फागुन १६, काठमाडौं ।
हामीले नेपालका चिकित्सक र पाईलट नक्कली भएको समाचार प्रकाशन गरेका थियौँ । त्यो सत्य थियो । त्यसपछि यहाँ सक्कली भन्ने केही छैन । शिक्षक नक्कली, व्यपारी, वकिल, डाक्टर, पाईलट, प्रहरी सबै नक्कली भन्ने समाचार त आइरहेका थिए । अब प्रतिनिधि सभा सदस्य अर्थात सांसदपनि नक्कली भएका छन् । त्यो पनि जेष्ठ सदस्य नै नक्कली । तर वैधानीक रुपमा भने हैन । व्यवहारिक रुपमा भने उनी नक्कली हुन् भन्न सकिन्छ ।
बुधवार संघीय संसद सचिवालयले आयोजना गरेको सर्वदलीय बैठकको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा राजपाका नेता महिन्द्र यादवले गरेका थिए । यादवको वास्तविक उमेर ६३ वर्ष हो । तर, उनले ८० वर्षको हैसियतमा ज्येष्ठ सदस्यको मान्यता पाए । अब उनैले सांसदहरुलाई सपथ ग्रहण गराउनेछन् ।
६३ वर्षीय महिन्द्रप्रसाद यादवको उमेर कसरी ८० वर्ष भयो ? कसरी जेष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभाका १६४ सांसदलाई सपथग्रहण गराउने अवसर पाए ? यो प्रश्नको उत्तरमा उनले दिएको जवाफ छ– ‘हाम्रो त भाग्यमात्र होइन, उमेर पनि अरुकै निगाहमा पाइने रहेछ ।’ उनका अनुसार उनको उमेर बढाएर नागरिकता बनाइएको पाइएको छ । नागरिकतामा ८० बर्ष भएकै कारण प्रतिनिधि सभा सचिवालयले उनलाई जेष्ठ सदस्यको हैसियत दिएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम नतिजा आइसकेपछि हामीले सबै सांसदको उमेर खोज्दा सबैभन्दा जेठा सांसद राजपाकै महन्थ ठाकुर र कांग्रेस सभापति शेरवहादुर देउवा देखिएका थिए । ठाकुरको उमेर ७५ र देउवाको ७४ वर्ष संसद सचिवालयको रेकर्डमा देखिन्छ । तर, संसद सचिवालयले राजपाका महिन्द्र यादवको उमेर ८० वर्ष रहेकाले जेष्ठ सदस्यका हैसियतमा उनले सभामुखको भूमिका निर्वाह गर्ने सूचना सार्वजनिक गरेपछि राजपाकै नेताहरु पनि चकित परे । उनलाई राजपा नेताहरुले वास्तविकता सोधे । किनकि राजपा अध्यक्ष मण्डलका ५ नेतामध्ये सबैभन्दा जेठा महन्थ ठाकुर हुन् भन्ने सबैलाई थाहा छ ।
राजपा नेताहरुको अनौपचारिक बैठकमा यादवले बताएअनुसार उनको जन्म विसं। २०११ साल असार १५ गते भएको हो । तर, नागरिकता बनाउने बेला १७ वर्ष बढाएर बनाइदिएका कारण उनी ८० वर्षका हुन पुगेका छन् । उनको नागरिकताको जन्ममिति विक्रम संवत १९९६ कायम गरिएको छ । नागरिकताको गडबडीका कारण उनीभन्दा जेठा दर्जनौं सांसदलाई सपथग्रहण गराउने भाग्य पाएका हुन् ।
साविक बसन्तपुर ५, सर्लाहीमा जन्मिएका महिन्द्र यादवका दाजु पञ्चायतकालमा जिल्ला पञ्चायतका सदस्य थिए । गाउँका ठालू भएका कारण सरकारी कर्मचारीहरु उनको घरमै आउँथे । त्यही मेसोमा अग्लो कदका किशोर महिन्द्र यादवको नागरिकता बनाउँदा उमेर बढाइएको पारिवारिक स्रोतले जनाएको छ ।
यद्यपि कतिपयले भने २०२२ सालमा तत्कालिन राजा महेन्द्रले भूमिसुधार नीति लागु गरेर हदबन्दीभन्दा बढी जग्गा जफत गर्न लागेपछि ११ वर्षीय महिन्द्र यादवको उमेर बढाएर नागरिकता बनाई उनका नाममा जग्गा नामसारी गरेको चर्चा पनि चलाएका छन् । तर, यो दाबीलाई भने महिन्द्रले अश्वीकार गरे ।
दौरा सुरुवाल नै किन लगाउने ?
बुधवार संसद भवनमा आयोजित सर्वदलीय बैठकमा जेष्ठ सदस्यको हैसियतले अध्यक्षता गरेका यादव कुर्ता पाइजामा र कोट लगाएर गएका थिए । संसद सचिवालयका कर्मचारी र अन्य दलका नेताले सभामुखको आसनमा बस्दा दौरा सुरुवाल लगाउनुपर्ने बताए ।
जेष्ठ सदस्य यादवले भने दौरा सुरुवालप्रति अरुची देखाएको बैठकमा एक सहभागीले बताए । ‘सभामुखको आसनमा बस्दा चाहिँ दौरा सुरुवाल लगाउनुपर्छ यो परम्परा पनि हो भन्दा उहाँले किन लाउने भनेर प्रश्न गर्नुभयो’ बैठकका एक सहभागीले बताए ।
त्यस्तै सभामुखले नेपाली भाषामै बैठक सञ्चालन गर्नुपर्छ भन्दा पनि उनले किन नेपालीमै बोल्ने ? भन्ने शैलीमा प्रश्न गरेको स्रोतले जनाएको छ ।
मधेसवादी दलको बहुमत रहेको प्रदेश २ को प्रदेशसभा बैठकमा समेत सांसदहरुले मैथिली, हिन्दी र भोजपुरीमा भाषण गरे पनि सभामुखको आसनबाट जेष्ठ सदस्य लगनलाल चौधरीले नेपालीमै बैठक सञ्चालन गरेको उदाहरण समेत दिइएको छ । अहिले पनि सभामुख सरोजकुमार यादवले नेपालीमै बैठक सञ्चालन गर्ने गरेका छन् । अनलाइन खबर