• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

एकीकृत पार्टीको महाधिवेशनमा माधव नेपाल र प्रचण्ड अध्यक्षकाे मैदानमा


फागुन २४, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने विषय एमालेभित्र पेचिलो बन्दै जान थालेको छ । यो विषय एमाले र माओवादी केन्द्रबीच प्रस्तावित नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ को महाधिवेशनसम्म लम्बिने संकेत देखिएको छ ।

खासगरी विगत तीन वर्षदेखि आफूले साथ दिँदै आएका नेता माधवकुमार नेपालले अन्तिममा आफ्नो साथ छाडेर अध्यक्ष केपी ओलीलाई साथ दिएपछि वरिष्ठ नेता झलनाथ खनाल रुष्ट बनेका छन् । उनले आफ्नो सक्रिय राजनीति अझै बाँकी रहेको जनाउ मंगलबार राति बसेको स्थायी कमिटी बैठकमा दिइसकेका छन् ।

यतिखेर झलनाथ खनाल आफूलाई माधव नेपालले धोका दिएको बताउँदै हिँड्न थालेका छन् । यदि नेता नेपालले साथ दिएको भए आफू राष्ट्रपति बन्ने निश्चित रहेको उनले आफू निकट नेताहरूसँग गुनासो गर्न थालेका छन् । माओवादी केन्द्रसँग पार्टी एकीकरण भएपछि एकीकृत पार्टी अध्यक्षको लोभमा नेपालले ओलीसँग साँठगाँठ गरेको आरोप खनालको छ । सोही कारण अझै आफ्नो सक्रिय राजनीति बाँकी नै रहेको खनालले बताएका हुन् ।

खनाल एमाले महासचिव बन्दा उनले नै ओलीलाई केन्द्रीय सदस्य बनाएका थिए । अहिले तिनै ओलीले आफूलाई राष्ट्रपति बन्न नदिएर विद्यादेवी भण्डारीलाई दोहो¥याएकोमा खनाल आक्रोशित छन् । एमालेको दसौं महाधिवेशनमा माधव नेपाल अध्यक्षको उम्मेदवार बन्ने निश्चित जस्तै छ ।

अब पार्टी एकता भएपछि पनि उनी ओलीको समर्थनमा अध्यक्षका उम्मेदवार बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि त्यसबेला अध्यक्षका प्रबल दाबेदार हुनेछन् । वामदेव गौतम सुरुदेखि नै प्रचण्ड निकट रहेकाले उनको समर्थन प्रचण्डलाई नै रहने निश्चित छ । त्यसैले अहिलेको रिस झलनाथले महाधिवेशनका बेला माधव नेपालसँग फेर्ने बताइन्छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २४ गते बिहिवार