• २०७७ मङ्सिर ८ गते सोमवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीले नारीलार्इ यस्ताे शुभकामना दिए


फागुन २४, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सामाजिक वा कानुनी रुपबाट महिलाले भोग्नुपरेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले सन्देशमा सामाजिक पछौटेपन, अन्धविश्वास, कुरीति र त्यसबाट महिलाले भोग्नुपरेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राखेको उल्लेख छ।

‘विभिन्न खालका कुरीति अन्त्यका लागि सरकारले शिक्षा, सचेतना, कानुनी एवं व्यावहारिक रुपमा प्रभावकारी कदम उठाउने विश्वास दिलाउन चाहन्छु,’ सन्देशमा भनिएको छ।

राष्ट्रपति, उपराष्ट्रपतिमध्ये एक जना महिला, सभामुख, उपसभामुखमध्ये एक महिला, राष्ट्रियसभाको अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना महिला, प्रदेशको सभामुख, उपसभामुखमध्ये एक जना महिला राख्ने संवैधानिक प्रावधान हुनु महत्वपूर्ण फड्को भएको उनले उल्लेख गरेका छन्।

राष्ट्रपति जस्तो महत्वपूर्ण पदमा महिला रहेको विश्वका सीमित मुलुकको सूचीमा नेपालले आफूलाई उभ्याउन सफल भएको सन्देशमा उल्लेख छ।

नेपालको संघीय संसद्मा ३३ प्रतिशतभन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिला प्रतिनिधि निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रकाशित मिति : २०७४ फाल्गुन २४ गते बिहिवार