फागुन १८, रौतहट ।
रौतहटका मुसहर समुदायका परिवारसंग हाँस्य कलाकार दम्पत्ति सिताराम कट्टेल “धुर्मुस ” र कुन्जना घिमिरे “सुन्तली” ले फागु पर्व मनाएका छन् । चन्द्रपुर नगरपालिका ८ स्थित एकीकृत नुमना वस्ती सन्तपुरमा रहेका मुसहर समुदायसंग शुक्रबार दिउसो उनीहरुले फागु पर्व मनाएका हुन् ।
नमुना वस्तीमा रहेका बालबालिका, युवायुवती र बृद्धबृद्धासंग नाचगान र एक आपसमा रङ दलेर कलाकार “धुर्मुस” र “सुन्तली”ले होली पर्व मनाएका हुन् । मुसहर समुदायमा यसअघिको होली पर्वमा रौनक नहुने गरेको बताउदै यस पटक रमाईलोसंग होली मनाईएको एकीकृत नुमना वस्तीका अगुवा सत्यनारायण माझी बताउछन् ।
यस अघि दलित वस्तीमा होली पर्व मनाउन कोहि नआउने गरेको गुनासो गर्दै पहिलो पटक यस समुदाय होलीले खुसी ल्याएको उनको भनाई छ । पहिलो पटक सन्तपुर नमुना वस्तीमा फागु पर्व मनाउन पाउँदा हर्षित भएको कलाकार तथा धुर्मुस सुन्तली फाउण्डेशनका उपाध्यक्ष कुन्जना घिमिरेले बताए । मुसहर समुदायका बसिन्दामा पनि फागुको रंग जस्तै रंगिन जिन्दगीको कामना समेत घिमिर बतार्इन् ।
फागु पर्वलाई मित्रता, आत्मियता, सामिप्यता र सद्भाव दर्शाउने पर्वको रुपमा लिईन्छ । नमुना वस्ती तथा अभियानमा साथ दिने सहयोगी दाताहरुसंग फागु पर्वका अवसरमा रम्न र रमाउन आएको कलाकाल एवं धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसको भनाई छ ।
करिब ३ सय जनसंख्या रहेको मुसहर बस्तीका लागि धुर्मुस र सुन्तलीले ४७ घर निर्माण गरेका छन् । महोतरीको बर्दिवासमा रहेको नमुना बस्तीमा होली मनाएपछि दुवै जना रौतहट आएका हुन् । मनोज साह र दीपेश पौडेल /News24Nepal.TV