• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

बिराटनगर बाट गुण्डा नाइके एलिश पक्राउ


विराटनगर : अपराधिक पृष्टभूमिका गुण्डा नाइके एलिश गुरुङलाई प्रहरीले शुक्रबार राति विराटनगरबाट पक्राउ गरेको छ। व्यापारीमाथि आक्रमण गरेको लगायत विभिन्न अपराधिक घटनामा प्रहरीको खोजी सूचीमा रहेका विराटनगर ११ घर भएका ३८ वर्षीय गुरुङलाई महेन्द्र चोक नजिकै रहेको टेन एलेभेन रेष्टुरेन्टबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए।

बिसीका अनुसार आठ÷दश जना टोले गुण्डा भेला पारेर गुरुङ रेष्टुरेन्ट भित्र मादक पदार्थ सेवन गरिरहेका छन् भन्ने सूचना प्रहरीलाई आएको थियो। त्यस लगत्तै प्रहरी पुगेर उनलाई पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा गुरुङसहित उनका साथमा रहेका युवाले हुलदंगा गर्दै प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए।

‘प्रहरी आएको सूचना पाउन साथ संगै रहेका युवाले गुरुङलाई भगाउने प्रयास गरे,’ उनले भने, ‘भाग्न खोज्दै गर्दा नियन्त्रणमा लिन चारैतिरबाट घेरा हालेपछि प्रहरीमाथि पनि आक्रमणको प्रयास भयो।’ पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान सुरु भएको बिसीले बताए।

विराटनगरका पेट्रोलियम एवम् तरकारी व्यवसायी ४९ वर्षीय पशुपति भगतमाथि गत माघ ५ गते राति भएको आक्रमणको मुख्य योजनाकारका रुपमा प्रहरीले विशेष गरेर उनको खोजी गरिरहेको थियो। घटनाको योजना बनाएर उनी फरार भएका कारण तत्काल पक्राउ गर्न नसकिएको प्रहरीले बताउँदै आएको थियो।

घटनामा संलग्न विराटनगर १० का ३२ वर्षीय मोहम्मद सिद्धिकीलाई भने पक्राउ गरेर प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा चलाइसकेको छ। सिद्धिकी यस अघि नै अदालतले मागेको ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन्। गुरुङ भने अहिलेसम्म फरार थिए। गुरुङले योजना बनाउने र सिद्धिकीले काम गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

व्यवसायी भगतमाथि खुकुरी प्रहार गरिएको थियो। उनको देब्रे घुँडाको हड्डी आधा काटिएको थियो। देव्रे हात, ढाड तथा शरीरका विभिन्न भागमा पनि खुकुरीले काटेको चोट थियो। भगतको हड्डीको शल्यक्रिया नै गर्नु परेको थियो। उपचारमा संलग्न चिकित्सकले केही समय आराम गर्नु पर्ने सुझाव दिएपछि उनलाई अस्पतालले डिस्चार्ज दिइसकेको छ। अहिले उनी घरमै आराम गरिरहेका छन्।भगत बिरानगर बसर्पाकको अन्नपूर्ण सप्लायर्स पेट्रोल पम्पका सञ्चालक हुन् भने आलु, प्याज र लसुनका थोक विक्रेता पनि हुन् ।

लामो समयदेखि राजनैतिक छत्रछाँयामा असूली, ठेक्कापट्टा र गुण्डागर्दी गर्दै आएका गुरुङको योजनामा विराटनगरमा यस अघि पनि व्यावसायी, राजनीतिकर्मी र सर्वसाधारणमाथि काटमारका आधा दर्जन बढी घटना भइसकेको प्रहरीले जनाएको छ । यस अघि उनीविरुद्ध चारवटा मुद्धा दर्ता भइसकेका छन् ।

एसपी बिसीका अनुसार व्यवसायी एवं सर्वसाधारणमाथि धम्क्याउने, थर्काउने, तर्साउने र असूली गर्ने धन्दामा १० वर्ष भन्दा अघिदेखि गुरुङको संलग्नता रहेको पाइएको छ । उनका अनुसार व्यवसायी भगतमाथि आक्रमण गरिएको घटनामा संलग्न विरुद्ध चलाइएको ज्यान मार्ने उद्योगको मुद्धा फिर्ता लिन पनि भगत र उनका परिवारमाथि बारम्बार धम्की दिने काम गुरुङले गरिरहेका थिए ।

‘गुण्डागर्दीका माध्यमबाट अपराधलाई पेशा बनाएका गुरुङलाई पक्राउ गर्न ढिलै भए पनि प्रहरी सफल भयो,’ बिसीले भने, ‘गुरुङ नेत्रृत्वको गुण्डा समूहले ज्यान मार्ने उद्योगको मुद्धा फिर्ता नलिएमा व्यवसायी भगतका छोरा विवेकलाई पनि बाबुको जस्तै हालत बनाइदिने भन्दै धम्की दिइरहँदा रहेछन् ।’ बारम्बार आउने गरेको धम्कीका कारण आफूहरु असुरक्षित बनेको गुनासो भगत परिवारको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार