फागुन १२, सुर्खेत ।
प्रदेश नंं. ६ को नाम कर्णाली राखिएकाे छ भने स्थायी राजधानी सुर्खेतलार्इ नै बनाइएकाे छ ।
आज बसेको चौथो प्रदेशसभा बैठकबाट सर्वसम्मत रूपमा यस प्रदेशको नाम कर्णाली प्रदेश तोकिएको हो। संवैधानिक प्रावधानअनुसार प्रदेशसभाको दुई तिहाइ बहुमतले सर्वसम्मत रुपमा प्रदेशको नाम र राजधानी पारित गरेको हो।
प्रदेशको नाम कर्णाली राखियोस्’ भन्ने एमाले सांसद कँडेलको प्रस्तावमाथि कांग्रेसका दीनबन्धु श्रेष्ठले समर्थन गर्दै विकास र समृद्धिका लागि नेतृत्वले अगाडी बढ्नुपर्ने बताए।
माओवादी केन्द्रका सांसद सीता नेपालीले यस क्षेत्रको संरचना विगतमा भेरी–कर्णाली भएपनि राप्ती क्षेत्र समेटिएकाले प्रदेशको नाम कर्णाली हुनुपर्ने बताइन्। प्राकृतिक स्रोत साधनले भरिपुर्ण मानिएको कर्णाली क्षेत्रको विकासका लागि एकजुट भएर बढ्नुपर्ने उनको धारण थियो।
राप्रपाका सांसद शोसीला शाहीले प्रदेशको नाम कर्णाली हुनु यस क्षेत्रको पहिचान भएको भन्दै समर्थन जनाएकी थिइन्।
प्रस्तावमाथि एमालेका सांसद कौशिलावति खत्री, माओवादी सांसद सीता नेपाली, दानसिंह परियारले छलफल गरेका थिए। छलफल पश्चात वैठकमा संवैधानिक प्रावधान र प्रक्रियाअनुसार सहभागि सांसदहरुको मतविभाजन गरिएको थियो। मत विभाजनका क्रममा प्रदेशको नाम कर्णाली प्रदेश समर्थनमा ३७ मत परेको थियो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको दुईतिहाइ बढी बहुमतले समर्थन गरेकाले सभामुख राजबहादुर शाहीले प्रदेशको नाम कर्णाली प्रदेश घोषणा गरेका छन्।
नामाकरण सम्बन्धिको प्रस्ताव मत विभाजनमार्फत पारित गरिएको हो । याे सँगै प्रदेश नम्बर ६ अब कर्णाली प्रदेशमा नामाकरण हुनुका साथै राजधानी सुर्खेत पक्का भएकाे छ ।