• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

चुनावमा काँग्रेस हारेपछि देउवा झन् शक्तिशाली, रामचन्द्र गुट यस्ताे बन्दै


फागुन २१, काठमाडौं । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मा लिँदै सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज कांग्रेसमा उठिरहेको समयमा शेरबहादुर देउवा झन शक्तिशाली बनेका छन् ।

सोमवार(आज) सम्पन्न संसदीय दलको नेताको चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार प्रकाशमान सिंहलाई दोब्बर भन्दा बढी मतअन्तरले पराजित गर्दै देउवा विजयी भए । देउवाले ४४ मत पाउँदा प्रकाशमानले जम्मा १९ भोट मात्र पाए ।

संसदीय दलको नेता चयनको चुनावमा पौडेल पक्षका सांसदले समेत प्रकाशमानलाई भोट नहालेको संसदीय दलको कार्यालयमा गाइगुइ सुनियो । संसदीय दलको चुनावमा पौडेल समूहको निरीहताले कांग्रेसमा नेतृत्व परिवर्तनको बहस झन् शिथिल बन्ने देखिएको छ ।

महामन्त्री डा. शशांक कोइराला दलको नेताका लागि उम्मेदवार नबनेपछि प्रकाशमान सिंहले उम्मेदवारी दिएका थिए । प्रकाशमानको उम्मेदवारी सांकेतिक मात्र देखिएन, पौडेल समूहलाई कमजोर देखाउने अस्त्र बन्यो ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा नराम्रोसँग हार व्यहोरेको कांग्रेसमा पुनर्जागरण र नेतृत्व परिवर्तनबारे वहसको आवश्यकता रहेको दोस्रो र युवा पुस्ताका नेता कार्यकताले तर्क पेश गर्ने गरेका भएपनि विजयी सांसदले भने देउवालाई ‘सफल’ भएको प्रमाणपत्र संसदीय दलको नेताको रुपमा विजयी गराएर दिएका छन् ।

महाधिवेश सकिएको दुई वर्ष हुँदा पनि केन्द्रीय समितिलाई पूर्णता दिन देउवाले सकेका छैनन् । उनले महामन्त्री लगायतका पदमा देउवाले गुटका कारण कसैलाई मनोनयन गर्न सकेका थिएन् । तर संसदीय दलको नेतामा समेत निर्वाचित भएपछि उनलाई पार्टी व्यवस्थापन गर्न सहज हुने छ ।

‘मेरा कारणले(सभापतिका कारणले) नभई आफ्नै कारण चुनावमा हारेको जवाफ दिने पार्टी सभापतिबाट हारपछिको कांग्रेसमा पुनर्जागरण, संगठन सुदृढीकरण हुन्छ या हुन्न त्यो वहसको विषय नै रहेन छ ।
देउवा संसदीय दलको नेतृत्वमा निर्वाचित भएपछि रचनात्मक, शसक्त प्रतिपक्ष वा कांग्रेसले भनेको जस्तो ‘छाँया सरकार’ प्रभावकारी नहुने कतिपय कांग्रेसी नेताको बुझाइ छ ।

कोइराला परिवारको नयाँ गुट ?
कांग्रेसमा कोइराला परिवारको नयाँ गुट बन्दै छ । आशन्न महाधिवेशनमा नेतृत्व लिनका लागि कोइराला परिवारले कसरत गरिरहेको छ ।

त्यसकै प्रयास स्वरुप महामन्त्री शशांक कोइरालले आफू सर्वसम्मत संसदीय दलको नेता बन्न प्रयास नगरेका होइनन् । सवै नेतालाई ‘लञ्च’ पार्टी दिएर उनले आकांक्षा व्यक्त गरेका थिए तर देउवा पछि नहट्ने र पराजित हुने अवस्था देखिएपछि उनी केही व्याक भएका छन् तर पार्टी गुट बनाउने र कोइराला विरासतलाई स्थापित गर्ने काममा उनी क्रियाशिल छन् ।

वीपी, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको बेलाका भएका चुनावमा कांग्रेको अवस्था राम्रो रहेपनि पछिल्लो अवस्थामा कांग्रेको अवस्था खराब भएको भन्दै कतिपयले कांग्रेसलाई शक्तिशाली बनाउन कोइराला परिवारको ‘आशिर्वाद’ को पर्खाइमा छन् ।
प्रतिनिधि सभाको चुनावमा पार्टीको पराजयसँगै केही युवा नेताले नेतृत्व परिवर्तनको वहस शुरु गरेका थिए । तर देउवा पार्टीभित्रको गुटमा झन् शक्तिशाली देखिए ।

दलको नेतामा विजयी भएसँगै देउवा प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेता समेत भएका छन् ।
प्रतिपक्षी दलको नेता संवैधानिक पद पनि हो । संवैधानिक परिषद्को सदस्यको रुपमा उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारका निर्णयहरुमा अबरोध गर्न सक्छन् । लाेकान्तरबाट

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार