फागुन २४, काठमाण्डाैँ ।
नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) निकट महिला सङ्गठनहरुले देशैभर १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संयुक्त रुपमा मनाएका छन् ।
दुबै पार्टीका महिला संगठनहरु अनेमसंघ क्रान्तिकारी र अनेमसंघ (क्रान्तिकारी)को केन्द्रीय समितिले काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटीकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसविशेष कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम सुरु हुनुअघि बिहिबार शान्तिवाटिकाबाट र्याली निकालिएको थियो । महिला नेत्रिहरुसहितको र्याली पुरानो बसपार्क, शहीद गेट, सुन्धारा, न्युरोड गेट, वीर हस्पीटल हुँदै शान्ति बाटिकामा पुगेर सडकसभामा परिणत भएको थियो ।
महिलाहरु अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भव्य रुपले सफल पारौं, महिलाहरुमाथि हुने सम्पूर्ण उत्पीडनको विरुद्ध संघर्ष गरौं, समान कामको समान ज्याला लागु गर, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर, राज्यसत्ताको सम्पूर्ण अंगहरुमा विशेष अधिकार सहित समानुपातिक प्रतिनीधित्वको ग्यारेण्टी गर, पैत्रिक सम्पत्तिमा विना सर्त समान अधिकारको कानुन बनाई लागु गर, चेलीबेटी बेचविखन पूर्ण रुपमा बन्द गर, वैदेशिक रोजगारीको नाउमा हुने मानव तस्करी बन्द गर, महिलाहरु माथि हुने हत्या, हिंसा, बलत्कार बन्द गर, आमाको नाउमा नागरिकता पाउने कानुनी व्यवस्थालाई सर्वशुलभ रुपमा लागु गर, वैदेशिक रोजगारीमा गएका आफ्ना नागरिकहरुको पेशागत र जीउ धनको सुरक्षाको ग्यारेण्टी गर, वैदेशिक रोजगारीको क्रममा आर्थिक, शारीरिक र मानसिक उत्पीडनमा परेका महिलाहरुलाई अविलम्ब उद्धार गर, विभिन्न देशका वेश्यालयहरुमा बेचिएका नेपाली चेलीहरुको अविलम्ब स्वदेश फिर्ता गरी सामाजिक रुपमा पूर्नस्थापना गर, बालिकाहरुमाथि हुने गरेका बलत्कारका पाशविक घटनाहरुको छानवीन गरी अपराधीलाई हदै सम्मको कारवाही गरलगायतका नाराहरु लेखिएको प्लेकार्ड, ब्यानर र झण्डा बोकेर उत्साहका साथ् र्यालीमा सहभागी भएका थिए ।
उक्त सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपाकी महिला नेतृ सरला रेग्मी लगायतका नेताहरुले सम्बोधन गरेका छन् । नेतृ लक्ष्मी मुडभरीले अध्यक्षता गरेको उक्त सभाको सञ्चालन नेतृ धिरिन्द्रा उपाध्याय ‘भृकुटी’ गरेकी थिइन् । सयौं महिलाहरुको सहभागिता रहेको कार्यक्रममा बक्ताहरुले संबिधानमा सुनिश्चित गरिएको ३३ प्रतिशतअधिकार समेत महिलाहरुले पाउन नसकेको गुनासो गरे ।
एकताको तयारीमा रहेका विप्लव नेतृत्वको नेकपा र किरण नेतृत्व क्रान्तिकारी माओवादीबीच पछिल्लोसमय कार्यगत भइरहेको छ । त्यसै सिलसिलामा बिहिबार २ पार्टीका महिला सङ्गठनहरुले देशभर संयुक्तरुपमा कार्यक्रमहरु आयोजना गरेका हुन ।
काठमाडौंसहित पोखरा, चितवन, रोल्पाको थवाङ, दाङ, कैलाली, इटहरी लगाएतका ठाउँहरुमा अनेमसंघले भव्य कार्यक्रमको आयोजना गरेको हो ।
तस्वीर: जया दाहाल र कमल बुढा