• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

सबैलार्इ चासाे छः हेर्नुहाेस् पाकिस्तानी प्रधानमन्त्रीले याे बोकेर आए, त्याे दिएर फर्किए


फागुन २२, काठमाडौं ।

पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी काठमाडौंमा झण्डै २० घण्टा विताएर फर्किएका छन् । अब्बासीले राष्ट्रपतिसँग शिष्टाचार भेट गरे भने प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर फर्किए । विपक्षी कांग्रेसका नेता शेरबहादुर देउवासँग पाकिस्तानी प्रधानमन्त्रीको भेट भएन ।

प्रधानमन्त्री ओली निकटवर्तीहरुका अनुसार प्रधानमन्त्री अब्बासी नयाँ सरकारलाई बधाइ दिन नेपाल आएका हुन् र बधाई दिएर फर्किए ।

भेटका क्रममा सार्कलाई सक्रिय बनाउने र दुई देशको आपसी हितमा कुराकानी भयो, जुन स्वाभाविक हो । तर, न पूर्वनिर्धारित न नेपालको निम्तो, प्रधानमन्त्री अब्बासी शुभकामना मात्र दिन आए त ?

परराष्ट्र मामिलाका जानकारहरुका अनुसार पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण अर्थपूर्ण छ ।

केपी ओली नेतृत्वको वाम सरकार भारतको चाहना होइन, यद्यपि जनताले वाम गठबन्धनलाई म्याण्डेट दिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रुपमा पठाएर सहकार्य गर्न चाहेको सन्देश दिएका छन् ।

एक पूर्वपरराष्ट्रमन्त्री भन्छन्, ‘नेपालको नयाँ सरकार एन्टी इण्डियन त नभनौं, तर भारतीय चाहनाअनुसारको होइन । यस्तोबेला आफूले पहलकदमी बनायो भने चीन-पाकिस्तान-नेपालको एक्सिस बनाउन सकिएला भन्ने अभिप्रायले भ्रमण भएको देखिन्छ ।’

वाम गठबन्धनका नेताहरुका अनुसार अब्बासीले प्रष्ट त भनेनन् तर, त्यसको संकेत गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा नेपालले पनि हस्ताक्षर गरेको उल्लेख गर्दै यसबाट लाभ लिनुपर्नेमा जोड दिएका छन् ।

स्रोतले अनलाइनखबरसँग भन्यो, ‘बीआरआईबाट नेपालले पनि लाभ लिने गरी प्रक्रिया अघि बढाउनुपर्‍यो भन्ने उहाँको जोड छ ।’ बीआरआई चीनले अघि सारेको अवधारणा हो, यसमा नेपालले हस्ताक्षर गरेको छ तर, अपेक्षाकृत लाभ लिन सकेको छैन ।

साथै बीआरआईमा भारतले हस्ताक्षर गरेको छैन । अमेरिका र जपानसँग मिलेर बीआरआईको विकल्प बनाउने उसको प्रयास देखिन्छ ।

उसो त नेपालले लामो समयसम्म बीआरआईमा हस्ताक्षर नगर्नुलाई पनि भारतीय पक्षकै दबावका रुपमा मानिएको थियो । तर, माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला नेपालले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’मा हस्ताक्षर गर्‍यो ।

अझै पनि बीआरआई अन्तरगत परियोजना अघि बढ्न सकेको छैन ।

उच्चस्तरीय भेटहरुमा प्रधानमन्त्री अब्बासीले पाकिस्तान आफैं ‘आतंकवाद’सँग लडिरहेको बताएका छन् । तर, बेलाबेला आतंकवाद भन्दै आफूलाई एक्ल्याउने प्रयास भइरहेको भन्दै त्यस्तो प्रक्रियामा साथ नेपालले साथ नदिओस् भन्ने चाहना व्यक्त गरे ।

प्रधानमन्त्री ओली र अब्बासीको भेटमा सहभागी एमालेका एक नेताले भ्रमणलाई अरु देशसँग जोड्न नहुने बताउँछन् । भन्छन्, ‘नेपालमा स्थिर सरकार आयो भन्ने कुराले अन्तरराष्ट्रिय जगतमा सकारात्मक सन्देश दिएको छ । यो भ्रमणलाई त्यसरी हेर्नुपर्छ ।’

यद्यपि सार्कलाई सक्रिय बनाउनुपर्नेमा दुई मुलुकको धारणा समान देखिएको बताए । उनले भने, स्वभाविकरुपमा पाकिस्तानको इन्ट्रेष्ट सार्क अगाडि बढोस् भन्ने छ । हामी पनि सक्रिय होस् भन्ने पक्षमा छौं । यसमा दुई मुलुकको स्वार्थ मिल्न सक्छन् ।’ अनलाइन खबरबाट

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार