फागुन २२, काठमाडौं ।
नेपालको लुम्बिनी अञ्चल रुपन्देही जिल्लाको लुम्बिनीमा इ.पू.६२३ मा सुन्दर र पवित्र बगैंचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको भन्ने इतिहासमा नै प्रमाणित भैसकेको छ । उनले जन्मने बित्तिकै सात पाइला हिंड्दै मनुष्य जातिका लागि यसै ठाउँबाट युगान्तकारी उद्गार प्रकट गरेका थिए । यो पावनभूमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ ।
२२६२ वर्ष अगाडि भारतका सम्राट अशोकले राज्यभिषेकको बीसौ बर्षमा आफ्ना धर्मगुरु उपागुप्ता सहित शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पवित्र जन्म स्थानको तीर्थयात्रा गरी सिद्धार्थ गौतम बुद्धको जन्म यहि पवित्र स्थलमा भएको भनि ढुङ्गाको स्तम्भ निर्माण गरेका थिए । शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म यहि भएको थियो भने सम्राट अशोकले बुद्धको जन्म स्थान लुम्बिनीमा निर्माण गरेको स्तम्भमा स्पष्ट रुपमा कुदिएको पाईन्छ ।
नेपालको लुम्बिनीमा भएको अशोक स्तम्भ शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको सबैभन्दा बलियो र अकाट्य प्रमाण हो । चौंथो शताब्दीमा चिनीमा तीर्थयात्रीहरु फा–म्यान र सातौ र शताब्दीमा हवैइ श्याङले बुद्धको पवित्र जन्मस्थान लुम्बिनीको तीर्थयात्रा गरेका थिए । १४औ शताब्दीमा जुम्लाको राजा रिपु मल्लले सिद्धार्थ गौतम बुद्धको पवित्र जन्मस्थान लुम्बिनीको तीर्थयात्रा गरेका थिए ।
सिद्धार्थ गौतम बुद्धको पवित्र जन्म स्थान लुम्बिनीमा सम्राट अशोकले निर्माण गरेको अशोक स्तम्भ १४ औ शताब्दी देखि १९ औ शताब्दीसम्म माटोमा पुरिएर रहेको थियो । सन् १८९६ डिसेम्बर १ तारिखका दिन जर्मन पुरातात्विक डा एलोसिस फहरर र खड्ग शम्शेरले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि संसारभरि सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएका प्रमाणित भएको हो ।
ऐतिहासिक बुझाइ कमजोर हुँदा लुम्बिनी क्षेत्रको अपहेलना हुन पुगेको छ। कुनै बहस चलेको छ भने शुद्धोदनको दरबार रहेको शाक्यहरूको राजधानी कपिलवस्तु कहाँ छ भन्ने हो। यसमा कसै कसैले पिप्रहवा भन्ने गरे पनि आजसम्मका प्रमाणले वर्तमान नेपालको तिलौराकोटलाई नै प्राचीन कपिलवस्तु दर्साउँछ। र पनि, नेपालका ‘लुम्बिनी अभियन्ता’ हरूले यस क्षेत्रको पुरातात्विक उत्खनन्बारे थप सोधखोज गरेकै बेस। किनकि, त्यसले लुम्बिनी र कपिलवस्तु मात्र होइन् । तिलौराकोट र सगरहवादेखि रामग्रामसम्मका ‘बुद्धस्थल’को अझै गहिरो इतिहासको अध्ययन गरेर हाम्रो सम्पदाको प्रयोग अझ् प्रभावकारी हुन सक्दछ।
हालैको इतिहास पनि सम्झ्नुपर्ने हुन्छ। लुम्बिनीमा शान्तिदीप छ, लामो तलाउको एक छेउमा। यो सन् १९८६, अन्तर्राष्ट्रिय शान्ति वर्षको उपलक्ष्यमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रबाट उद्घाटन गरिएको हो। त्यतिबेला संयुक्त राष्ट्रसंघ निष्त्र्किय संस्था जस्तो थियो र अन्तर्राष्ट्रिय वर्षको योजना अगाडि सारेर तत्कालीन महासचिव ह्यावियर पेरेज दे क्वेयारले काम देखाउन लागिपरेका थिए। यसै अवसरमा नेपाललाई शान्तिको अग्रदूत बनाउन तत्कालीन पञ्चायत सरकारले यस ठाउँमा निरन्तर दीप प्रज्वलन गर्ने काम गरेको हो। शान्ति द्वीप त वास्तविकता भइसक्यो, तर यसको उत्पत्ति सम्झेको बेस।
टुँडिखेलमा किन जुटे ४८ हजार मानिस ?
बुद्धको धम्मपद वाचन गर्दै गिनिज बुकमा रेकर्ड राख्नका लागि शनिबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा ४८ हजार ९ सय ४३ मानिसहरु सहभागि भएको कार्यक्रमको संयोजक रोहित ढुंगानाले बताए । यस कार्यक्रको सर्मथक र विरोध दुवै रहन गयो । कतिको बुझाई पर्न गयो गौतम बुद्ध नेपालमा जन्मेको प्रमाणित गर्न उक्त भेला गरिएको तर आयोजकको कमजोरीकै कारण उक्त सन्देश बाहिर आयो । काठमाडौमा ७५ हजारभन्दा बढी मानिसले एकै दिन बुद्धको उपदेश वाचन गर्ने तयारी गरेपनि तोकिएको संख्याभन्दा धेरै पास वितरण भएको थियो ।
बुद्धको उपदेश वाचन गर्ने मुख्य उदेश्य रहेपनि अकर्षणको लागि विषयवस्तु बनाईयो बुद्ध नेपालमा जन्मेको प्रमाणित गर्ने भनेर । अयोजकले सार्वजनिक गरेको पर्चा, टिकट,कार्यक्रम स्थल जताजतै BUDDHA WAS BORN IN NEPAL भनेर लेखिएको थियो । यसकै असरले गर्दा ७५ हजार जुटाउने योजना भने पुरा गर्न नसकेको विज्ञहरुको दाबी छ । ठूलो तामझामका साथ कार्यक्रम आयोजना गरिए तापनि गिनिज बुकका प्रतिनिधि झिकाउन आयोजक असफल रहे ।
कार्यक्रममा प्रमुख संरक्षक प्रधानमन्त्री केपी ओलीलाई बनाइएको थियो भने संरक्षकहरुमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, खिलराज रेग्मी, लोकेन्द्रबहादर चन्द र डा। बाबुराम भट्टराईलाई राखिएको थियो । कलाकारहरु राजेश हमाल, निखिल उप्रेति, धिरज राई, रवी लामिछाने लगायतले कार्यक्रममा सहयोग गरेका थिए ।
कार्यक्रमा सहभागि संख्या गिनिजबुकले प्रमाण स्वीकार गरे यो विश्वकिर्तिमानका लागि पर्याप्त संख्या हो । सबैभन्दा धेरै व्यक्तिहरुले एकै स्थानमा एकैसाथ वाचन गरेको रेकर्ड अहिले भारतको आर्ट अफ लिभिङ फाउन्डेसनको नाममा छ जसले ४६ हजार ६ सय ६० जनालाई एकै ठाउँ राखेर कविता पाठ गराएको थियो । गिनिज बुकका प्रतिनिधि झिकाउन नसकेपछि संस्थाले रेकर्ड राख्नका लागि आवश्यक सम्पूर्ण मापदण्डहरु पुरा गरेको आयोजकले दाबी प्रमाण पेश गरेको छ ।
नेपाललाई भने अब, गिनिज बुकले यसलाई मान्यता दिन्छ कि दिँदैन भनेर थाहा पाउन करिब एक साता कुर्नुपर्ने छ । सामाजिक सञ्जालमा भने यस कार्यक्रमको औचित्यका विषयमा प्रश्न उठाइएका छन् । धेरैको भनाई छ, ‘७५ हजार मानिस भेला पारेर मन्त्रोच्चरण गर्दैमा कसरी बुद्ध नेपालमा जन्मेको प्रमाणित हुन्छ ?’
Recentnepal बाट