काठमाडौ:प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएको एक साता बितिसके पनि सरकारले पूर्णता पाउन सकेको छैन ।
माधवकुमार नेपालको सिफारिसमा लालबाबु पण्डित र ओली समूहकै थममाया थापालाई सोही दिन सपथ खुवाए पनि अरु मन्त्रीको टुंगो नलाग्दा अधूरो सरकारले गति लिन सकेको छैन ।
दुई दर्जन मन्त्रालयमा प्रधानमन्त्रीको काँधमा रहँदा सिंहदरबारमा हजारौं फाइल अघि बढ्न सकेका छैनन् । अझ दुई दिनदेखि प्रधानमन्त्री मन्त्रालय बाँडफाँड मिलाउनकै लागि बालुवाटारमै ढुक्क बस्दा मंगलबार र बुधबार सिंहदरबार सुनसानजस्तै रह्यो ।
प्रधानमन्त्री ओलीले सरकारलाई पूर्णता दिन तीन दिनदेखि गरेको प्रयास सार्थक हुन सकेको छैन । मन्त्री माग्नेहरुको भीडले ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा अर्को तनाव थपिएको छ । अधिकांश सांसदहरुलाई मन्त्रीका लागि बधाई दिने क्रम चलेको छ ।
‘दिनैपिच्छे बधाई आउँछ,’ मन्त्रीको नाम चलेका एक सांसदले भने, ‘ब्लड प्रेसर बढेरै सकिन्छु कि जस्तो लाग्न थाल्यो, बरु टुंग्याइहाले ढुक्क हुन्थ्यो ।’
मन्त्रीको आशा गर्ने, मन्त्रीका लबिङ गर्ने र गुटका नेताहरुमार्फत प्रधानमन्त्री र शीर्ष नेताहरु कहाँ पुग्नेको लाइन निक्कै लामो छ । बढीमा तीन दलकोमात्रै सरकार बन्ने हुँदा पनि किन ढिलाइ भइरहेको छ त ?
मन्त्रालय पुनर्संरचना
सत्तारुढ एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको पुनर्संरचनासमेत टुंगो लागेको छैन । ‘१८ वटा मन्त्रालय कायम गर्ने करिव–करिव सहमति भएको छ,’ ओली निकट एमालेका एक पदाधिकारी भन्छन्, ‘कुन मन्त्रालय कहाँ गाभ्ने भन्नेमा विज्ञको सल्लाह लिने काम पनि भइरहेको छ ।’
काशीराज दाहाल नेतृत्वको संघीय प्रशासनिक पुन:संरचना कार्यान्वयन समितिले १५ मन्त्रालय राख्न सुझाव दिएको थियो । शिक्षा, श्रम, खेलकुद, महिला तथा बालबालिका मन्त्रालय कहाँ राख्ने भन्नेमा भिन्न भिन्न विचारहरु आइरहेका छन् ।
भागबण्डा
सरकारलाई पूर्णता दिन एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा हुन सकेको छैन । मन्त्रालयको पुनर्संरचनासमेत टुंगो नलागेकाले भागबण्डामा सकस परेको छ । ‘हामीले ७ मन्त्रालय मागेका छौं,’ माओवादी केन्द्रका एक नेताको भनाइ छ, ‘प्रधानमन्त्री र एमालेका शीर्ष नेताहरुले ६ वटा भन्नुभएको छ ।’
१५ वटामात्रै मन्त्रालय हुने अवस्थामा माओवादी केन्द्रले बढीमा ५ मन्त्रालय पाउने निश्चितजस्तै छ । तर, भागबण्डाको विषय अब ठूलो नभएको ती नेताको जिकिर छ । तर, प्रधानमन्त्रीले दुइटा मन्त्रालयलाई रुचिसाथ हेरेका छन् ।