा वा राष्ट्रिय सभा सदस्यको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र पनि शपथग्रहण गर्न जाँदा लैजानुपर्ने व्यवस्था गरिएको छ । कुनै सांसदले मातृभाषामा शपथग्रहण गर्न चाहेमा शपथको बेहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपिसहित तीन दिनअगाडि नै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्नेछ । रासस –

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार