• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

कर्णाली प्रदेशकाे कार्यवाहक मुख्यमन्त्री भएकै दिन ज्वालाले गरे ६ अाेटा यस्ता निर्णयहरु


फागुन २०, सुर्खेत ।

कर्णाली प्रदेशको कार्यवाहक मुख्यमन्त्री भएकै दिन प्रकाश ज्वाला मन्त्रिपरिषद् बैठक राखी ६ वटा निर्णय गरेका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री ज्वालालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएर मुख्यमन्त्री महेन्द्रबहादुर शाही काठमाडौं गएका छन्। कार्यवाहकको जिम्मेवारी सम्हालेको पहिलो दिन सोमबार नै ज्वालाले मन्त्रिपरिषदको बैठक राखी विभिन्न ६ बुँदे निर्णय गराएका हुन्।

बैठकले प्रदेशको कार्य सञ्चालन विधि र खर्च मितव्ययिता सम्बन्धी मापदण्ड तथा आचारसंहिता तयार गरी फागुन २४ गतेभित्र प्रतिवेदन पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ।

ऐन नियम वा कार्यविधि तथा मार्ग निर्देशिका नबनेसम्म केन्द्र सरकारको मापदण्ड अनुसार कार्यान्वयन गर्ने, कार्यालय व्यवस्थापनका लागि कर्णाली प्रदेश अन्तर्गत प्रदेशसभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय र सबै मन्त्रालयले न्यूनतम आधारभूत आवश्यकताको विवरण तयार गरी २ दिनभित्र विवरण पठाउन अनुरोध गरिने निर्णय गरेको छ।

यसैगरी शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय सुर्खेतले केन्द्र सरकारबाट प्रदेश मन्त्रालयको कार्यालय व्यवस्थापनका लागि प्राप्त अख्तियारी बमोजिम हालसम्म कर्णाली प्रदेश अन्तरगतका प्रदेश सभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय र सबै मन्त्रालयहरुको लागि कार्यालय व्यवस्थापनका लागि जिन्सि खरिद, मर्मत सम्भार लगायतमा भए–गरेका कार्यालयगत खर्च तथा कार्यको विवरण खुलाई ३ दिनभित्र मन्त्रालयमा पठाउन अनुरोध गर्ने निर्णय पनि गरेको छ।

बैठकले प्रदेश सरकारको श्वेतपत्र तयार गर्न आवश्यक तथ्यांकहरु आवश्यक पर्ने ढाँचामा उपलब्ध गराउन सबै मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ भने बजेट तयार गर्न सबै मन्त्रालयको नीति तथा कार्यक्रम आवश्यक पर्ने भएकाले मन्त्रालयहरुसँग आआफ्नो नीति तथा कार्यक्रमको संक्षिप्त विवरण पेश गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित मिति : २०७४ फाल्गुन २० गते आइतवार