• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

जेलभित्रबाट रेशम चौधरीले भने- एउटै राज्यमा कानून विभेद, यस्ताे गरे मनै छुने कुरा


फागुन २१, धनगढी ।

टीकापुर घटनाका आरोपित रेशम चौधरीलगायतको आमरण अनशन आज पनि जारी रहेको छ ।

टीकापुर घटनाका आरोपितहरुले तीन बुँदे माग राख्दै आइतवार साँझदेखि आमरण अनशन थालेका थिए । माग सम्बोधन नभएसम्म आफुहरुको अनशन जारी रहने उनीहरुको भनाइ छ ।

अनशनमा रहेका थुनुवा विश्राम चौधरीले सांसद रेशम चौधरीलाई प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, २६ जनामाथि लगाइएको मुद्धा फिर्ता गरिनुपर्ने र थरुहट आन्दोलन सम्बोधन नगरिएसम्म अनशन जारी रहने बताए ।

उनीहरुले एउटै राज्यमा पनि कानूनी रुपमा विभेद भैरहेको दावी गरेका छन् । थुनामा रहेका थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीले संविधानको धारा १८ मा सबै नागरिक कानूनको दृष्टिमा समान रहने भनिएको र धारा २० को उपधारा ५ मा कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसूरदार मानिने छैन, भनिएपनि आफूहरुमाथि आपराधीको जस्तो व्यवहार भैरहेको दुखोसो सुनाए । आफूहरुलाई ३० महिनादेखि हालसम्म पुर्पक्षमै राखिएको बताउँदै उनले आफूहरुको माग सम्बोधन नभएसम्म कुनैपनि हालतमा सामाजिक सद्भाव कायम नहुने ठोकुवा गरे ।

त्यस्तै, सांसद रेशम चौधरीले जेलभित्रैपनि आफुलाई विभिन्न किसिमको यातना दिदै आएको बताए । ‘राती सुतेपछि वाहिरबाट ढोका बन्द गरिदिने, कडा निगरानीमा राख्ने, भेटघाटमा कडाई गर्ने काम भैरहेको छ,’ सञ्चारकर्मीहरु संग उनले भने, ‘वास्तवमा राज्यले हामीलाई हदैसम्मको कानूनी विभेद गरिरहेको छ । नवराज सिलवाल, ववन सिंह, केपी ओली, प्रचण्ड, यहाँ कसलाई मुद्धा लागेको थिएन र ? तर हामीलाई गरिने व्यवहार फरक छ । राज्यले हामीलाई मरेकै देख्न चाहान्छ भने हामी अनशनमै मरेर देखाउँछौ ।’
फागुन २० गते सांसद चौधरीलाई शपथ ग्रहणमा सहभागी नगराएपछि थुनुवाहरु जेलभित्रै असशनमा बसेका हुन् । करिब ३० महिनासम्म फरार रहेका उनी फागुन १४ गते जिल्ला अदालत कैलालीमा उपस्थित भए । त्यहि दिन अदालतले उनलाई पुर्पक्षमा राख्न आदेश दियो ।

घटनाका २६ आरोपीमध्ये कैलाली कारागारमा रहेका २४ जना अनशनमा बसेका छन् । भने दुई जना नाबालक पोखरास्थित बालसुधार गृहमा रहेका छन् ।

कैलाली–कञ्चनपुरमामा जारी परस्पर विरोधी अखण्ड सुदूरपश्चिम र थरुहट÷थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुर घटना घटेको थियो । घटनामा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान गएको थियो । घटनाको भोलिपल्ट भदौ ८ गते कर्फ्यू जारी रहेकै अवस्थामा थारुहरुको घर, पसल, एफएमलगायतमा आगजनी भएको थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन २१ गते सोमवार