• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

प्रदेश ६ मा सांसदलाई नै पानीको समस्या


दिपकजंग शाही
फागुन ११, सुर्खेत ।

डोल्पा प्रदेश सभा (ख) बाट चुनाव जितेका वीरबहादुर शाही अचेल सुर्खेतमा कोठा भाडामा लिएर बस्छन्। पाँच कोठाको फ्ल्याटको मासिक १५ हजार रुपैयाँ भाडा तिर्नुपर्छ।

सुर्खेतका लागि १५ हजार भाडा महंगै हो। धेरै पैसा तिरे पनि सांसद शाहीले मन खोलेर पानी भने खर्च गर्न पाउँदैनन्।

‘सबैतिर पानीको अभाव छ, पुर्‍याइपुर्‍याई चलाउनु पर्छ तैपनि घरबेटीले जति भन्यो त्यति भाडा तिर्नुपरेको छ,’ शाहीले भने, ‘सांसद भनेपछि अरुलाईभन्दा भाडा पनि बढी लिन्छन् जस्तो लाग्छ।’

रुकुम (पश्चिम) की सांसद देवी वलीले खजुरामा कोठा भाडामा लिएकी छन्। खजुरा सुर्खेतको ‘रेसिडेन्सियल एरिया’ हो।

वलीले दुई कोठाको मासिक ६ हजार भाडा तिर्छन्। रुकुममा छिमेकीसमेत रहेका घरबेटीको घर भएकाले उनलाई धेरै कुरा सजिलो भएको छ।

‘उताका छिमेकीको घरमा बस्ने भएकाले अरु त केही समस्या छैन तैपनि पानी त भनेजति हामी पनि चलाउन पाउँदैनौं,’ ओलीले भनिन्।

दैलेख क्षेत्र नं. २ (ख) का सांसद सुशील थापा आफन्तको घरमा बस्छन्। केही वर्षअघि उनी क्याम्पस पढ्न सुर्खेत आएका थिए।

‘हामी पढ्न आउँदा पनि यहाँ पानीकै दुःख हुन्थ्यो, अहिले सांसद बनेर आउँदा पनि त्यो दुःख ज्यूँकात्यूँ रैछ,’ थापाले भने।

वीरेन्द्रनगर उपत्यकामा दैनिक साढे २८ लाख लिटर पानीको अभाव छ। झन्डै १ लाख ५० हजार जनसंख्या भएको सुर्खेतमा दैनिक १ करोड ५० लाख लिटर पानी चाहिन्छ। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अहिले १ करोड २१ लाख ४८ हजार ८० लिटर पानीमात्र वितरण हुन्छ।

झुप्रा, इत्राम, खोर्के, खरिखोला र बोरीखोला मुहानबाट वीरेन्द्रनगरमा पानी आउँछ। संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार केही समयअघि बुलबुलेको मुहानबाट ४ हजार लिटर पानी आपूर्ति हुन्थ्यो तर पछिल्लो समय त्यो बन्द छ।

वीरेन्द्रनगर नगरपालिकास्थित उपत्यकामा पर्ने वडा नं. १ देखि १३ सम्म खानेपानी आपूर्ति गर्दै आएको संस्थाले ३ वर्षभित्र आवश्यक खानेपानीको समस्या समाधान गर्ने जनाएको छ।

त्यसका लागि भेरी नदी र खरीबोरा खोलाको पानी सुर्खेत ल्याउने काम भइरहेको छ।

सरकारले अस्थायी मुकाम तोकेको र प्रदेश ६ को राजधानी हुने लगभग टुंगो भएको सुर्खेतको खानेपानी समस्या समाधान गर्न अब सांसदहरु पनि लाग्ने भएका छन्।

पहिलो पटक माननीय बनेर सुर्खेत झरेका सांसद सुर्खेतलाई व्यवस्थित राजधानी बनाउन सबैभन्दा पहिला खानेपानीको समस्या हल गर्नु पर्नेमा एक मत छन्।

जाजरकोट प्रदेश (ख) का सांसद गणेशप्रसाद सिंह पनि वीरेन्द्रनगरस्थित खजुरामा भाडामा बस्छन्। भनेजति भाडा तिर्दा पनि पानी नपाएपछि प्रदेश सरकारले नै यसको समाधान खोज्नु पर्ने उनलाई लागेको छ।

‘पानीको समस्या मलाई मात्र होइन वीरेन्द्रनगरका आम जनतालाई छ,’ उनले भने, ‘यो समस्या समाधान गर्न प्रदेश सरकार र हामी लाग्नुपर्छ।’
प्रदेश सरकारले सांसदहरुलाई पनि आवासको व्यवस्था गरिदिनु पर्ने शाहीको माग छ।

‘हामी पनि सरकारी मान्छे हौं, जनताले चुनेर पठाएका हुन्, त्यसैले आवासको सुविधा सरकारका तर्फबाट हुनुपर्छ,’ शाहीले भने।

प्रदेश नं. ६ का १० जिल्लाबाट ४० जना प्रदेश सभा सांसद सुर्खेतमा बस्छन्। तीमध्ये केहीका आफ्नै घर छन्, कोही आफन्तको घरमा बस्छन् भने धेरै जना कोठा भाडामा लिएर बसेका छन्।सेतोपाटी

प्रकाशित मिति : २०७४ फाल्गुन ११ गते शुक्रवार