• २०७७ मङ्सिर १७ गते बुधवार
  • Preeti To Unicode

दाङमा एक दर्जनभन्दा बढी स्थान ‘दुर्घटनाग्रस्त क्षेत्र’


फागुन १९, दाङ  ।

सवारी दुर्घटना बढेपछि जिल्लाका एक दर्जनभन्दा बढी स्थानलाई दुर्घटनाग्रस्त क्षेत्र घोषणा गरिएको छ।

जिल्लामा चार वर्षको तथ्याङ्कको आधारमा बढी दुर्घटना भएका क्षेत्रलाई दुर्घटनाग्रस्त क्षेत्र घोषणा गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए। वाग्लेका अनुसार घोराही तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर–७ पर्सेनीचोक, नारायणपुरस्थित झारबैराचोक,कपासीस्थित कोइलाखानीलाई दुर्घटनाग्रस्त क्षेत्र घोषणा गरिएको छ। त्यस्तै राप्ती राजमार्गअन्तर्गत तुलसीपुर , अमिलिया सडक खण्डमा विभिन्न स्थानमा दुर्घटनाग्रस्त क्षेत्रको संकेत बोर्ड राखिएको ट्राफिक प्रहरी प्रमुख वाग्लेले जानकारी दिए।

यस्तै राप्ती राजमार्गअन्तर्गत सल्यान , तुलसीपुर रोड अन्तर्गत गोठिखोलादेखि राम्रीसम्म तीन स्थानमा र लमही, घोराही सडकअन्तर्गत मसोट खोलाको उकालोको दोस्रो घुम्ती, धानखोला मोड, बेलदमार चिसापानी र कालाकाटे अगाडिको क्षेत्रलाई दुर्घटनाग्रस्त घोषणा गरिएको छ। तुलसीपुर क्षेत्रदेखि पश्चिम क्षेत्रमा भने दुर्घटना क्षेत्र घोषणा नगरिएको प्रहरीको भनाइ छ। पश्चिम क्षेत्रमा सडकका कारण नभई सवारी चालकको लापरवाहीले दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी वाग्लेले जानकारी दिए।

दाङमा ०७०\७१ साल देखि चालु आर्थिक वर्ष ०७४ माघ महिनामा विभिन्न सवारी दुर्घटनामा ३ सय २६ जनाले ज्यान गएको छ। चार वर्षको अवधिमा तीन सय ७० मोटसाइकल, एक सय ३१ बस, एक सय सात ट्रक, ९६ जीप कार , ८१ ट्रयाक्टर र ६ टेम्पो दुर्घटना भएका थिए। त्यस्तै चालु आर्थिक वर्षको माघ मसान्तसम्म एक सय १७ सवारी दुर्घटना हुदा ५० जनाको मृत्यु र एक सय ६४ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयका जवान लालबहादुर देउवाले जानकारी दिए। थाहा खबर

प्रकाशित मिति : २०७४ फाल्गुन १९ गते शनिवार