सल्यानको पृष्ठभूमि र इतिहास पूरा पढ्नुहोस। (लेखक धुर्वराज वली)


सल्यान/ सर्वप्रथम तपाइको समय छ भने सल्यानको पृष्ठभुमिलाई मिलाएर पढ्न अनुरोध गर्दछौ? ।
……………………………………………………………………….

धार्मिक कालखण्ड देखी पञ्चायतकाल खण्डसम्ममा सल्यानसँग जोडीएका केही ईतिहासका महत्वपूर्ण पाटोहरु केलाउदा मलाई सल्यानप्रती र सल्यानी भएकोप्रती मलाई सच्चिकै गर्वको अनुभुती हुने गर्छ । र त म आफुलाई
‘ TRULY A SALYANI ‘ को रुपमा चित्रित गर्ने गर्दछु ।

…………………………………………………………………………

—- सुरुवात धार्मिक कालखण्डबाट —-

१ ) ——————- धार्मिक कालखण्डतिर ———————

भगवानको युगमा शिवजीले शतीदेवीको मृत शरीर बोकेर यो ब्रमाण्डह परीक्रमा गर्दा शतीदेवीको करङ पतन भएको स्थान हाम्रै लक्ष्मीपुरमा अबस्थित छ । यस्तै शतीदेवीका बाँकी सम्पूर्ण अङ्गहरुको पतन भएको स्थान हाम्रै छत्रेस्वरीमा अबस्थित छ । यो कुरा श्री स्वस्थानी ब्रतकथामा महत्वका साथ उल्लेख गरीएको छ । नेपालमा रहेका शतीदेवीका अङ्ग पतन भएका शक्तीपिठहरु मध्ये २ वटा – लक्ष्मीपुर शक्तीपिठ र छत्रेश्वरी शक्तीपिठ सल्यान जिल्लामा अबस्थित छन ।

यसरी बुझौ न अब – धार्मिक कालखण्डका तथ्यगत प्रमाणहरुले सल्यान एउटा महवपूर्ण भुमीको रुपमा स्वत: थापित गरेका छ्न नि । हैन त ।

————————————————————————–

|| सल्यानका केही एतिहासिक कालखण्डहरुलाई खोतल्दा ||

————– नेपाल एकीकरणको कालखण्डतिर —————-

– श्री ५ पृथ्वीनारायण शाहदेवलाई नेपाल एकीकरण गर्न प्रेरित गर्ने अनी आफुमा रहेको शिद्दमन्त्र शक्तीद्वारा पृथ्वीनारायण शाहका हातहतियारहरु सिद्ध गरिदिने गुरु सल्यान राणागाउका हुनुहुन्थ्यो । उहा फालाबाङ्गी राजाका राजगुरु समेत हुनुहुन्थ्यो । तत्कालिन फालाबाङ्गी राज्यका राजा श्री कृष्ण शाह र तात्कालिन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहलाई सम्दीसम्दी बनाउन गुरुको भूमिका अथाह थियो । वि.स १८२३ माघ २५ गते सल्यान फालावाङ राज्यका युवराज र पृथ्वीनारायण शाहकी छोरी / गोर्खा राज्यकी राजकुमारी विलासकुमारीको वैबाहिक सम्बन्ध स्थापना गराउनमा पनि गुरुको निकै भूमिका रहेको ईतिहास छ । त्यसपछी गुरुलाई दुवै राज्यबाट महाॠषि उपमा दिइएको थियो । श्रीकृष्ण शाह र पृथ्वीनारायण शाह ‘सम्दी’ नातामा गासिएको करिब ४६ बर्षपछी वि.सं.१८६९ भाद्र ३ गते मंगलबारका दिन सल्यान राज्य नेपाल एकिकरण अभियान भित्र परेको थियो ।

– नेपाल एकिकरणको वेला वि.सं. १८४३ मा दाङका राजा नवल सिंह लडाइमा मारीए पछी उत्तराधिकारी दिलेर सिंहले पुरा दाङको राज्य सञ्चालन गर्न नसकेछी वि .सं १८६९ मा सल्यान राज्य नेपालमा एकिकरण हुदा दाङ् पनि नेपालमा नै मिल्न गयो । नेपाल एकिकरण पछि दाङ् सल्यान गौडा राज्यको मातहतमा रहन पुग्यो । वि .सं . १८९४ मा सल्यानी राजाको वंशज तेज वहादुर शाहलाई राजाको पद र पश्चिम दाङ र फालावाङ्ग राज्य प्रदान गरियो । त्यस पछि पश्चिम दाङ र फालावाङ क्षेत्रको शासन फालावाङबाट सुरुहुन थाल्यो । नेपाल भारत असमान सुगौली सन्धी हुनुपूर्व फलावाङ्गी राजाको प्रशासनिक क्षेत्र बिशाल थियो । फलावाङ् राजाहरु रत्ननाथका भक्त थिए । सिद्ध रत्ननाथ लाई उनिहरु ले कुल देवताको रुपमा पुजा गर्दथिए । त्यसैले फालावाङ दरवारमा पनि रत्ननाथको मन्दिर वनाएका थिए । त्यसैले गर्दा फालावाङ् राजाहरुले आफ्नो प्रशासन चलाउन सजिलो होस भन्नको निम्ती फालावाङमा पुरानो दरवार, माझ दरवार र नयाँ दरवार समेतगरी पाचवटा दरवार निर्माण गरेका थिए ।

– हामीले तस्बिरमा देख्न सक्ने फालावाङ्गी राज्यको दरबारको नाम पुतली दरवार हो । दरवार वि.सं. १९५७ मा निर्माण सुरु गरी वि.सं. १९६९ मा सम्पन्न भएको थियो । कलात्मक स्वरुपमा निर्माण गरिएको फालावाङ्गी राज्यको राजदरबार छाउनको लागी जस्तापाता वेलायतबाट ल्याईएको थियो । १५५ झ्याल र ५५ कोठाको बेलायती शैलिको उक्त दरवारमा गद्दी बैठक, कचहरी बैठक, पुजा कोठा, मोठ कोठा आदी पनि छुट्टा-छुट्टै व्यवस्था गरिएका थिए ।

– राज्य सञ्चालनको क्रममा ६-६ महिना दाङ र फालावाङ गर्नुपर्ने भएपछी वि .सं .१९८८–९१ को बिचमा दाङस्थित हाल अञ्चल अस्पताल रहेको स्थान तुलसिपुरमा ३५ कोठाको दुईतले पक्की दरवार पनि वनाएका थिए । पछि राज्य रजौटा ऐन उन्मूलन भएपछि २०२१ सालमा ५ विघा ६ कट्ठा १२ धुर जमिन भित्रको तुलसिपुरको दरवार १ लाख ६५ हजार मा फालावाङ राजा गेहेन्द्रवहादुर शाहले सरकारलाई विक्री गरेका थिए ।

– जनयुद्ध ताका दरवार रेखदेखको जिम्मा पाएका स्थानिय व्यक्तिहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेका कारण बेवारिसे बन्न पुगेको यो दरवारले आफ्नो अस्तित्व गुमाउन गयो । दरवारको अस्तित्व नभएपनी दरवार छेउ बटुकभैरव प्रांगणमा रहेको प्राचिन लिपिबद्ध अक्षरहरुले यो क्षेत्रको प्रचिनता तथा ऐतिहासिक महत्वलाई परिभाषित गरिरहेको देखिन्छ ।

– सल्यानको फालाबाङ राज्यले १८ औ , १९ औ शताब्दीतिर आफ्नो उपस्थिती दमदार रुपमा उभ्याएको ईतिहास छ । यती शान्दार, जवर्जस्त ईतिहास बोकेको फालावाङ्गी राज्यको दरबार सल्यानको फालावाङ स्थित हाल पुतली बजार रहेको स्थान आसपास करीब २५ बर्ष अघीसम्म ठडीएको थियो ।

यसरी बुझौ न अब – पृथ्वीनारायण शाहको कालदेखी राणाकालिन कालखण्डसम्मका तथ्यगत प्रमाणहरुले सल्यान एउटा महवपूर्ण अनी शक्तीशाली भुमीको रुपमा स्वत: थापित भएको छ नि । हैन त ।

…………………………………………………………………………

————— राणाकालिन कालखण्डतिर ————————

राणकालिन अबस्थामा पनि सल्यानमा चौथो दर्जाको बडाहाकिमको दरवन्दी थियो । सल्यान जिल्ला अन्तर्गत हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकतम भाग यस जिल्लामा नै थियो ।

………………त्यसपछी …………………………………………….

——— पञ्चायत एउटा महत्वपूर्ण कालखण्ड तिर ————-

वि सं १९९७ मा सल्यानको खलङ्गा बजार जन्मनु भएका मरीचमान सल्यान खलङ्गा वासी हुनुहुन्छ । उहाको पुर्ख्यौली घर सल्यानको खलङ्गामा अबस्थित छ । सल्यानी माटोमा हुर्कदै, खेल्दै मरीचमानको बाल्यकाल सल्यानमै बित्यो । उहाले आफ्नो पढाई सक्काइसकेपछी शिक्षण पेशा अङ्गाल्नु भएको थियो । उहाले त्रिजमावी लुहापिङ्गमा केही बर्ष शिक्षण पेशामा आबद्द हुनुहुन्थ्यो । शिक्षण पेशाबाट राजिनीमा दिएर उहा २०१७ सालदेखि नेपाली राजनीतिमा रही २०३० सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य, २०३८ सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष र २०४३ साल जेठदेखि २०४६ साल चैतसम्म देशकै प्रधानमन्त्री समेत बन्नुभयो ।

उहा यसकारण बिशेष अनी महान हुनुहुन्छ कि ?

बि स २०४५ सालमा भारतले नुन तेल लगायतका अत्यावश्यक वस्तुको आयातमाथि प्रतिबन्ध लगाएको र पारवाहन सन्धी सम्बन्धी विवाद परेका बेला श्रेष्ठले लिएको अडानको निकै प्रशंसा हुने गरेको छ। सूर्यबहादुर थापा भारत मुखी हुनु तथा लोकेन्द्रबहादुर चन्द हल्का मिजासका भएकाले पनि श्री ५ वीरेन्द्रबाट तत्कालिन समयमा नेपाल माथिको भारतको दवाबलाई टक्कर दिने क्षमतावान व्यक्तिको रुपमा प्रधानमन्त्रीको पदभार मरिचमानलाई सिंहलाई प्रदान गरिएको थियो । भारत आफनो हातमाथि पारेर सन्धि गर्न चाहन्थ्यो तर मरिचमानले भारतीय चाहना पूरा हुन दिएनन् । सन्धि नवीकरण हुन नसकेको बहानामा भारतले नेपाल आउने खाद्यान्न, पेट्रोलियम पदार्थ आदि सबैमा रोक लगायो । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ पनि के कम – भारतसंग झुकेर सन्धि गर्नुभन्दा पाकिस्तान, सिंगापुरबाट खाद्यान्न र बङगलादेशबाट हवाईजहाजबाट पेट्रोलियम पदार्थ ल्याएर भारतलाई दबाब दिन थाले । पछि अलि तलमाथि गर्दै सन्धि गर्न भारत बाध्य भयो र नेपालमा आपूर्ति सहज भयो ।

आर्थिक नाकाबन्दीका बेला भारतीय विदेश सचिव एस के सिंह नेपाल आएर नेपाली विदेश सचिव नरेन्द्रबिक्रम शाह समक्ष यस्तो सन्धिको प्रस्ताव ल्याएका थिए जसअनुसार नेपालको आर्थिक नीति, जलस्रोत नीतिलगायत सबै महत्वपूर्ण क्षेत्रमा भारतको नियन्त्रण हुन्थ्यो । सन्धिको मूल आशय नेपाललाई भारतीय प्रभाव क्षेत्रमा राख्नु थियो । तर जवाफमा प्रधानमन्त्री सिंहले एक लाइन भन्नुभयो,‘यो प्रस्तावमा केही कमेन्ट आवश्यक छैन, यो डकुमेन्टमाथि कुनै छलफल हुन सक्दैन । ‘

– मरीचमान सिंह ! एक झुक्दै नझुक्ने नेपालको छोरो। बाचुन्जेल जसले देशलाई मुटुमा अभिलेख गरेर देश र जनहितका लागि समयानुकुल कर्म गरे । जसले बाचुन्जेल देशको विधी नागेर एक रुपैयाँ पनि कमाएनन र कसैले चोर औंला ठड्याउन नसक्ने गरी इमानपुर्वक कर्म गरे । देशै हो मेरो सर्वश्व भनेर जीवनको सम्पूर्ण समय यसैमाथी पोखे । संयोगले उनकै कार्यकालमा राजनितिक व्यवस्था परीबर्तनको आन्दोलन चल्यो । र स्वभाविक नियन्त्रण अनी दमनको दायित्व पुरा गरे । उनीमाथी यो आदेश थियो । उनले कार्यान्व्यन गरेका थिए । समय बित्दै गयो । व्यवस्था परीबर्तन भयो । र परीबर्तित व्यवस्थामा उनी सबैभन्दा अपमानित भए । यसकारण कि उनले जनआन्दोलन २०४६ दमनको आदेश पालना गरेका थिए । जसले आदेश दिए तत्कालिन राजा बिरेन्द्र शाह यो देशका सबभन्दा प्रजातन्त्रवादी राजा भए । जसले आदेश कार्यान्व्यन गराएका थिए मरीचमान सिंह श्रेष्ठ, यो देशमा प्रजातन्त्रको सबभन्दा दुस्ट भए र अपमानीत भए । व्यवस्था परीबर्तन पछीको जिन्दगी त पर्दा बन्द भएपछीको नाटकजस्तो भयो र उनी स्वयम मौन बाचेँ । रहीपनी उनी यसै देशमा थिए र एउटा पुर्वप्रधानमन्त्री घरमा कुखुरा पालेर बसेका थिए । उनमा जिवित देशप्रतीको दायित्वमा खेद थिएन । जीवनको अन्तिम अन्तिम पलतिर पनि देशसँग कसैसँग कुनै दुखेसो या याचना नगरी उनकै इच्छाबमोजिम प्राण उनले यहीदेशबाट छाडेर गए । उनै मरिचमान सिंह श्रेष्ठ जसले जती यो देशको स्वाभिमान र राष्ट्रियताका पक्षमा बलियो प्रयास आजसम्म अर्को कुनै प्रधानमन्त्रीले गरेन भन्दा बर्तमान हास्छ होला तर ईतिहासले भविश्यको एेनामा यस्तै यस्तै देखाएको छ ।

————————————————————————–

– भगवानको जुग
– पृथ्वीनारायण शाहको काल
– राणाकाल
– पञ्चायतकाल

लगाएतका धार्मिक तथा एतिहासिक कालखण्डतिर सल्यान भुमी र सल्यानी एतिहासिक व्यक्तिहरु शान्दार, जवर्जस्त पाराले इतिहासमा दर्ज भएका छन । र त मलाई सल्यानप्रती र सल्यानी भएकोप्रती सच्चिकै गर्वको अनुभुती हुने गर्छ । र त म आफुलाई
‘ TRULY A SALYANI ‘ को रुपमा चित्रित गर्ने गर्दछु ।

धन्यवाद !

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार