• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

फागुन ३० सम्मको संघीय संसदको कार्यसूचि तयार, २७ गते प्रधानमन्त्री अाेलीकाे यस्ताे दिन


फागुन २०, काठमाडौं ।

ठमाडौ– संसद सचिवालयले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग संयुक्त छलफलमार्फत आगामी फागुन ३० गतेसम्मको संसदको कार्यसूचि तयार गरेको छ । आइतबार राष्ट्रिय मान्यताप्राप्त पाँच दलका नेताहरुसँग छलफल गरेर सचिवालयले कार्यसूचि तय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले दलहरुसँगको छलफलबाट आगामी फागुन ३० गतेसम्मको कार्यसूचि तयार पारिएको बताए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । आजको बैठकमा सो मितिमा सहमति भएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान संविधानको धारा ७६(४)मा व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष तथा प्रतिनिधिसमाभा नवनिर्वाचित सदस्य ओलीलाई यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

बैठकले दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचनको तालिकासमेत स्वीकृत गरेको प्रवक्ता डा गौतमले बताए । निर्वाचन तालिकानुसार सभामुखको निर्वाचन फागुन २६, राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन ३०, उपसभामुखको निर्वाचन आगामी चैत २ र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत ४ गतेका लागि निर्धारण भएको छ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बैठकमा संघीय संसद् सञ्चालनका लागि तत्काल आवश्यक पर्ने अन्तरिम कार्यविधिलाई सामान्य संशोधनसहित फागुन २१ को पहिलो बैठकमा प्रस्तुत गरिने र सोमबार नै पारित गरिने सहमति भएको उनले बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन २० गते आइतवार