• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

९३ वर्षीय पत्रकार भन्छन्– “त्यतिबेला जहाज र हुलाकबाट समाचार पठाउथे”


फागुन १०, काठमाण्डाैँ । 

तात्कालिक प्रधानमन्त्री नगेन्द्र रिजाल खोटाङ पुगेका थिए । पत्रकार तुलसीप्रसाद रेग्मीले समाचारका लागि प्रधानमन्त्री रिजालसँग कुराकानी गरे ।

तात्कालिक गृहमन्त्री भोजराज घिमिरे पनि खोटाङ पुगे । गृहमन्त्री रिजालसँग पनि पत्रकार रेग्मीले कुराकानी गरे । तात्कालिक प्रधानमन्त्री रिजाल र तात्कालिक गृहमन्त्री घिमिरेसँग कुराकानी गरेको देख्नेले पत्रकार रेग्मीलाई ठूलो मानिस ठाने ।

‘समाचारका लागि कुराकानी गरेको थिएँ,’ पत्रकार रेग्मीले अतीत सुनाए, ‘मैले प्रधानमन्त्री र गृहमन्त्रीसँग कुराकानी गरेको देखेपछि हाम्रा समस्या पनि प्रधानमन्त्रीसमक्ष पुर्याइदिनुपर्यो भन्नेको भीडभाड लागेको थियो । ठेक्कापट्टा र जागिर मिलाइदिनुपर्यो भन्दै मकहाँ बिन्ती बिसाउन आउने पनि कम थिएनन् । उनीहरूलाई सम्झाइ–बुझाइ गर्न कम्ती सकस परेन ।’

प्रधानमन्त्री रिजाल र गृहमन्त्री घिमिरेको खोटाङ भ्रमणको समाचार ‘राष्ट्रिय समाचार’ बनेर प्रकाशित भएको पत्रकार रेग्मीले बिर्सेका छैनन् । उनले संवत् २०३५ देखि ०३६ सम्म राष्ट्रिय समाचार समिति
(रासस) खोटाङ प्रतिनिधिका रूपमा काम गरेका थिए । खोटाङ प्रतिनिधि बनेर दुई वर्ष काम गर्दा उनले जिल्लावासीका समस्याबारे समाचार धेरै लेखे । उनले विगत कोट्याए, ‘गाईबस्तुमा लागेको खोरेत, जुम्ल्याहा बाच्छाबाच्छी ब्याएको र धारा बिग्रेपछि पानी खान नपाएको जिल्लावासीका पीडाको समाचार कति लेखें कति ।’

‘त्यतिबेला ?,’ उनले भने, ‘राष्ट्रिय र ग्रामीण गरी दुई किसिमका समाचार हुन्थे । ग्रामीण समाचार प्रशस्तै लेखे पनि राष्ट्रिय समाचार त हातमा गन्न सकिनेगरी लेखेको थिएँ ।’ काठमाडौंबाट प्रधानमन्त्री, मन्त्रीलगायत राष्ट्रियस्तरका व्यक्तित्व खोटाङ पुग्दामात्रै राष्ट्रिय समाचार बन्थ्यो । उनले थपे, ‘तसर्थ, राष्ट्रिय समाचार धेरै लेख्न पाइएन ।’ राष्ट्रिय र ग्रामीण समाचारको पारिश्रमिकसमेत फरक–फरक थियो । राष्ट्रिय समाचार प्रकाशित भए १० रुपैयाँ पाइन्थ्यो भने ग्रामीण समाचारको पाँच रुपैयाँ निर्धारण गरिएको थियो ।

खोटाङको दिक्तेलमा बस्ने उनी समाचार संकलनका लागि गाउँ–गाउँ पुग्न पर्दैनथ्यो । जिल्लाका गाउँ–गाउँबाट समाचार लिएर उनलाई भेट्न दिक्तेल पुग्थे । समाचार संकलनका लागि सहज भए पनि सम्प्रेषणका लागि भने अप्ठ्यारो थियो । समाचार तयार पारेपछि सम्प्रेषणका लागि हिजोआजजस्तो इन्टरनेट, फोन, फ्याक्स सुविधा थिएन ।

कसरी पठाउनुहुन्थ्यो त ? ९३ वर्षीय रेग्मीले ३८ वर्षअघिको विगत सम्झे, ‘आकाशवाणी (आवा) बाट । कतिपय अवस्थामा समाचार टिपाउने र टिप्नेबीच आवाज राम्ररी नसुनिने भएकाले हेलो, हेलो भन्दाभन्दै कहिलेकाहीं त समाचार टिपाउनै पाइँदैनथ्यो । भनेको समयमा पठाउन नसक्दा समाचार बासी हुन्थ्यो ।’ बासी नहुने समाचार हुलाकबाट रजिष्टरी गरेको पठाउँथें । कतिपय अवस्थामा जिल्लाको लामिडाँडा विमानस्थलसम्म पुगेर विमानबाट समाचार पठाएको उनलाई हिजैजस्तो लाग्छ । समाचार टिपाउँदा आकाशवाणीमा लाग्ने खर्च भने राससले उपलब्ध गराउँथ्यो ।

संवत् १९८२ मा साबिक बतासे गाउँ विकास समिति–२ मार्से खोेटाङमा जन्मेका तुलसीप्रसाद रेग्मी हिजोआज उदयपुरको पुरानो गाईघाट बस्छन् । ९३ वर्षको उमेरमा त्यत्तिकै सक्रिय छन् । पत्रकार रेग्मी हिजोआज रेग्मी समुदायको कुलपूजाबारे किताब लेखिरहेका छन् । रेग्मीका छोरो नगेन्द्रराज रेग्मीले भने, ‘हिजोआज पनि १५ मिनेटको बाटो हिँडेर गाईघाटबजार पुगेर पत्रिका किनेर ल्याउनुहुन्छ । कान कम सुन्नुभए पनि आँखा प्रस्ट देख्नुहुन्छ । उहाँलाई किताब र पत्रपत्रिका भए अरू केही चाहिँदैन ।’

त्यतिबेला साहित्य सिर्जना गरेर सुनाउँदै हिँड्ने भएकाले मलाई रासस खोटाङ प्रतिनिधिको भूमिका दिइएको हुनुपर्छ भन्ने उनको ठम्याइ छ । उनको आलेख तथा साहित्य सिर्जना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । त्यतिमात्रै होइन, उनको ‘माझी जातिको एक परिचय’, ‘उदयपुर जिल्लाको परिचय’ र बादलभित्रका तारा’ नाम किताब सार्वजनिक भइसकेको छ । उनी तात्कालिक जिल्ला विकास समिति खोटाङबाट प्रकाशित ‘ट्याम्के’ को सम्पादक हुन् ।

एकताका दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्य उनले सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कोषाध्यक्षको भूमिकासमेत निर्वाह गरेका थिए । दीपेन्द्र राई/राताेपाटी

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार