• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

यसरी धमाधम गाउँ पस्न थाले कर्णाली प्रदेशका मन्त्रीहरु


फागुन २४, सुर्खेत ।

कर्णाली प्रदेशमा अधिकांश मन्त्रीहरु अहिले गाउँ पस्न थालेका छन् । उनीहरु नीति निर्माणदेखि विकास र योजनाका काम लिएर गाउँ पस्न थालेका हुन् ।

अहिले कार्यालयमा पर्याप्त कर्मचारी नभए पनि काम थाति नराख्ने भन्दै गाउँ र जिल्ला दौडाहमा मन्त्रीहरु निस्केका छन् । बेलावखत कार्यालयको चाँजो पाजो मिलाएर जनताको सुख दुःख साट्न पुगेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी ४० बुदे सुरक्षा योजना बनाएर उनी अन्तर जिल्ला देखि राजधानीमा व्यस्त छन् । राजधानीका विभिन्न स्थान र प्रदेशका अन्य जिल्लामा प्रहरी विट, सुरक्षा समन्वय समिति लगायतको कार्यक्रम लिएर गाउँ पुगेका छन् । दैलेख सुर्खेत लगाएतका स्थानमा सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने योजनाका साथ प्रदेश प्रहरी कार्यालयका प्रमुख एआईजी रणबहादुर चन्द सहित गाउँ गाउँमा व्यस्त छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला पनि प्रदेशको आफ्नो गृह जिल्ला र सुर्खेतका केहि स्थानमा पुगेका छन् । उनले प्रदेशको उत्पादन र क्षेत्र पहिचान गरी बजेट विनियोजन गर्ने बताउँदै आएका छन् । जनताको आवश्यकता र उत्पादक्त्व हुने क्षेत्रको पहिचान गर्ने बताएका छन् । लक्षित वर्ग लगाएत कुनै पनि क्षेत्रमा बजेट अभाव हुन नदिने उनको भनाई छ । अहिले तत्काल संक्षिप्त आवश्यक बजेट पेश गर्न समेत अन्य मन्त्रालयलाई आग्रह समेत गरेका छन् ।


त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री पनि राजधानीका विभिन्न स्थानमा पुगेका छन् । मन्त्री खत्रीले निर्माणाधिन अधुरै रहेका विकास निर्माणका काम, जनताको गुनासो सुन्न बेलाबखत गाउँ पस्ने गर्छन् ।
मन्त्री खत्रीले बुधवार मात्रै प्रदेश ५ र ६ जोड्ने रानिघाट भुरीगाउँ पक्कि पुलको अनुगमन गरेर तत्का काम सुचारु गरी जति सक्यो छिटो काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
२०६९ असार २९ मा पुलको निर्माण सम्झौतामा पप्पु मल्ल जेभी कन्ट्रक्सनले निर्माण कार्यको जिम्मेवारी पाएको थियो । निर्माण कार्य जिम्मा पाएको करिव तीन वर्षमा सक्नुपर्ने थियो । तर, पुल भने अहिले सम्म भौतिक रुपमा २५ प्रतिशत मात्र काम सकिएको सडक डिभिजन कार्यालय सुर्खेतका ईन्जिनियर दिपेन्द्र विष्टले जानकारी दिए ।

त्यस्तै, राजधानी नजिकै भुरेली नजिकै रहेको पुलको अवस्था वेहाल बनेको र अव तत्काल काम अघि बढाउन सडक डिभिजन कार्यालय सुर्खेतलाई निर्देशन दिएका छन् । ६ वर्ष  अघि जिल्ला समन्वय समितिको सहयोगमा उपभोत्ता समितिले निर्माण गरेको पुल विचमा २ वटा ठुला ठुला भ्वाङ परेको छ ।
त्यस्तै, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिं बुढा पनि एकै साथ गाउँ पसे ।  पदवहाली भएको ३÷४ दिनमै सुर्खेतको पश्चिम बराहताल गाउँपालिकामा पुगे । उनीहरु त्यहाँका कृषक र जनज्योति माध्यामिक विद्यालयमा विशेष भेटघाट गर्दै विद्यालय र कृषकको पक्षमा नीति निर्माण गर्ने आश्वासन दिए । जनताको समस्या र आवश्यकलाई मध्यनजर गरी आफुहरुले काम थाल्ने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री केसी अहिले निर्वाचीत भएको जिल्ला रुकुममा समेत पुगिन् । उनले सहकारीको उत्थानका लागि विशेष योजना बनाएर अघि बढ्ने बताएकी छन् ।

पूर्णबहादुर खड्का/राताेपाटी

प्रकाशित मिति : २०७४ फाल्गुन २४ गते बिहिवार