फागुन २३, काठमाडौं ।
नेकपा (एमाले)ले पुनः विद्यादेवी भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थायी कमिटी बैठकले दोस्रो कार्यकालका लागि भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको हो ।
साँझ साढे ५ बजेदेखि मध्यरातसम्म बसेको स्थायी कमिटि बैठकले सर्वसम्मतरुपमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले दोस्रो कार्यकालका लागि भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । राष्ट्रपतिका लागि भण्डारीसँगै वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री झलनाथ खनालको दाबी थियो ।
फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ । भण्डारी यसअघि २०७२ साल कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचित भएकी थिइन् ।
२०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङमा जन्मीएकी उनी आमा मिथिला पाण्डे र बुबा स्व. रामबहादुर पाण्डेका पाँच छोराछोरीमा मध्ये जेष्ठ सन्तान हुन् । भण्डारी लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचितहुने पहिलो राष्ट्रपति हुन् । गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व एमाले उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष थिइन् ।
भोजपुरबाट विद्यार्थी राजनीति थालेकी विद्या एमाले जननेता मदन भण्डारी पत्नी हुन् । भण्डारीसँग विवाह गरेपछि राजनीति कम र बढी गृहिणी भूमिकामा रहेको भण्डारी दासढुंगा दुर्घटनामा मदनको निधनसँगै फेरि राजनीतिमा फर्किएकी हुन् । उनी विसं.०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्री र ०६७ सालमा रक्षामन्त्री बनेकी थिइन् ।
२०५० सालको उपचुनावमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर उनी चर्चित भएकी थिइन् । विसं ०३९ सालमा कम्युनिष्ट नेता मदन भण्डारीसँग विवाह गरेकी विद्याका दुई छोरी छन् । भोजपुर क्याम्पसबाट आइए उत्तीर्ण गरेकी विद्याले बिराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बीए अध्ययन गरिन् । सोही समयमा उनले मोरङको बेलबारी-१, नक्सलबारीमा अवस्थित जनज्योति प्रावि (हाल मावि) मा चार वर्षसम्म सामाजिक शिक्षा पढाइन् । नयाँ पेज