• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

महराले सभामुखमा उम्मेदवारी दर्ता गराउदा आकांक्षी देव गुरुङलार्इ यस्ताे ठाउँमा राखियाे


फागुन २५, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि उनले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपस्थित भएर उनले सभामुखको उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको उम्मेदवारीलाई नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका छन् भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरेका छन् ।

सभामुखमा उनको एक्लो उम्मेदवारीको सम्भावना छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने बताएपछि महरा एकल उम्मेदवार बन्ने भएका हुन् ।

सभामुखका लागि महरा एकल उम्मेदवार भए शनिवार बस्ने संसदको बैठकले उनलाई सभामुख घोषणा गर्नेछ । एकमात्र उम्मेदवारी परे संसद बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समगर्थन गरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था रहेको संघीय संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

उम्मेदवारीको दर्तालगतै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महराले संविधान कार्यान्वयन र नयाँ कानून निर्माणका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए ।

नेता देव गुरुङ पनि सभामुखको दावेदार थिए । तर, कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि माओवादीले गुरुङलाई प्रमुख सचेतक बनाएको छ। गुरुङ पूर्वकानुनमन्त्री हुन् । माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसअघि नै चयन गरिसकेको छ । उपनेता, सचेतकबारे भने निर्णय हुन बाँकी छ ।

माओवादीभित्र सभामुखका लागि महरा र गुरुङबाहेक अग्निप्रसाद सापकोटा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, लेखराज भट्टदेखि पूर्वसभामुख ओनसरी घर्तीसम्म आकांक्षी थिए। तर, अध्यक्ष प्रचण्डले वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायत नेतासँगको अनौैपचारिक छलफलपछि महरालाई अगाडि सारेका हुन्।

महरा माओवादी शान्ति प्रक्रियामा आएपछि सबैभन्दा बढी अवसर पाउने नेताका रूपमा पर्छन्। उनी २०६३ र २०६५ मा सञ्चारमन्त्री तथा २०६७ मा गृहमन्त्री भएका थिए। २०७० मा दोस्रो संविधानसभा सदस्य हुँदै २०७३ मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएका उनी २०७४ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए।

महरा २०४८ सालमा पनि तत्कालीन संयुक्त जनमोर्चाबाट प्रतिनिधिसभामा सांसद् चुनिएका थिए।

प्रकाशित मिति : २०७४ फाल्गुन २५ गते शुक्रवार