फागुन २२, काठमाडौं ।
नेपाल भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
औपचारिक दुईदिने नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री अब्बासी र प्रचण्ड बीच आज बिहान भेटवार्ता भएको हाे। होटेल हायातमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको छ।
करिब ४५ मिनेट भएको भेटमा आर्थिक एवं व्यापारका विषयलाई सुदृढ गरेर लैजाने विषयमा विचारविमर्श भएको प्रचण्डले पत्रकारलाई जानकारी दिए। दुईपक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा सार्कलाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्नेमा अब्बासीले पनि जोड दिएको उनले बताए।
सार्कको विषयमा ठोस छलफल नभएको भन्दै उनले सार्क शिखर सम्मेलनलाई अगाडि बढाउने सन्दर्भमा पाकिस्तानले निरन्तर पहल गरिरहेको पाकिस्तानी प्रधानमन्त्रीले बताएको जानकारी गराए।
बैठकमा अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायत सहभागी थिए।
हिजो नेपाल आइपुगेका अब्बासीले प्रधानमन्त्री केपी ओलीसँग हिजै वार्ता गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री अब्बासी आज स्वदेश फर्कंदैछन्।