वासिङ्गटन डिसी:अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), डिसी मेट्रो च्याप्टरले गत वर्षको डिसेम्बर देखि शुरु गरेको ‘वासिङ्गटन डिसी साहित्य संगम’ कार्यक्रमको तेश्रो श्रृङ्खला फेब्रुअरी २४ आइतबारका दिन भर्जिनियाको मनाससमा सम्पन्न भयो।
नेपाली साहित्यका वरिष्ठ साहित्यकार स्व।मनु ब्राजाकी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरि शुरु गरिएको सो कार्यक्रममा अमेरिका नेपाल समाज (एएन्एस्) अध्यक्ष प्रभा देउजा, अमेरिका नेपाल सहयोगी समाजको अध्यक्ष कमला खरेल, हास्य कलाकार मनोज आचार्य (खुराफाती हाकिम) तथा पुस्कर पन्तलाई सम्मान गरिएको थियो।
विशेष गरि डिसी मेट्रो क्षेत्र भित्र रहेका दोश्रो पुस्ताका नेपाली युवा तथा वालवालिकाहरुलाई नेपाली भाषा साहित्यप्रतिको लगावमा बढोत्तरी ल्याउन र कविता बाचन मार्फत सवै उमेर समूहका नेपालीहरुमा साहित्य प्रति रुचि जगाउने उद्धेश्यले सञ्चालन गरिएको सो साहित्य संगम कार्यक्रममा करिब ३० जना कविहरुले कविता वाचन गरेका थिए। छन्द, गद्य, हांस्यव्यङ्ग कविताको साथमा मुक्तक, गजलहरु बाचन गरिएको थियो। साथमा गीत तथा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो भने जापानिज नागरिक मिचिगोले जापनिज भाषामा गीत गाएकी थिइन्।
सोहि कार्यक्रममा पुस्कर पन्तद्धारा लेखिएको ‘नेपाल देखि अमेरिकासम्म’ नामको कविता संग्रह संस्थाका अध्यक्ष रामप्रसाद खनाल, अनेसासका सचिव प्रकाश नेपाल, हास्य कलाकार मनोज आचार्य लगायत अतिथिहरुले संयुक्तरुपमा विमोचन गरेका थिए।
‘अमेरिका बसे पनि नेपालको माया रहिरहन्छ। नेपालमा भएका विकृतीहरु र अमेरिका बसाईको अनुभवलाई हास्य रसमा कविता मार्फत व्यक्त गर्ने कोशिस गरेर यो पुस्तक तयार पारेको छु ।’ पन्तले भने।
पुस्तक विमोचन पश्चात बोल्दै अमेरिका बस्दाको भोगाईलाई कविताको माध्यमबाट व्यक्त गर्ने सिलसिलामा रचिएका कविताहरुको संगालोकोरुपमा ‘नेपाल देखि अमेरिकासम्म’ को पुस्तक तयार भएको पन्तले बताए।
पुस्कर पन्त अभिनय क्षेत्रमा विशेष गरि हाँस्यव्यङ्ग विधाका कलाकार हुन्। विगत २५ देखि नेपाली कला क्षेत्रमा संलग्न छन्। तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क जस्ता चर्चित नेपाली हाँस्य श्रृङ्खलाहरुमा अभिनय गरेका पन्तले नेपाली चलचित्र ‘ठूली’ निर्माण गरेका थिए।
अमेरिकाको व्यस्त जीवनशैली बिताउँदै गर्दा रहर भएर पनि कलाकारितामा पूर्णरुपले लाग्न नसकेको तर यहि रहर पुरा गर्न हालै नेपालको छोटो बसाईको समयमा आफैंले लेखेको गीतमा मोडलिङ्ग पनि गरेका थिए। कार्यक्रममा उनले लेखेको र अभिनय गरेको ‘पोखरा पोखरा’ बोलको गीतमा तयार गरिएको म्यूजिक भिडियो समेत प्रस्तुत गरिएको थियो।
यसैगरि सोहि कार्यक्रममा अमेरिकामा हुर्कि बढेका नेपाली युवा पुस्ताहरुलाई नेपाली भाषा, साहित्य तथा संस्कृतिको महत्व बुझाउने उद्येश्यले डा. होमबहादुर थापाले ‘नेपाली भाषा, साहित्य र संस्कृतिको महत्व/अन्तरसम्वन्ध’ विषयमा प्रस्तुती दिएका थिए।