फागुन १०, काठमाण्डाैँ ।
कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
बुधबार कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत दोहनीमा तौलिहवातर्फ हिडेकाे लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनको शवपरीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङनजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी उनले दिए ।
दुर्घटनामा परी सोलुखुम्बु जिल्ला घर भई हाल शुक्लागण्डकी नपा–४ सेराटार बस्ने २४ वर्षीया नितु मगर घाइते भएकी छन् । गर्भवती समेत रहेकी उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खैरेनीटारबाट पोखरा जाँदै गरेको ना ५ ख १९८० नंको मिनीबस उक्त ठाउँमा सडक छेउमा दुर्घटना भएको हो । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।