निमुसंगम घर्ती
फागुन १८, दाङ ।
दाङमा दैनिक सवारी दुर्घटना हुदै आएको छ । बढ्दो शहरीकरण, गाडीको संख्यामा बृद्धी, साँघुरीदै गएका सडक र चालकको लापर्वाहीका कारण जिल्लामा दैनिकजसो सवारी दुर्घटना हुदा व्यक्तिको अकालमै ज्यान गैरहेको छ । देशकै सबैभन्दा धेरै सवारी दुर्घटना हुने जिल्लाकारुपमा पनि दाङ अग्रस्थानमै पर्ने गरेको ट्राफिक प्रहरी बताउछ ।
बर्षेनी जिल्लामा सवारी दुर्घटना बढ्दै जाँदा त्यसबाट निम्तने क्षति पनि बढिरहेको छ । वितेको साढे ४ बर्षको तथ्यांकलाई हेर्दा दाङमा सवारी दुर्घटनामा परेर झण्डै ३ सय ३० जना व्यक्तिले अकालमै ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७०÷२०७१ देखी चालु आर्थिक बर्षको माघ मसान्त सम्म ८ सय १७ वटा सवारी दुर्घटना हुदा ३ सय २६ जनाले ज्यान गुमाएका छन् ।
आर्थिक बर्ष २०७०÷२०७१ मा २ सय ११ वटा सवारीका साधन दुर्घटना हुदा ७४ जनाको मृत्यु र ३ सय १४ जना घाईते भएका थिए । त्यस्तै आर्थिक बर्ष २०७१÷२०७२ मा १ सय ६९ वटा सवारी दुर्घटनामा पर्दा ५४ जनाको मृत्यु र १ सय ८१ जना घाईते भएका थिए । आर्थिक बर्ष २०७२÷२०७३ मा १ सय ४८ वटा गाडी दुर्घटनामा पर्दा ७१ जनाको मृत्यु र २ सय ४४ जना घाईते भएका थिए ।
त्यसैगरी, आर्थिक बर्ष २०७३÷२०७४ मा १ सय ७२ वटा सवारीका साधन दुर्घटना हुदा ७७ जनाको मृत्यु र २ सय २१ जना घाईते भएको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । यसैगरी चालु आर्थिक बर्षको माघ मसान्त सम्म १ सय १७ वटा सवारीका साधन दुर्घटनामा परेका छन् ।
उक्त दुर्घटनामा परि ५० जनाको मृत्युभएको छ भने १ सय ६४ जना घाईते भएको ट्राफिक प्रहरी कार्यालयका जवान लालबहादुर देउवाले जानकारी दिनुभएको छ । साढे ४ बर्षमा २ सय २९ जना पुरुष, ४५ महिला, ३४ बालक र १८ बालिकाले अकालमै ज्यान गुमाएका छन् भने १ हजार १ सय २४ जना घाईते भएका छन् ।
मोटरसाईकल दुर्घटना धेरै
दैनिक हुने यी सवारी दुर्घटनामा सबै भन्दा धेरै मोटरसाईकल रहेका छन् । साढे ४ बर्षको अबधीमा भएका ८ सय १७ सवारी दुर्घटनामा ३ सय ७० वटा मोटरसाईकल मात्रै दुर्घटनामा परेका छन् । त्यसपछि बस दुर्घटनामा परेको छ । बसको संख्या १ सय ३१, ट्रक १ सय ७, जिपकार ९६, टेक्टर ८१, टेम्पो ६ र अन्य १६ वटा सवारीका साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा परेर मृत्युहुनेको संख्या पनि मोटरसाईकलकै चालक धेरै छन् ।
किन बढ्छ दुर्घटना ?
सवारी साधन र यात्रुहरुको व्यवस्थापन तथा नियमनको जिम्मा पाएको ट्राफिक प्रहरीले अधिकांक चालकको लापर्वाहीका कारण सवारी दुर्घटना हुने गरेको निष्कर्ष निकालेको छ । सडक तथा गाडीको संरचनामा कमजोरी भए पनि चालकहरुको लापर्वाहीका कारण धेरै दुर्घटनाहरु निम्तने गरेको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले जानकारी दिए ।
दुर्घटना हुनुको प्रमुख कारण चालकको लापर्वाही हो वाग्लेले भन्नुभयो,—चालकले गम्भिर र होसीयारीका साथ गाडी चलायो भने दुर्घटना निकै थोरै हुन्छ तर यहाँ नियमको पालनाको बिपरिच चल्दा उनिहरुले नै दुर्घटना निम्त्याएका छन् । त्यसैगरी, सडकको अबस्था कमजोर, गाडीको अबस्था पुरानो हुनु, सडक साँघुरो बन्दै जानु र नियमको पालनामा यात्रु तथा चालकले ध्यान नदिदा दुर्घटनाहरु भैरहेको उहाँको भनाई छ ।